१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै सर्लाही

सर्लाही लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। 

चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म लागू औषध कारोबारमा पक्राउ परेका मानिस तथा बरामद भएकाे लागू औषधको संख्या हेर्ने हो भने सर्लाहीमा लागू औषध ओसारपसार, बिक्री वितरण तथा सेवन पनि ठुलो परिमाणमा हुने गरेको देखिन्छ।

सर्लाही प्रहरीले गत साउनदेखि वैशाखसम्ममा डाइजेपाम एम्पुल ६४६ थान, नुर्फिन एम्पुल ६०८ थान, फेनारागन एम्पुल ६५१ थान, नाइट्राभेट ट्याब्लेट ४५७९ र स्पोरमो प्रोक्सोभिन ट्याब्लेट १६७३ थान बरामद गरेको छ। यसै गरी सर्लाही प्रहरीले हेरोइन ३.४८ ग्राम, वनरेक्स ११८ बोतल, डाइलेक्स डिसी १६९ बोतल, एक्सिप्लोन ३ बोतल बरामद गरेको छ।

गत दश महिनामा ५१८ किलोग्रामभन्दा बढी लागू औषध गाँजा बरामद गरेको सर्लाही प्रहरीले निट्राजाकेयर टेन ट्याब्लेट ९०० ओटा र स्पास्मो प्रोक्सिवोय प्लस ५७६ पनि बरामद गरेको छ। यसै गरी नाइट्राजेपाम १७४ ट्याब्लेट, विन्सिरेक्स १३७ बोतल, कोडिवेल १३०१ बोतल, लेबल नभएको औषधि ५३३ एम्पुल तथा एडपाम ट्याब्लेट १२ थान दश महिनाको अवधिका सर्लाही प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले चालू आर्थिक वर्षको दश महिनामा १०१ मुद्दा दर्ता भएको र ७० मुद्दा फर्छ्यौट भई ३१ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिए।

लागू औषध ओसारपसार र बिक्री वितरण र सेवन रोक्न आफू प्रतिबद्ध रहेको बताउँदै एसपी सुवेदीले आफू आएदेखि सर्लाहीको विभिन्न ठाउँमा गरिएको अवैध गाँजा खेतीलाई अभियानकै रुपमा फडानी गरिएको बताए। सर्लाहीमा अहिलेसम्म करिब ६० बिगाहा गाँजा खेती फडानी गरिएको एसपी सुवेदीले जानकारी गराए।

विभिन्न लागू औषध कारोबारमा हालसम्म १२६ जना अभियुक्तलाई सर्लाही प्रहरीले चालू आर्थिक वर्षमा पक्राउ गरिसकेको छ भने ६ जना हालसम्म फरार रहेका छन्। फरार अभियुक्तको खोजी भइरहेको एसपी सुवेदीले बताए।

प्रकाशित: १ जेष्ठ २०८० १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App