१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमा विवाद नटुंगिदा पूर्वाधार निर्माणमा समस्या

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पाती हाल्ने गुमनाम थियो। यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए।

स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहचिान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो।

पाती हाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गए। सोही वर्ष पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भूभागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जाना भएको थियो।

पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन। सीमा विवाद नसुल्झिंदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको छ। सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन। पाती हाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो। दुवै जिल्लाका सरोकारवाला बिच पटकपटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो। दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो। कार्यदल समेत विवाद टुङ्याउन सकेन।

दुवै जिल्लाका जनप्रतिनिधिले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमति भए पनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरी सडक निर्माण गरिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए।

विवाद टुङ्गाएर काम गर्ने गरी निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ। सहमतिविपरीत भूमे गाउँपालिकाले विवाद नटुंग्याई काम गरिरहेको अध्यक्ष घर्तीमगर भन्छन्।

‘पहिले सीमाबारे कुनै विवादनै थिएन, जब निसीखोला गाउँपालिकाले रिग तालको विकास गर्न थाल्यो, पाती हाल्नेदेखि तालसम्म जोड्ने सडक बनायो, पर्यटक पनि आउन थाले त्यसपछि भूमे गाउँपालिकाले हाम्रो भने र दावी गर्न थाल्यो’, अध्यक्ष घर्ती मगरले भने,‘यो भूभाग बागलुङकै हो, यहाँ वर्षौंदेखि बागलुङै मान्छेले उपयोग गर्दै आएका थिए, विवाद मिलाउन धेरै पटक प्रयास भएका थिए, सफल नभएपछि विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति ग¥यौँ तर उहाँहरूले अहिले काम गरी राख्नुभएको छ।’

मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिंडा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका-६ का स्थानीय पानबहादुर विकले बताए। घर्तीले रिगतालमा पछिल्लो समय सयौं पर्यटक आउन थालेपछि रुकुमले आफ्नो दाबी गरेको बताउँछन्।

उनी भन्छन्, ‘पहिला यो ठाउँ सुनसान थियो, गोठालाबाहेक अरू कोही आउँदैनथे, बाह्रै महिना चिसो हुन्छ, अहिले पाती हाल्नेमा घर बनेर व्यापार पनि सुरु भएको छ, दिन दिनै घुम्न आउनेको भीड हुन्छ, वर्षौंदेखि हामीले प्रयोग गर्दै आएको ठाउँलाई कसरी उनीहरूको भनेर स्वीकार्ने? यो विवाद राज्यले मिलाउनुपर्छ।’

प्रकाशित: ३२ जेष्ठ २०८० ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App