१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अशान्त बन्दै धरान: मेयर साम्पाङका समर्थक र दलका कार्यकर्ताहरुबीच झडपको स्थिति

ईलाका प्रहरी कार्यालय बाहिर मेयर साम्पाङ र राजनैतिक दलका कार्यकर्ताहरुको भिड। तस्बिर: रोहित राई

मेयर हर्क साम्पाङका समर्थक र राजनैतिक दलका कार्यकर्ताहरुबीच भिडन्त हुने अवस्थाले धरान अशान्त बनेको छ।

मंगलबार दुवै पक्षहरु ईलाका प्रहरी कार्यालयमा आमने सामने हुँदा भिडन्तको स्थिति बनेको थियो। प्रहरीले दुवै पक्षलाई रोकेपछि अप्रिय घटना भने हुन पाएन।

सामाजिक सञ्जालमा मेयर साम्पाङका समर्थकहरु अराजक शैलीमा उत्रने गरेका छन्। मेयरको विरोध वा आलोचना गर्नेहरुविरुद्ध खनिने उनका समर्थकहरुले वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूप्रति तुच्छ गालीगलौज र टिप्पणी गर्ने गरेका छन्। यसले जनप्रतिनिधिहरू, राजनैतिक दल र तिनका कार्यकर्ताहरु असाध्यै चिढिएका छन्। मेयर साम्पाङ आफैले पनि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूप्रति सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दा उनका समर्थकहरु हौसिने गरेका छन्।

सामाजिक सञ्जालमा मात्रै आरोप प्रत्यारोप र झगडा गर्ने मेयरका समर्थक र दलका कार्यकर्ताहरु मंगलबार भने आमनेसामने भए। यो परिस्थिति निम्तिनुमा आइतबार र सोमबार धरानको वडा नं १७ मा भएको दुई घटना कारक बनेको छ।

आइतबार वडा १७ का केही टोल विकास संस्था (टिएलओ) का प्रतिनिधिहरुले मेयर र वडा अध्यक्षहरुबीचको झगडाले विकासमा असर परेको भन्दै ज्ञापन पत्र बुझाए। त्यस क्रममा उनीहरुले मेयर साम्पाङको प्रशंसा गर्दै वडा अधयक्षलाई कालो मोसो पनि दल्ने र कार्यालय तालाबन्दी गर्ने सम्मको चेतावनी दिएका थिए। त्यस बेला वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) भने बिदामा थिए।

सोमबार वडा अध्यक्ष भट्टराईले वडाका ४१ वटै टिएलओहरुलाई आइतबारको घटनाबारे छलफलमा बोलाएका थिए। वडा कार्यालयमा छलफल चलिरहँदा क्रान्ति क्रान्ति नामको फेसबुक अकाउन्ट भएका ललित राई लाइभ गर्दै बैठकमा पुगेका थिए। वडा अध्यक्ष र अन्य व्यक्तिहरुले पनि भिडियो नखिच्न आग्रह गर्दा उनले नमानेपछि हात हालाहाल भएको थियो। 

केही समय पछि वडा अध्यक्ष भट्टराईले प्रहरी बोलाएर उनलाई पक्राउ गराएका थिए। पछि, कार्यवाहक वडा अध्यक्ष मनिष विष्टले हुलहुज्जत, गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिए। भिडियो खिच्ने ३५ वर्षीय राईसँगै २४ वर्षीय लाक्पा शेर्पा र ६५ वर्षीय गोविन्द श्रेष्ठ पनि पक्राउ परे। उनीहरु आइतबार पनि ज्ञापन पत्र बुझाउन जाने समूहमा थिए।

पक्राउ परेकाहरुलाई छुटाउन पहलको अनुरोध गर्दै आफन्तजन र वडा १७ का केही युवाहरु मंगलबार बिहानै मेयर साम्पाङलाई भेटेका थिए। मेयर साम्पाङले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ल, वडा १७ का अध्यक्ष भट्टराई, कार्यवाहक वडा अध्यक्ष विष्टसमेतसँग निरन्तर पहल गरे। तर, पक्राउ परेकाहरु छुट्न सकेनन्। आफन्तजन, वडा १७ का केही मानिसहरु र मेयरका समर्थकहरु ईलाका प्रहरी कार्यलयमा पुगेका थिए।

छलफलको लागि वडा १७ का अध्यक्ष भट्टराई पनि पुगेका बेला पुनः मेयरका समर्थकहरुसँग चर्को विवाद पर्‍यो। त्यसपछि धरानका राजनैतिक दलका नेताहरू, कार्यकर्ताहरु र वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु पनि प्रहरी कार्यालयमा पुगेका थिए। राजनैतिक दलका कार्यकर्ताहरुको उपस्थिति बाक्लिएपछि मेयर साम्पाङविरुद्ध नाराबाजी पनि भयो। स्थिति तनावग्रस्त बन्दै भिडन्त हुने अवस्थामा पुगे पनि प्रहरीले दुवै पक्षलाई भिड्न भने दिएन।

पक्राउ परेकालाई कानुनी कारबाही हुने

धरान १७ वडा कार्यालयमा हुलहुज्जत, गालीगलौज र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका तीन जनालाई कानुनी कारबाही हुने भएको छ।

सोमबार टोल विकास संस्थाहरुसँगको बैठक चलिरहँदा भिडियो खिच्दै पुगेपछि विवाद भएको थियो। कार्यवाहक वडा अध्यक्ष मनिष विष्टको जाहेरीपछि ३५ वर्षीय ललित राई, २४ वर्षीय लाक्पा शेर्पा र ६५ वर्षीय गोविन्द श्रेष्ठ पक्राउ परेका छन्।

उनीहरुलाई छुटाउन पहल भए पनि सहमति जुट्न नसकेपछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो। उनीहरुलाई छुटाउन आज बिहानैदेखि आफन्तजन, मेयर हर्क साम्पाङ र मेयरका समर्थकहरु लागिपरेका थिए। तर, वडा १७ का जनप्रतिनिधिहरूले जाहेरी फिर्ता लिन मानेनन्। डिएसपी नवराज मल्लका अनुसार अभद्र व्यवहारको जाहेरी परेकोले सोही अनुसार मुद्दा दर्ता गरी म्याद थपको प्रक्रिया अघि बढेको छ।

‘अभद्र व्यवहारको मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका छौं,’ डिएसपी मल्लले भने।

डाँडाघोपा नमुना टोल विकास संस्थाका अध्यक्ष लिला बुढाथोकीले आइतबार ४१ वटा टिएलओकोतर्फबाट भन्दै किर्ते हस्ताक्षर गरेर ज्ञापन पत्र बुझाउन जानेहरुलाई राजनैतिक सहमतिमा छोड्न नदिने अडान लिएका थिए।

उनले भने, ‘आधिकारिकरुपमा टिएलओहरुको बैठक नराखी उहाँहरूले ज्ञापन पत्र बुझाउने, गालीगलौज गर्ने काम भएछ, त्यसको उचित जवाफ उहाँहरुबाट नपाएसम्म राजनैतिकरुपमा मिल्न हामी दिँदैनौँ।’

‘मेयरको उक्साहटमा वडा अध्यक्षमाथि आक्रमण भयो’

धरानका २० वटै वडाका वडा अध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुले मेयर हर्क साम्पाङको उक्साहटमा सोमबार वडा नं १७ का अध्यक्षमाथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको आरोप लगाएका छन्।

उनीहरुले मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय धरान बाहिर आकस्मिक पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ र उनका अराजक समर्थकहरुको उक्साहटमा सोमबार वडा अध्यक्षमाथि आक्रमण भएको आरोप लगाएका हुन्।

मेयर साम्पाङ र उनका समर्थकहरुले विभिन्न सामाजिक सञ्जालमा विभिन्न समयमा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुमाथि अमर्यादित भाषा प्रयोग गरी गालीगलौज, धाक धम्की दिने, सामाजिक प्रतिष्ठामाथि आक्रमण गर्ने, समर्थकहरुलाई अराजक कार्य गर्न उक्साउने लगायत नियोजित कार्यबाट नै सोमबारको घटना भएको दाबी वडा अध्यक्षहरुको छ।

‘नगर प्रमुख हर्क साम्पाङले आक्रमणकारीहरुलाई संरक्षण गरेको र पीडित वडा अध्यक्ष तथा सदस्यहरुलाई पटक पटक मुद्दा फिर्ता लिन दिएको दबाबले यो कुराको पुष्टि गर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कानुन, विधि र पद्धतिको पालनाले मात्रै विकास र सुशासन सम्भव छ भन्ने मान्यतालाई सबैले आत्मसाथ गर्न सक्नुपर्ने उल्लेख गर्दै धरानमा भइरहेको अराजक गतिविधि रोक्न नगर प्रमुखको मुख्य भूमिका हुने भएकोले मेयर साम्पाङलाई आग्रह पनि गरेका छन्। साथै, शान्ति सुरक्षा कायम गरी जनप्रतिनिधिहरूले सुरक्षित वातावरणमा जनताको सेवा गर्ने वातावरण तयार गर्न प्रशासनसँग पनि माग गरिएको छ।

गत चैत १ गते कार्यपालिका बैठक भाँडिएपछि मेयर साम्पाङ र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु आरोप प्रत्यारोपमा चलिरहेको छ। त्यसयता मेयर साम्पाङले ३ पटक बैठक बोलाए पनि वडा अध्यक्षहरु गएका छैनन्। यसैबीच, मंगलबार उपमेयर अइन्द्रबिक्रम बेघाले विज्ञप्ति जारी गर्दै नगर प्रमुखले अभिभावकत्वको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले वार्ता, संवाद र सहमतिको माध्यमबाट सबै खालको समस्याहरुको समाधान गर्दै अघि बढ्नुपर्ने देखिएको पनि उल्लेख गरेका छन्।

वडा अध्यक्षहरुले राखेको जायज मागलाई सम्बोधन गरी कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्नुपर्ने भन्दै उपमेयर बेघाले ढिलाई भए परिस्थिति थप जटिल हुने पनि उल्लेख गरेका छन्।

‘समग्र धरानको विकास र समृद्धिका लागि सर्व जनाको एकता र सहकार्य जरुरी रहेकोले सबैको भूमिकालाई जोड्दै हालको असहज परिस्थितिलाई व्यवस्थापन गरी निकास दिन नगर प्रमुख ज्युलाई अनुरोध गर्दछु, ’उपमेयर बेघाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: २६ वैशाख २०८० १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App