१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बुटवल उपमहानगरले सञ्चालनमा ल्यायो एआइ च्याटबट

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ। 

उपमहानगरले  प्रदान गर्ने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर च्याटबट सञ्चालनमा ल्याइएको हो।

बुटवल नामको च्याटबटको आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरे। नगरप्रमुख पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरेका हुन। च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने सेवा सुविधा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि च्याटबट सञ्चालनमा ल्याइएको बताए।

उनले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम कसरी  भइरहेको छ, कहिले सकिन्छ भन्ने जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताए। बुटवललाइ अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरबासीलाई प्रेरित गर्ने र सूचना र सञ्चारको माध्यमबाट अधिकतम लाभ हासिल गर्न सकिने गरी उद्यमसँग जोड्ने गरी काम गरिरहेको नगरप्रमुख पाण्डेयले बताए। 

कार्यक्रममा च्याटबटको उपयोगिताबारे बताउँदै युएनडीपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए। उनले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाई गर्न शुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताए।

कार्यक्रममा युएनडीपी एक्लेटर ल्याबका अमन श्रेष्ठ, दियो डट एआइका विजयन भट्टराई, नामीका उदीत अर्याल, सुप्रिया ढकालले एआई च्याटबटका बारेमा स्पष्ट पारेका थिए।  

एआई च्याटबट बुटवल उपमहानगरपालिकाको नेपाली र अंग्रेजीमा ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट सेवाबारे जानकारी लिन सकिने नगरपालिकाको सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले बताए।

एआइ च्याटबटबाट अहिले  नागरिक बडापत्रबारेमा जानकारीमूलक विषयहरु राखिएको र आगामी दिनमा थप सेवा र सुविधाका बारेमा जानकारीहरु थप गर्दै जाने उनले बताए।  

प्रकाशित: २४ असार २०८० १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App