१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

दुर्गम बस्तीमा अहिले पनि घट्टकै भरमा चल्छ दैनिकी

पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै  परम्परागत प्रविधि लोप हुँदै गएका छन्। तर, जुम्लाको दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ। जुम्लाको पातारासी गाउँपालिका-७ का केही गाउँ ठाउँमा पानी घट्टको प्रयोगबाट अझै पनि कुटानी–पिसानी हुने गरेको छ। एकातिर यसले परम्परागत प्रविधि जोगाएको आभास हुन्छ, भने अर्कोतिर दुर्गम बस्तीका नागरिकले झेल्नुपर्ने समस्या प्रस्ट हुन्छ। तर, लोप हुँदै गएको पानी घट्टको प्रयोगलाई भने स्थानीयवासी गर्व गर्दछन्।  

स्थानीय पानी घट्ट सञ्चालक रुद्रलाल थापाले बाबुबाजेकै पुस्तादेखि सञ्चालनमा रहेको घट्ट हालसम्म यथावत् रहेको बताए। 'पानी घट्टमा पिसेको अन्नपात मिलमा भन्दा गुणस्तरीय हुन्छ',उनले भने 'यहाँका सबैले घट्टमै पिसेको अन्नपात खान्छौँ।'

पछिल्लो पुस्तामा हराउँदै जाने चिन्ता रहेको उनले सुनाए।अर्की स्थानीय महिला कलसी बुढाले पानी घट्ट गरिबीको सारथी बनेको बताइन्। कम मूल्यमा अन्नपातको कुटानी–पिसानी गरेर प्रयोग गर्न सकिने भएकाले घट्ट अत्यन्तै उपयोगी हुने गरेको उनी बताउँछिन्। 'हामीले पुराना प्रविधिलाई जोगाएका छौँ।' उनी भन्छिन्,' हामी आफैँले बनाएका घट्ट हाम्रा लागि सबैथोक हुन्। हाम्रै सीपबाट घट्ट बनाएको छ। '

आगामी दिनमा यसलाई सुधारिएको घट्टका रुपमा विकसित गर्नुपर्ने उनको भनाइ छ। पातारासी-७ पट्मारा क्षेत्रमा घट्टकै भरमा दैनिकी चलिरहेको छ। यहाँ खेतीकिसानी गरेर पानी घट्टकै भरमा दैनिकी क्रियाकलाप चलिरहेका छन्। यहाँका स्थानीयवासी पानी घट्टमा पिसेको अन्नपात गुणस्तरीय, लामो समयसम्म टिक्ने, खानामा मीठो र कुटानी–पिसानीका लागि सस्तो हुने बताउछन्।

स्थानीय ७९ वर्षीया गुमा थापा आफूले स्मरण गर्ने दिनदेखि नै पानी घट्ट लोकप्रिय भएको बताउँछिन्। उनले आफूहरूभन्दा अघिल्ला पुस्ताले नै पानी घट्टको भरमा दैनिकी चलाएको स्मरण गरिन्। 'पानी घट्टबाहेक अरूमा पिसेको अन्नपात कहिल्यै प्रयोग गरिन।' थापा भन्छिन्। हाम्रो गाउँमा घट्टबाटै दैनिकी चलेको छ।उपभोक्ताले निकै सस्तो कुटानी–पिसानी गर्न पाएका छन्।

अर्का स्थानीय ६४ वर्षीया जानदेवी थापाले पानी घट्ट सस्तो, अन्न ढिलोसम्म टिक्ने र स्वादिष्ट हुने बताइन्। अधिकाशं गाउँ ठाउँमा बिजुली भएपछि पानी घट्ट हराएको टिप्पणी गरिन्। विकास भएपछि पुराना प्रविधि हराउँदै जाने रहेछन्। हाम्रो यहाँ विकट भएर घट्ट रहे पनि पछिसम्म टिकाउनुपर्छ। पानी घट्टमा अन्नपात कुटानी–पिसानी गर्दा सस्तो र स्वादिष्ट हुने बताउँछन्। उनका अनुसार बिजुलीबाट चल्ने मिलको तुलनामा आधाभन्दा बढी सस्तो मूल्यमा पानी घट्टमा कुटानी–पिसानी हुन्छ। साथै पानी घट्टमा पिसेको अन्नपात वर्ष दिनसम्म राख्दा पनि स्वादिष्ट हुने गर्दछ। पानी घट्टमा पिसेका मकै, कोदो,फापर ,जौँ, र गहुँ लामो समयसम्म राख्दा पनि निकै स्वादिष्ट हुने दाबी गर्छन्। घट्टमा पिसेको पीठो खाना निकै मीठो हुन्छ।  स्थानीय घट्ट सञ्चाकलले खोला सुक्दै गएकाले घट्ट चल्न समस्या भएको गुनासो गरेका छन्। पानी सुक्दै गएपछि घट्ट चलाउन समस्या भइरहेको छ।वर्षायामको समयमा मात्र चलाउँदै आएका छौँ। पानी घटेपछि हिउँदमा घट्ट चलाउन नसकिएको उनीहरुको भनाइ छ।त्यो गाउँका १ सय ८० घरधुरी पानी घट्टको भरमा छन्। 

प्रकाशित: ४ असार २०८० ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App