नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका निर्माण व्यवसायीले काम लगाएर आफूहरूको ज्याला नदिएको श्रमिकले गुनासो गरेका छन्।
झापा चन्द्रगढीदेखि इलाम सदरमुकामसम्म फाइबर बिछ्याउँदाको करिब करोड ज्याला ठेकेदारबाट लिन बाँकी रहेको श्रमिकको भनाइ छ।
ठेकेदारले रकम नदिएपछि इलामका श्रमिकले सदरमुकाममै आएर पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको बताएका हुन्। पीडितले राम्चेसिद्ध निर्माण सेवाका प्रोप्राइटर मोहन खत्री दाहाल र निर्माण स्थलमा खटिएका उनकै छोरा कल्याण खत्री दाहालले आफूहरूको ज्याला दिन लामो समयदेखि ‘आनाकानी’ गरिरहेको गुनासो गरे।
निर्माण काममा सामग्री ल्याएका इलाम नगरपालिका–१०, गोदकका वेदबहादुर मगरले आफ्नो १० लाख ३४ हजार रुपैयाँ ठेकेदारबाट लिन बाँकी रहेको बताए।
‘मैले फाइबर बिछ्याउने कामका लागि गिटी–बालुवालगायत सामान ल्याएको थिएँ,’ उनले भने, ‘तर, पैसा माग्दा चेक दिए, चेक साट्न जाँदा खातामा पैसा रहेनछ।’ उनले आफू पटक–पटक बैंक जाँदा चेक नसाटिएको भन्दै अब कानुनी प्रक्रियामा जाने बताए।
गोदककै कुलबहादुर तामाङ (पाला) ले काम गरेको पैसा माग्दा ठेकेदारले पटक–पटक दिन्छु भन्दै झुलाइरहेको बताए।
‘कहिले १५ दिनमा र कहिले ७ दिनमा तिर्छु भन्दै झुलाउँदा धेरै श्रमिकले पैसा पाएका छैनन्,’ उनले भने, ‘मैले करिब ११ किलोमिटरको जिम्मा लिएको थिएँ, काम सकिएको लामो समय पैसा आएन।’
उनले ठेकेदारसँग पैसा माग्न आफू काठमाडौं र इटहरीसम्म पुगेर सातादेखि २५ दिनसम्म बस्दा पनि ठेकेदारले श्रमिकको ज्याला भुक्तानी नगरेको गुनासो गरे। ‘सात दिनमा, १५ दिनमा दिइहाल्छु भन्न छाड्दैनन् तर दिएनन्,’ उनले भने, ‘हामी न्यायका लागि पत्रकार गुहार्दै आएका हौं, अब प्रशासनमा पनि जान्छौं।’ तामाङले अलि–अलि रकम बेला–बेला दिए पनि काम गरेको ज्याला र सामानको भुक्तानी लिन बाँकी श्रमिकको संख्या धेरै रहेको बताए।
निर्माण कम्पनीले २०७६ सालमा झापाको चन्द्रगढीदेखि इलामसम्मको सडकमा फाइबर बिछ्याउन करिब साढे ८ करोडमा ठेक्का लिएको थियो। यसमध्ये ४ करोड हाराहारी रकम आफूहरूले लिइसकेको कम्पनीका प्रतिनिधि कल्याण बताए। आफूले पनि ठेक्का लिएको ठाउँबाटै रकम आउन बाँकी रहेकाले सबै जनाको एकै पटक भुक्तानी गर्न नसकेको उनले प्रतिक्रिया दिए।
‘अबको २ साता जतिमा सबै श्रमिकको ज्याला भुक्तानी गर्नेछौं,’ कल्याणले नागरिक न्युजसँग भने, ‘हामीले पनि अर्को कम्पनीमार्फत् ठेक्का लिएका हौं, हामीलाई ठेक्का दिने कम्पनीका सम्पर्क व्यक्ति विदेश जानुभएकाले र गरिसकेको कामको रिपोर्ट पेस गर्न बाँकी रहेकाले भुक्तानीमा ढिलाइ भएको हो।’
पीडितमध्येका कुलबहादुरले आउँदो बुधबार ठेकेदार प्रतिनिधि कल्याण र मोहन इलाम आएर रकम भुक्तानीका लागि लिखित प्रतिबद्धता जनाउने सूचना आएको जनाए।
प्रकाशित: ३१ वैशाख २०८० १४:१० आइतबार