१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

बुढानीलकण्ठ सवारी दुर्घटना: पृथ्वी मल्ललाई चार वर्ष कैद

४० हजार जरिवाना

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै बुढानीलकण्ठ सवारी दुर्घटनाका दोषी पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय र ४० हजार रूपैयाँ जरिवाना ठहर गरेको छ। उच्च अदालत पाटनले मल्लले लापरबाहीपूर्वक सवारी चलाएको ठहर गर्दै आइतबार सजाय र जरिवाना सुनाएको हो। न्यायाधीशहरू राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्ललाई सवारी ज्यानसम्बन्धी कसुरमा जिल्लाको फैसला उल्टाउने ठहर गरेको हो। काठमाडौं जिल्ला अदालतले दुर्घटनालाई सामान्य मान्दै मल्ललाई ६ महिना कैद सजाय र हजार रूपैयाँ जरिवाना तोकेको थियो। उच्च अदालतले लापरबाहीपूर्वक सवारी चलाएर ज्यानै जानेगरी दुर्घटना गराएको फैसला गरेको हो। २०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले चलाएको कारले एक महिलालाई ठक्कर दिएको थियो।

चालकको लापर्बाहीका कारण बुढानीलकण्ठको सडकपेटीमा हिँडिरहेको अवस्थामा गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो। सात महिना थुनामा बसेका मल्ल धरौटी तिरेर छुटेका थिए। मादक पदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको दाबीसहित सरकारी वकिलले मल्ललाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना मागदाबीसहित मुद्दा दर्ता गरेको थियो। जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमै चालक मल्लले मादक पदार्थ सेवन गरेर कार चलाएको खुलेको थियो। उनले आफ्नो बयानमा रातभरि रक्सी खाएको र बिहान गाडी चलाउँदा निद्रा लागेकाले दुर्घटना भएको बताएका थिए।

प्रकाशित: ८ जेष्ठ २०८० ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App