coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामुदायिक वन अतिक्रमण गर्दै जग्गा बेच्दै

पर्साको सखुवा प्रसौनी १ सखुनीयमा वन फडानी गरेर निर्माण गरिएको घर, टहरा।

पर्साको सखुवा प्रसौनी १ सखुनीय र सितपुरमा रहेको वनको सयौँ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ।

वनको रुख फडानी गरेर विद्युतीय तार जडान गर्ने, घर, टहरा निर्माण, खेती, भूमिगत सिँचाइको व्यवस्था गरिएको कारणले वनको सयौँ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको हो।

पहिलै देखि अतिक्रमण गरिएका वनकै जग्गालाई अहिले बिक्री वितरण समेत गरिने कार्य सुरु भएको स्थानीयहरूले गुनासो गरेका छन्।

सखुनीया र सितपुरमा रहेका राजनीतिक दलका कार्यकर्ता र गाउँका बलिया व्यक्तिहरूले वनको रुखहरूलाई फडानी गरेर त्यसलाई हक भोग गर्दै आए पनि जिल्ला वन कार्यालय पर्सा मुख दर्शक बनेको स्थानीयहरूले आरोप लगाएका छन्।

वनको रुखहरु फडानी गरेर बिक्री गरिएकाले पानीको मुहान सुख्ने, हावापानी सफा नपाइने डर समेत बढ्दै गएको वन फडानी गरिएको स्थानमा भेटिएका ६२ वर्षीय विष्णु लामाले गुनासो गरे। उनले वन फडानीमा जिल्ला देखि केन्द्रसम्मका प्रशासन जिम्मेवार रहेको आरोप लगाए।

‘वनको रुखलाई राम्रोसँग हेर्दा भोलिको दिन राम्रो हुने वाला छैन,’ लामाले भने ‘अहिले भोलिको दिन नहेरेर वन फडानी गरी रकम मात्रै कमाउने काम गरिएको छ।’ १०/१५ लाख रुपैयाँ खर्चेर हामीहरुले पनि मठको नाममा वनकै जग्गा पास गराएको लामाले दाबी गरे।

वनको कर्मचारीहरूले तीन करोड रुपैयाँ खर्च गरेर बिरुवा रोप्न गरेको भएता पनि गरिएको लगानीमा एउटा पनि बिरुवा उम्रन नसकेको उनले बताए।

वनको कर्मचारीहरूले पाएको बजेट रकमको बिरुवा रोप्ने कार्य राम्रोसँग गरेका भए अहिलेसम्म रोपिएको बिरुवाहरू ठुलो भइसक्थे लामाले बताए। वन अतिक्रमण गरिएको स्थानमा राम्रोसँग करोडौँ रुपैयाँको बिरुवा नरोप्न र केही रोपिएको बिरुवाहरूको हेरचाह नगरिएको उनको गुनासो थियो।

सखुनीय र सितपुरमा मात्रै चार सय बिघा वनको क्षेत्र अतिक्रमण गरिएको र त्यसमा स्थानीयहरूले खेती गर्ने र घट टहरा बनाउने काम गरेको लामाले सुनाए।

अर्का स्थानीय सोमप्रसाद भुसालले वनको जग्गा अतिक्रमण हुनुमा वनकै कर्मचारीहरूको सहयोग रहेको आरोप लगाएका छन्।

गस्तीमा आउने वनको टोलीले पाँच/पाँच सय रुपैयाँ लिएर वनबाट दाउराहरु छोड्ने, निर्माण गरिने भौतिक संरचनालाई नरोक्ने लगायतका कार्यहरुले दिनानुदिन दिन वनको क्षेत्र कम हुँदै गएको गुनासो भुसालले गरे।

वनको अतिक्रमण गरिएको जग्गालाई खाली गराएर त्यसमा पुनः बृक्षा रोपन नगर्दा वनको जग्गाको खरिद बिक्री कार्य समेत सुरु भएको भुसालले बताए। 

वन क्षेत्रमा निर्माण गरिएका घरमा बस्ने व्यक्तिहरूले फर्निचर बनाएर बेच्ने कार्य गर्ने गरेकाले दिनहुँ वनको रुखहरु फडानी हुने क्रम बढेको स्थानीयहरूले गुनासो गरेका छन्। वनको क्षेत्रको अतिक्रमण हटाएर तार-बारले घेरा लगाएर बिरुवा रोप्नुको साट्टो वनका कर्मचारीहरूले अतिक्रमण गरिएको जग्गालाई छोडी दिएको देखिन्छ।

वन फडानी गरेर खाली गराइएको जग्गालाई अतिक्रमण गरेर कतै मकै बाली लगाइएको छ भने कतै धान बाली लगाइएको छ।

पर्सा राष्ट्रिय निकुञ्ज र पर्सा वनको गरेर १० हजार हेक्टर क्षेत्रफलमा वन फैलिएकोमा पर्सा वनको मातहतमा ३५ सय हेक्टर वन क्षेत्रफल मात्रै रहेको पर्सा वन कार्यालय प्रमुख सुभाष दासले बताए। ३५ सय हेक्टर वनको जग्गा मध्ये दुई वर्ष पहिलाको तथ्याङ्क अनुसार तीन सय ८४ हेक्टर अतिक्रमणमा परेको दासले बताए।

सखुनीय र सितपुरमा अतिक्रमण गरिएको वनको क्षेत्रलाई खाली गराउनको लागि स्थानीय तहका प्रमुख, प्रहरी, प्रशासनसँग छलफल चलिरहेको दासले बताए।

प्रकाशित: २३ वैशाख २०८० १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App