६ वैशाख २०८१ बिहीबार
समाज

यातायात कार्यालयमा प्रहरीको चेकजाँच: २२ जना पक्राउ

इटहरीको हलगढामा रहेको कोशी अञ्चल यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार प्रहरीले चेकजाँच गर्दा २२ जनालाई पक्राउ गरेको छ।

यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग पैसा लिने गरेको र कार्यालयका महत्त्वपूर्ण कागजात लेखापढी सेन्टरका व्यक्तिसमक्ष पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासो आएपछि प्रहरीले चेकजाँच गरी पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार यातायात कार्यालयका एक जना कार्यालय सहयोगी सहित अन्य लेखापढी सेन्टरका व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका सबैको अनुसन्धान थालिएको छ।

‘एउटै लेखापढी सेन्टरमा ३० वटासम्म कार्यालयका फाइल भेटिए,’ उनले भने, ‘सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान नगरी सेटिङ् मिलाउने व्यक्तिहरूको हालामुहाली भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

यातायात कार्यालयका प्रमुख राजकुमार गुप्ताले भने कार्यालय सहायक श्याम रायले ड्रेस नलगाएको अवस्थामा बाहिर फेला पारेकाले गर्दा पक्राउ गरेको बताए। अरू लेखापढी सेन्टरका व्यक्ति पक्राउ परे पनि कार्यालयका महत्त्वपूर्ण कागजात भने नभएको जिकिर गरे।

यातायात कार्यालयबाट बेला बेलामा व्यक्तिहरू पक्राउ पर्ने गरेका छन्। छ वर्षअघि ५५ करोडभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीलाई मुद्दा चलाइएको थियो।

यातायात व्यवस्था विभागले आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७३/०७४ को फागुन मसान्तसम्मको आर्थिक हिसाब हेर्दा ५५ करोडभन्दा बढी हिनामिना गरेको पत्ता लागेपछि कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो। त्यसपछि कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रकाशित: ३ जेष्ठ २०८० १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App