१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

धान दिवसःनेतालाई रमाइलो किसानलाई पिरलो

चितवनमा शुक्रवार शीर्ष नेताहरु धान रोप्न व्यस्त रहेँ। बिहानदेखि नै शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। प्राथमिकतामै राखेर पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने चितवन आएका थिए। बाजागाजा सहित उनीहरु रोपाइँमा व्यस्त रहे। हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि सँगै रोपाइँ गरिरहेका अन्य किसान भने  चिन्तित देखिन्थे। सिँचाइ नहुँदा उनीहरु चिन्तित देखिएका हुन्। 

भरतपुर महानगरपालिका २५ स्थित अमृत नगरका होमनाथ बास्तोला पानी नभएर खेत रोप्न पाएका छैनन्। ‘बीउ रोप्ने भइसकेको छ। घोलमा पानी छैन,’ उनले विगत सम्झँदै भने, ‘यतिखेर घोल बढेर खेतसम्म नै आउँथ्यो। अहिले कमिला हिँडेका छन्।’ खडेरीका कारण सधैँ पानी बग्ने घोलमा पानी सुकेको उनले बताए। ‘भिमनगरमा असार १५ मनाउन एक विगा जमिनमा भूमिगत बोरिङ प्रयोग गरेर  रोपाइँ गरिएको थियो। अघिल्ला वर्ष घोलहरु बढेर पानी हुतहुत्तै बढ्थ्यो,’ बाबुराम भट्टराईसँगै धान रोपाइँमा व्यस्त रहेका बास्तोलाले भने ‘यो खेत पनि भूमिगत सिँचाइ मार्फत मुस्किलले हिलो बनाएको हो।’

पश्चिम चितवनका अधिकांश स्थानमा सिँचाईको समस्या छ। घोल क्षेत्रमा पनि अहिलेको खडेरीका कारण पानी सुक्दै गएको छ। बर्सात नहुँदा धान रोप्न नपाएको भिमनगरका किसान गंगा बहादुर थापा बताउँछन्। ‘यसअघि यो क्षेत्रमा असार महिनाभित्र रोपाइँ सकिन्थ्यो। अहिले सुरु नै भएको छैन,’ खेत देखाउँदै भने, ‘यतिखेर ६० प्रतिशत रोपाइँ भइसक्थ्यो। एक प्रतिशत नै हुन सकेको छैन।’ उनले पनि २७ कठ्ठालाई पुग्ने बीउ राखेका छन्। तर, पानी नपरेका कारण मरेको उनले बताए। सिँचाइँको व्यवस्था गर्न उनले सरकारसंग समेत माग गरे।

असार १५ सकिँदा चितवनमा २० प्रतिशत मात्र रोपाइँ भएको छ। अघिल्लो वर्ष यो अवधिमा ४० प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र चितवनका निमिक्त प्रमुख मीन बहादुर पुनले जानकारी दिए। पूर्वी चितवनका अधिकांश जमिनमा सिँचाइको सुविधा छ। पानीको स्रोत पनि राम्रो छ। तर पश्चिम चितवनमा नजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटर समेत लगाएर पानी तान्न पाउँदैनन्। जसले गर्दा किसानहरू समस्यामा परेका छन्।

पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिचाइको नहर र नारायणगढ बसपार्क नजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँको लागि प्रयोग गर्ने गरिन्छ। यी नहर अहिलेसम्म छाडिएको छैन। जिल्लाको साविकका गाविसहरू पिप्ले, भण्डारा, कठार, कुमरोज र बछ्यौली धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रमा ६० प्रतिशतको हाराहारीमा रोपिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापाले जानकारी दिए। तर पश्चिम चितवनमा न्यून मात्रमा रोपाइँ भएको उनले बताए।

जिल्लामा ३३ हजार ८३६ हेक्टर खेती योग्य जमिन छ। जसमध्ये १९ हजार ८९३ हेक्टरमा बर्षे धान र सात हजार ५२७ हेक्टरमा चैते धान हुन्छ। चितवनमा खेती योग्य जमिनमध्ये ९४ प्रतिशतमा सिँचाई पुगेको छ। सिँचाई पुगेको मध्ये १७ प्रतिशतमा आंशिक सिँचाई पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। ८३ प्रतिशत अर्थात  ३५ हजार ८४ हेक्टरमा जमिनमा वर्ष भरि नै सिँचाई गर्न मिल्ने बताईएको छ।

चितवनमा धान रोप्न आएका शीर्ष नेता पश्चिम चितवनमा नै धान रोपाइँ गरेका थिए। नेकपा एमालेका अध्यक्ष ओलीले भरतपुर महानगरपालिका २४ स्थित केरुगा सामूहिक खेती, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भरतपुर २३ स्थित जगतपुर र बाबुराम भट्टराईले भरतपुर २० स्थित भिमनगरमा रोपाइँ गरेका थिए। यो क्षेत्रमा सिँचाइँको समस्या बढी छ। एमाले अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण बनाउनुपर्ने धारणा राखे। कृषि उपजलाई आधुनिकीकरण गर्न, व्यवसायीकरण गर्न जरुरी छ, उनले भने हिजोको जस्तो कृषि गर्ने इकाई होइन। आधुनिकीकरण गर्नुपर्छ। सहकारी तथा सामूहिक प्रणालीबाट कृषिलाई अगाडि बढाउनुपर्ने उनले बताए।

नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले कृषिको सुधारका लागि बजेट बढाउनुपर्ने बताएका छन्। ‘अहिले कृषिलाई हामीले उपेक्षा गर्दै गएका छौँ। जुन कृषि बिना देशको विकास हुन सक्दैन,’ उनले भने , ‘मैले भनिरहको छु बजेटको १० प्रतिशत छुट्याउँ। तर, ३ प्रतिशत कृषिको बजेट हुँदैन। यसरी देशको विकासको सम्भव मैले देख्दिन।’

प्रकाशित: १५ असार २०८० १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App