१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एउटै बिरुवाको मूल्य २७ हजार !

इलामको सूर्याेदय नगरपालिका–११, करफोकका युवक हिमान तामाङ आफ्नो नर्सरीमा एउटैलाई २७ हजार रुपैयाँ पर्ने फूल (क्याक्टस) देखाउँदै। तस्बिर: भीम/नागरिक

फूल देख्नमा सुन्दर त छँदै छ, यसको व्यावसायिक खेतीबाट आम्दानी र सन्तुष्टि पनि उत्तिकै छ उनलाई। देशमा रोजागारी नपाएर र गरिरहेको काममा सन्तोष नभएर भौंतारिनेको भिडमा सूर्याेदय नगरपालिका–११, करफोकका युवक हिमान तामाङ चाहिँ धैर्य र सफलताको गतिलो पर्याय बनिरहेका छन्।

प्रतिगोटा ३५ रुपैयाँदेखि २७ हजार रुपैयाँसम्मका फूल उत्पादन गरिरहेका हिमानलाई उत्पादित फूल बेच्न विज्ञापन गर्नुपरेको छैन। करफोक सल्लाघारीछेउमा मेची राजमार्गसँगै जोडिएको कटेजमा राखिएका फूलले बटुवालाई आकर्षित गरिहाल्छन्। एक काल्लो मास्तिर उक्लिएर उनको व्यवसाय हेर्ने जो–कोहीले हिमानको पौरख गमलामा झल्किएको देख्न पाउँछन्। २०७५ सालमा अढाई लाख रुपैयाँमा सुरु गरेको व्यवसाय ५ वर्ष नपुग्दै ४५ लाख हाराहारीमा पुगेको अनुमान गर्छन् उनी।

जीवन निर्वाहका लागि सूर्याेदय वडा १३ मा सामान्य खेतीपाती गरिरहेका हिमानले रोजागारीका अरू अवसर पनि नखोजेका होइनन्। तर, नजिकै भारत दार्जिलिङतिर फूलखेती फस्टाएको देखेपछि उनी त्यसैको सुगन्धमा आकर्षित भए। ‘महिनामा डेढदेखि ३ लाख रुपैयाँसम्मको फूल विक्री गर्छु,’ उनी सुनाउँछन्, ‘नजिकैको फिक्कल बजारमा दिनमा १५ हजार रुपैयाँसम्मको बेच्छौं।’ धेरैजसो ग्राहक उनले फूल खेती गरेकै ठाउँमा आउँछन् र किनेर लैजान्छन्। एकैदिन अढाई लाख रुपैयाँसम्मको फूल बेचेको उनले सम्झिए। काठमाडौं पशुपतिनाथ मन्दिरअघि बसेको साँढे आकृतिको एउटै फूलको मूल्य उनले २७ हजार रुपैयाँ राखेका छन्। ‘कडा मेहनतले आकृति दिइएको यो क्याक्टसमा धेरै ग्राहक लोभिएका छन्,’ उनी भन्छन्, ‘२५ हजार रुपैयाँसम्म पाउँदा पनि यो चाहिँ दिइनँ।’

२० वटाभन्दा बढी टनेलमा कतिखाले फूल आफूले खेती गरिरहेको छु भन्ने उनी आफैंलाई गन्ती छैन। हजारौं गमलामा सयौं प्रजातिका फूल लहलह छन्। ‘एउटै फूल पनि दर्जनौं प्रजातिमा उत्पादन हुन्छन्,’ उनी भन्छन्, ‘एन्जेलिया, क्याक्टस, सकुलिन, पाइन प्रजातिका धुपीलगायत अनगिन्ती फूल यहाँ छन्।’ सुरुमा भारतबाट केही बिरुवा ल्याएका उनले त्यसयता आफैं बिरुवा र बीउ उत्पादन गर्न थालेको बताए। अहिले पनि कहिलेकाहीं बिरुवा नपुगेर भारतमै लिन जानुपरेको तामाङले सुनाए।

७ कामदारले उनको पूजा फूल नर्सरीमा रोजगारी पाएका छन्। टनेल मर्मतका लागि थप २ कामदार पनि नियमित यहीं खटिएका छन् आफ्नो व्यवसायलाई कृषि ज्ञान केन्द्रले केही टनेल दिएर सहयोग गरेको तर स्थानीय सरकारबाट अपेक्षाअनुसार कुनै सहयोग नपाएको उनको गुनासो छ। ‘कृषि व्यवसायको धेरैजसो सरकारी अनुदान दुरुपयोग भएको देखिन्छ तर हामीले चाहिँ पाएका छैनौं,’ हिमानले भने, ‘म अरूतिर रोजगारी खोज्न नभइ स्वरोजगार भएर अरूलाई समेत रोजगारी दिइरहेको व्यवसायीलाई सरकारले सपोर्ट नगर्दा चाहिँ दुःख लाग्छ।’ फूल बिरुवाको बजार राम्रो रहेको र बेच्नलाई कतैं भौंतारिनु नपरेको उनी बताउँछन्।  

प्रकाशित: २६ वैशाख २०८० ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App