३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मकवानपुरमा दुई ट्रक ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

एकआपसमा ठोक्किएर आगलागी भएको ट्रक ।तस्बिरःगणेशदर्पण अधिकारी/ नागरिक

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा दुईवटा ट्रक एकआपसमा ठाेक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ।  

गएराति करिब पौने २ बजेको समयमा मनहरी ६ नयाँबस्ती डिपाडमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुवै ट्रकमा आगलागी भएको थियो । दुर्घटनामा च्यापिएर जलेको अवस्थामा तीनजना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवनको राप्ति नगरपालिका ८ बस्ने अन्दाजी २८ वर्षका रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ बर्षका सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक मकवानपुरको मनहरी गाउँपालिका ३ बस्ने २० वर्षका अमृत प्रजा रहेका छन्। 

दुर्घटनामा दुईजना घाइते भएका छन् । ६६६७ नम्बरको ट्रकमा रहेका चितवनको राप्ति नगरपालिका ३ का करिब ३५ वर्षका विवेक तमाङ र ६३१ नम्बरको ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालिका ३ बस्ने करिब ३२ वर्षका अर्जुनकुमार प्रजा रहेका छन् । दुवैजनाको अवस्था मध्यम रहेको र उपचार भैरहेको डिएसपी कार्कीले जानकारी दिए । घटनाको जानकारी पश्चात जिल्लाबाट डिएसपी कार्की र ईलाका प्रहरी कार्यालय मनहरीबाट इन्सपेक्टरको कमान्डमा प्रहरी टोली खटिएको थियो।

दुर्घटनापश्चात ठूलो आगलागी भएको थियो। हेटौंडा उपमहानगरपालिकाको दुईवटा दमकलको मद्दतले आगो नियन्त्रणमा लिइएको हो । दुर्घटनापश्चात करिब दुईघन्टा राजमार्ग बन्द समेत भएको थियो । मृतकहरुको शव हेटौंडा अस्पतालमा राखिएको छ।

प्रकाशित: २३ असार २०८० ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App