२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा गोली प्रहार गरी वृद्धकाे हत्या

रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन्। विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो।

तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन। करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव विहीवार भेटिएको हो। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीर बहादुर बुढामगरले जानकारी गराएका छन्।

हत्या कुन उद्देश्यले कसले गरेको हो भन्ने जानकारी बाहिर आएको छैन। तैयबको हत्याको खबर गाउँमा फैलिनासाथ सन्त्रासको वातावरण फैलिएको छ।

तैयबको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइएको छ । आफन्तहरुले घटनाको अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

रौतहटमा एकपछि अर्को हत्या भइरहेको छ। गत शनिवार राति रौतहट सदरमुकाम गौर नगरपालिका ७ सिसवामा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको थियो। छुरा प्रहारबाट मृत्यु भएको घटनाको एक हप्ताभित्र गोली प्रहारबाट मृत्यु भएको अर्को घटना भएको हो।

सामान्य विवादमा सिसवामा छिमेकी यार महम्मद र शेख कबिरबीच झगडा भएको हुँदा शेख कबिरले यार महम्मद खानमाथि छुरा प्रहार गरेको थियो। बायाँ छातिमा छुरा प्रहारपछि गहिरो घाउ लागेका ५० वर्षीय यार महम्मद खानलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। अस्पतालमा लगे लगत्तै खानलाई मृत घोषणा गरिएको थियो।

खानलाई छुरा प्रहार गर्ने शेख कबिरलाई प्रहरीले चौबिस घन्टाभित्रै पक्राउ गर्न सफल भएको थियो। लगातार हत्याका दुई घटना भएको रौतहटमा अहिले सन्त्रासको वातावरण भएको छ। 

प्रकाशित: ११ जेष्ठ २०८० ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App