१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उदाहरणीय मेजर र आरोही

दोलखा- नागरिकता, पासपोर्ट बनाउन तथा अन्य प्रशासनिक कामका लागि सर्वसाधारणको भरिभराउ हुने जिल्ला प्रशासन कार्यालय दोलखामा सोमबार दिउँसो आकर्षक भेषभूषामा सजिएका महिला र पुरुषको फरक भीड थियो।

दौरा सुरुवाल र कोट पाइन्टमा सजिएका एक हुल युवा प्रशासनको गेटनजिकै गफिँदै थिए। पल्लोछेउमासारीमा सजिएका केही युवती र महिला सेल्फी लिँदै थिए। यत्तिकैमा प्रशासनका कर्मचारीले बोलाए, दुवै जना आफ्नो तस्बिरसहित भित्र आउनू।

दौरा सुरुवालमा ठाँटिएका दुलाहा आदित्य कार्की र सारीमा सजिएकी दुलही पूजन आचार्य कार्यालयभित्र छिरे। केही कागजात मिलाएर उनीहरूलाई ती कर्मचारीले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको कार्यकक्षमा लिएर गए। बोहोराले दुलाहादुलही र उनीहरूसँग आएका साक्षीसँग केहीबेर सोधपुछ गरे अनि दुलाहादुलही दुवैलाई माला पहिराइदिए र विवाह दर्ताको प्रमाणपत्र हस्तान्तरण गरे। प्रशासन कार्यालयमा उपस्थित दुलाहा र दुलही पक्षका परिवार र नातागोता केहीबेर फोटो सेसन गराएर प्रशासनबाट फर्किए।

जंगी अड्डास्थित राष्ट्रिय सेवा दलमा कार्यरत नेपाली सेनाका मेजर आदित्यलाई २०६९ अघि सेनाले हिमकलासम्बन्धी तालिममा खटायो। २०६९ चैतमा सेनाको टोलीबाट नेतृत्व गर्दै सगरमाथा चढ्ने तयारीमा खटिए आदित्य। आदित्यको टोलीलाई सगरमाथा आरोहणका लागी जंगी अड्डाले आयोजना गरेको बिदाइ समारोहमा पूजन पनि पुगिन्। त्यही समारोहमा चिनजान भयो आदित्य र पूजनको।

पूजन प्रथम सगरमाथा समावेशी महिला आरोही दलकी सदस्य हुन्। २०६५ चैतमा महिला आरोहण दलबाट सार्वेच्च शिखर सगरमाथामा पाइला टेक्ने सात महिलामध्ये एक थिइन् पूजन। सात जनाले सगरमाथामा पाइला टेकेपछि उनीहरूसँगै पूजनको समेत ख्याति चुलिएको थियो।

त्यही हैसियतमा सेनाको टोलीलाई बिदाइ गर्न पुगेकी पूजन र आदित्यबीच त्यस दिनको चिनजान मित्रतामा बदलियो। आदित्य सगरमाथा आरोहणबाट फर्किएपछि दुवैबीचको मित्रता गहिरिँदै गयो। पूजन पर्यटन र ट्राभल विषय पढ्न अमेरिका गइन्। उनीहरूबीच नियमित कुराकानी भइरह्यो भने पूजन नेपाल फर्किएका बेला भेटघाट भइरह्यो। यता आदित्य नेपाली सेनाभित्र विभिन्न एकाइ हँुदै राष्ट्रिय सेवा दलमा सरुवा भएका थिए।

गत पुसमा पूजन नेपाल फर्किन्। दुवैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय लिए। दोलखाको गैरीमुदी गाउँमा जन्मेर निकै अघि राजधानी सरेका कार्की परिवारका जेठा छोरा आदित्य। गौरीशंकर गाविसको सिमिगाउँकी आचार्य परिवारकी कान्छी छोरी हुन् पूजन्।

दुवैले अठोट कसे। लगनगाँठो कस्ने तर सामान्य ढंगबाट। जग्गेमा बसेरमात्र विवाह हुन्छ भन्ने चलन तोडेर नयाँ उदाहरण बन्न दुवैले एकअर्कासँग प्रस्ताव गरे। तर परिवार कसरी मनाउने? ‘म घरकी कान्छी छोरी र उहाँ जेठो छोरा’, पूजनले त्यो क्षण सम्झँदै भनिन्,  ‘दुवैले जसरी भए पनि परिवार मनाइछाड्ने भनेर अठोट कस्यौ र विवाह खर्चबापतको रकम हामीले प्रारम्भिक शिक्षा आर्जन गरेको विद्यालयमा अभिभावकको नाममा अक्षय कोष बनाउने निर्णय लिएर बाबाआमालाई सहमति गरायौं।’ पूजन र आदित्यले तीन साताअघि जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्यारिज गरी पाऊँ भनी निवेदन दिए। सोहीअनुसार प्रशासनले उनीहरूका विषयमा विस्तृत अध्ययन थाल्यो। दुवैको प्रक्रिया साँचो रहेको नरहेको बारे प्रशासनले अध्ययन थाल्यो।

पूजनले ७ कक्षा सम्म पढेको गाउँको स्कुल खारे निमाविका प्रधानाध्यापक वन्दना श्रेष्ठलाई सोमबार नै आफ्नो विवाह खर्चबापतको एक लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयमै हस्तान्तरण गरिन्। यस्तै दुलाहा आदित्यले आफूले ४ कक्षा सम्म पढेको गैरीमुदी १ स्थित सेतिदेवी प्राथामिक विद्यालयका निमित्त प्रधानाध्यापक क्यामुनारायण श्रेष्ठलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ अक्षय कोषका लागि हस्तान्तरण गरे।

दुवैले आफ्नो विवाह खर्चबापतको रकम आफूले प्रारम्भिक शिक्षा अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई जिल्ला प्रशासन बोलाएर हस्तान्तरण गरेका थिए।

पूजन र आदित्यको जोडीलाई आफू जन्मेको जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने पहिलो इच्छा छ। ‘आदित्य नेपाली सेनाको जागिरे र म पर्यटन प्रवर्द्धन क्षेत्रमै लागिरेहेको छु’, पूजनले भनिन्, ‘अमेरिकामा मेरो पढाइ सकिन लाग्यो अब छिट्टै नेपाल फर्केर दोलखाको पर्यटन प्रवर्द्धनमा लाग्नेछु।’

दुवैको उदाहरणीय वैवाहिक समारोहबाट जिल्लाबासी प्रभावित बने। ‘पूजन र आदित्यले साह्रै उदाहरणीय काम गरे’, अधिकारकर्मी होम पाठकले भने। पूजन र आदित्यलाई विवाहको प्रमाणपत्र दिँदै दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा।

प्रकाशित: ४ फाल्गुन २०७३ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App