coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा खानेपानी श्रमअभियानमा साढे ३ करोड भन्दा वढी संकलन

शनिबार कोकाहा खानेपानी श्रमअभियानमा सहभागी हजारौं धरानका श्रमदाता जनताहरु। तस्बिर: रोहित <br>

धरानको खानेपानी समस्या हल गर्ने लक्ष्य लिएर मेयर हर्क साम्पाङको नेतृत्वमा विगत २ महिनादेखि सञ्चालन भइरहेको कोकाहा खानेपानी श्रमअभिायनमा साढे ३ करोड आर्थिक सहयोग जुटेको छ।  

श्रमअभियानको टिमले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत फागुन २२ गतेदेखि जेठ ४ गतेसम्मको आयव्यय सार्वजनिक गर्दै देश विदेशबाट साढे ३ करोड सहयोग प्राप्त भएको जानकारी दिएको हो।आयोजनाका प्रमुख दत्तकुमार लिम्बुका अनुसार यो समयभित्र ३ करोड ५० लाख २६८ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ।साथै, कोकाहा अभियानभन्दा अघिको श्रमदान कार्यहरुमा पनि प्राप्त सहयोग खर्च भएर बचेको २७ लाख ८ हजार ३२४ रुपैया पनि जोड्दा कुल ३ करोड ७७ लाख ८ हजार ५९२ रुपैया आम्दानी भएको उनले बताए।

कोकाहा आयोजनाका प्रमुख लिम्बुले श्रम अभियान नगर वा खानेपानी बोर्डको नभै जनस्तरबाट भइरहेको र सम्पन्न भएपछि मात्र बोर्डलाई हस्तान्तरण गरिने बताए । मेयर साम्पाङले पनि जनताको श्रमदानबाट काम भइरहेकोले कस्ले सञ्चालन गरेको भन्दै प्रश्न उठाउनुको औचित्य नभएको बताउदै आएका छन्।तर, पुर्वजनप्रतिनिधिहरु र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले भने कोकाहा खानेपानी श्रमअभियान अभियन्ता हर्क साम्पाङको हो कि मेयरको हो भनेर प्रश्न उठाइरहेका छन्।

आर्थिक सहयोग बाहेक दाताहरु आफैले १ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको पाइप खरिद गरेर पनि हस्तान्तरण गरेका छन्।श्रमअभियानका सदस्य समिर तामाङका अनुसार कोकाहा श्रमअभियान शुरु भएपछि फागुन २२ देखि चैत १८ गतेसम्म १ करोड २८ लाख ५९ हजार १३२ रुपैया दाताहरुबाट आर्थिक सहयोग प्राप्त भएको थियो भने चैत १९ देखि बैशाख २३ गतेसम्म १ करोड ८७ लाख ६० हजार ३३७, बैशाख २४ गतेदेखि जेठ ४ गतेसम्म ३३ लाख ८० हजार ७९९ रुपैया सहयोग प्राप्त भएको थियो।

कुल आम्दानीमध्ये विभिन्न शिर्षकमा ३ करोड ४६ लाख ३२ हजार ५४१ रुपैया खर्च भएको र अहिले ३० लाख ७६ हजार ५० रुपैया नगद मौज्जाद रहेको पनि उनले तामाङले बताए।खर्च भएकोमध्ये सबैभन्दा बढी पाइप खरिद गर्न २ करोड ५० लाख २४ हजार ५३५ रुपैया बराबर खर्च भएको छ।यस्तै, श्रमदान गर्न आउने हजारौं श्रमदाताहरुलाई खाजा, पानी, र खानाको व्यवस्थापनमा २८ लाख ४ हजार ५५३, टोचन तार र भल्व खरिदमा २० लाख ८१ हजार ६७४, दक्ष कमदारहरुलाई ज्याला ११ लाख ७१ हजार ५७३, भाडा तथा ढुवानीमा १८ लाख ७३ हजार २६८ रुपैयालगायत खर्च भएको पनि जानकारी दिइएको छ।

यसैगरि, खानेपानी व्यवस्थापन बोर्डका स्टोर प्रमुख गंगा भट्टराईले कोकाहा खानेपानी अभियानमा बोर्डको रकमबाट टेण्डर प्रक्रियामार्फत ८३५ पिस पाइप ( ५ हजार १० मिटर ) खरिद गरिएको जानकारी दिए । उक्त पाइप खरिदमा बोर्डबाट ५७ लाख ३६ हजार हजार ३२० रुपैया खर्च भएको छ । यस्तै, विगतमा कोकाहा श्रमअभियानदेखि नै दाताहरुको सहयोगले खरिद भएर बोर्डमा स्टक रहेको ९ लाख १४ हजार ८९९ रुपैया बराबरको ११३ पिस पाइप पनि प्रयोग गरिएको स्टोर प्रमुख भट्टराईले जानकारी दिए।

उनका अनुसार हालसम्म कोकाहा श्रमअभियानमा दाता, खानेपानी बोर्ड र दाताहरुबाट आएर स्टोरमा रहेको पुरानो पाइपसमेत गरेर कुल ३६ हजार ९९१ मिटर पाइप (६ हजार १६५ पिस ) फिल्डमा पुगिसकेको छ।यो सबैको मुल्य ४ करोड ४६ लाख ३३ हजार ४३८ रुपैया भएको पनि भट्टराईले बताए । सर्वे काम सकिएको र कुल ४२ किलोमिटर दुरी निस्किएको जानकारी दिदै उनले अझै ५ किलोमिटर पाइप खरिद गर्न आवश्यक रहेको पनि बताए।

कोकाहा श्रमअभियानअघि मेयर साम्पाङले पकुवा खोला, सर्दु–निशाने खोला र भालुखोलाबाट पानी संकलन गर्न श्रमअभियान चलाएका थिए । यी तीनै स्थानमा फिल्टरसहितको पानीट्यांकी पनि निर्माण भइसकेको छ।पछिल्लो समय धरानको वडा नं २० स्थित कोकाहा खोलाबाट पानी ल्याउन श्रमअभियान शुरु भएपछि भने आयव्यय पारदर्शिताको प्रश्न उठिरहेको छ । यस्तै, संस्थागत निर्णय नभएको र छिमेकी बराहक्षेत्र नगरपालिकाको भुभाग हुदै ल्याउनुपर्ने हुँदा पाइप विछ्याउदा समन्वय नगरेको भन्दै आलोचना पनि भइरहेको छ।

खानेपानी बोर्डको आयव्यय सार्वजनिक

मेयर हर्क साम्पाङले आफु धरान खानेपानी व्यवस्थापन बोर्डको नेतृत्वमा आएपछिको आयव्यय सार्वजनिक गरेका छन् ।आफु गत जेठ १० गते बोर्डमा पदस्थापन हुँदा बैंकमा ४ करोड ४४ लाख ३४ हजार ३६५ रुपैया मौज्जाद रहेको उनले बताए । उक्त रकममध्ये १ करोड ८७ लाख १ हजार ६१९ रुपैया पहिलाको तिर्नुपर्ने रकम तिरेकापछि अघिल्लो आर्थिक बर्षको २०७९ असार मसान्तसम्म २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया मात्र मौज्जाद रहेको पनि मेयर साम्पाङले बताए ।

अघिल्लो आर्थिक बर्ष २०७९ जेठ महिनामा १ करोड ३ लाख ७८ हजार ५३४ रुपैया र असारमा १ करोड १० लाख ९० हजार ११९ रुपैया आय भएको पनि मेयर साम्पाङले जानकारी दिएका छन् । जेठ महिनामा विभिन्न शिर्षकमा व्ययतर्फ १ करोड १५ लाख ७४ हजार ७२१ रुपैया भएको थियो भने असारमा २ करोड ६९ लाख ९५ हजार २४६ रुपैया खर्च भएको मेयर साम्पाङले जानकारी दिए।

यसैगरि, चालु आर्थिक बर्ष २०७९/०८० मा साउनदेखि बैशाखसम्मको आम्दानी कुल १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैया रहेको मेयर साम्पाङले जानकारी दिए । त्यसमध्ये अघिल्लो आर्थिक बर्षको मौज्दात २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया, धारा जडानबाट शुल्क वापत १ करोड १६ लाख ६० हजार ८५९ रुपैया आम्दानी भएको पनि बोर्डले जनाएको छ।यस्तै, खानेपानी महशुलतर्फ रेल्वे काउन्टर, पिण्डेश्वर काउन्टर, सुम्निमा काउन्टर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत गरि १० करोड ६६ लाख ६२ हजार ७३९ रुपैया आम्दानी भएको छ भने माछापुच्छ्रे बैंकबाट ब्याजतर्फ ६ लाख २६ हजार ४५४ रुपैया पनि आम्दानी भएको छ । यस्तै, गत साउनदेखि बैशाखसम्म विभिन्न शिर्षकमा १४ करोड १० हजार २११ रुपैया खर्च भएको पनि मेयर साम्पाङले जानकारी दिएका छन् ।  

प्रकाशित: ६ जेष्ठ २०८० १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App