८ असार २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषध नियन्त्रण गर्न सवारी चालकको पिसाब जाँच्दै प्रहरी

लागुऔषध प्रयोग गरे/नगरेको थाहा पाउन पिसाब जाँच गर्ने कीट।

सवारी दुर्घटनाको संख्या र लागुऔषध प्रयोग घटाउन प्रहरीले अभियान थालेको छ। लागुऔषध प्रयोग परीक्षण गर्न प्रहरीले मेची राजमार्गका इलाम र फिक्कलमा सवारी चालकको पिसाब जाँच्न थालेको हो।

मेची राजमार्ग भएर झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ आउ–जाउ गर्ने सार्वजनिक सवारीका चालक र सहचालकले लागुऔषध प्रयोग र कारोबार गर्ने गरेको ‘सूचना’ प्रहरीलाई छ। कोशी प्रदेश सरकारले प्रदेशभर सवारी चालकको मादक पदार्थ र लागुऔषध प्रयोग गरे/नगरेको जाँच्ने कार्यक्रम ल्याएका बेला इलाममा चाहिँ मेची राजमार्गमै यो जाँच केन्द्रित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चालकले लागुऔषध प्रयोग गरे÷नगरेको परीक्षण गर्न एक प्रकारको ‘¥यापिड टेस्ट कीट’ प्रयोग गर्न लागिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए। ‘शंका लाग्नेबित्तिकै चालकको पिसाब यो कीटमा हालेर जाँच गरिन्छ,’ उनले भने, ‘यसरी जाँच गर्दा उसले लागुऔषध प्रयोग गरे/नगरेको तुरुन्तै थाहा हुन्छ।’ तर, सुरुमा इलामका लागि २० कीटमात्रै आएकाले २ ठाउँमा मात्र जाँच गरिनेछ।  

यसअघिसम्म मादक पदार्थ प्रयोग गरे/नगरेको जाँच गर्न ‘ब्रेथलाइजर’ प्रयोग गरिन्थ्यो। तर, प्रहरीका अनुसार चालकले लागुपदार्थ प्रयोग गरेको प्रमाणित गर्ने आधार थिएन। ‘चालकले लागुपदार्थ प्रयोग गरेको लक्षण देखिएपनि प्रमाणित गर्ने उपाय थिएन,’ उनले भने, ‘अब शंका लागेका चालकबाट नमुना लिएर परीक्षण गरी तत्कालै थाहा पाउन सकिने भएको हो।’

प्रहरीले ‘ट्राफिक सप्ताह’ चलिरहेका बेला मादक पदार्थ र लागुऔषध जाँच पनि सुरुआत गरेको हो। कीटको उपलब्धताअनुसार यो जाँचको संख्या बढाउने प्रहरीले जनाएको छ। ‘सार्वजनिक सवारीका चालकले लागुऔषध प्रयोग गर्नेगरेको सूचना बेला–बेला आउनेगरेको छ,’ एसपी घिमिरेले भने, ‘लागुऔषध प्रयोग गरी सवारीका साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको छ।’  

प्रकाशित: २४ असार २०८० ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App