जिल्लाबासीलाई वर्षेनी कटान र डुबानको समस्यामा पार्दै आएको त्रियुगा नदी व्यवस्थापन गर्ने जिम्मा पाएको ‘त्रियुगा नदी व्यवस्थापन कार्यालय (टीआरएमओ)’ उदयपुर, बजेट अभावले छट्पटिमा परेको छ।
बिगत ३ वर्षयता त्रियुगा नदी दायाँबायाँ बाँध निर्माण गरिरहेको कार्यालयले चालुवर्ष जेनतेन काम चलाए पनि आगामी वर्षहरुका लागि बजेट टुंगो नहुँदा काम रोकिने आशंकाले चिन्तित देखिएको हो।
पहिलो फेज (चरण)को ३ वर्षे कार्यक्रम अन्तिम अवस्थामा पुर्याएको कार्यालयलाई आगामी ३ वर्षे अर्को चरणको कामका लागि मन्त्रालयले स्रोत सुनिश्चित गर्नुपर्ने भए पनि अहिलेसम्म भएको छैन। दोस्रो फेजको बाँध निर्माण गर्ने रकम अहिलेसम्म सुनिश्चित नहुँदा परियोजनाको तालिका संशोधन हुनसक्ने कार्यालय प्रमुख (डिई) रेवाकान्त यादवले बताए। चालु वर्षको बजेट पनि १५ करोड विभागले कटौति गरेकाले काममा बाधा झेल्नु परेको तथा आगामी वर्ष दिने बजेट पनि सिलिङ स्वाट्टै घटाएर मन्त्रालयले पठाएको उनको गुनासो छ। डिई यादवका अनुसार चालु वर्ष ५६ करोड बजेटमध्ये तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा विभागले १५ करोड फिर्ता लगेको छ।
बजेट फिर्ता लगेपछि भइसकेको कामको भुक्तानी दिन नसकेर तनाव झेल्नु परेको उनको गुनासो छ। चालु वर्ष रातो कितावमा ५६ करोड बजेट तोकिए अनुसार ठेकेदारल काम गरिरहदा सकिनै लागेका बेला विभागले अचानक बजेट काटिदिएपछि भुक्तानी गर्न नसक्दा भागेर हिड्नु परेको गुनासो यादवको छ। ‘रातो कितावमा परेको बजेट अनुसार ठेकेदारलाई ताकेताका साथ काम लगाइयो’ डिई यादवले समस्या सुनाए ‘काम सकिनै लागेका बेला विभागले १५ करोड बजटे अचानक तानिदिएछ। अहिले भुक्तानी माग्दै कार्यालयमा बील आएको महिनौँ भइसक्यो। तर, पैसा नभएकाले विभागको मुख ताकेर बस्नु् परेको छ।’
चालु वर्ष भइसकेको कामको भुक्तानी दिन नसकेर तनाव झेलिरहेको कार्यालयले आगामी वर्षको बजेट सिलिङ धेरै घटेर आएपछि आउदो वर्ष कामले निरन्तरता नपाउने खतरा देखिएको उनले बताएका छन्। आर्थिक वर्ष ०७७/७८ मा १ अर्ब ३० करोड र चालु वर्ष ५६ करोडमा सीमित भएकोमा आउँदो वर्ष मात्र ७ करोडको सिलिङ दिइएको हुनाले थप बाँध निर्माण हुने कुरामा कार्यालयलाई शंका लागेको छ। मन्त्रालयले आर्थिक शंकट परेको भन्दै दिएको बजेट काट्नुका साथै आउँदो वर्ष ७ करोड मात्र दिने गरी सिलिङ तोकेर पठाएपछि थप काम हुनेमा कार्यालयलाई शंका लागेको हो।
लेखा अधिकृत टोलेन्द्र कार्कीले चालु वर्षको कामको भुक्तानी गर्न नसकिरहेको र आउँदो वर्षको बजेट ७ करोडमा खुम्चिएकाले नदी व्यवस्थापनको काममा बाधा आउने लगभग निश्चित देखिएको बताए। सुरुको वर्ष प्रसस्त बजेट हुनाले काम थुप्रै भएको, चालु वर्ष पनि ५६ करोड तोकिए अनुसार धेरै काम भएकोमा बीचमा कटौती गर्दा बाधा खडा भएको बताउँदै कार्कीले तर, आउँदो वर्षलाई ७ करोड मात्र सिलिङ ताकिनाले बाँध निर्माणको काम अवरुद्ध हुने देखिएको बताए। त्यसैगरी अर्को फेजको कार्यक्रम गर्न स्रोत सुनिश्चित नहुँदा परियोजना निर्माणमा थप समस्या आउनसक्ने लेखा अधिकृत कार्कीको अनुमान छ।
कार्कीले आगामी ३ वर्षको दोस्रो फेजका लागि कार्यालयले झण्डै ४ अर्बको प्राविधिक इस्टीमेट बनाएर मन्त्रालयमा पेश गरेको छ। सो प्रस्ताव विभागबाट अर्थ मन्त्रालयमा पुगेको छ। तर, अर्थले ‘बजेट क्राईसिस’ भएको सुनाउँदै स्रोत सुनिश्चित गर्न नसक्ने संकेत गरिरहेको छ। कम्तीमा १ डेढ अर्बको बजेट सुनिश्चित नभए हाल दु्रतगतिमा भईरहेको बाँध निर्माणको काम अवरुद्ध हुने उनले बताए। ‘मन्त्रालयले कमसेकम १ डेढ अर्बको स्रोत सुनिश्चित मात्र गरिदिए ठेक्का खोलेर काम अघि बढाउन हामीलाई सहज हुन्छ’ कार्कीले भने ‘तर, अहिलेसम्म बजेट छैन भन्दै मन्त्रालयले स्रोत सुनिश्चित नगरेका कारण बाँध निर्माण कार्य रोकिने छाँट देखिदैछ।’
नदीको शीरदेखि तीरसम्म दुवैतर्फ जैविक प्रविधिको बाँध बाँधेर त्यसमाथि सडक बनाउने, बीचबीचमा पुल बनाएर दोहोरो आवागमन गराउने इस्टीमेटको त्रियुगा बाँध ५०.५ किलोमिटर लामो हुने परियोजना रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर रामकुमार साहले बताए। बाँध निर्माण कार्य माथिल्लो र तल्लो भाग २ छ्ट्टाछुट्टै ठेक्का लगाएर भइरहेको छ। त्रियुगा नगरपालिका ७ चुहाडेदेखि चौदण्डीगढी नगरपालिका ९ अजगरासम्म १०.६ किलोमिटर बाँध कालिका–शर्मा–कुमार जेवीले उनका अनु्सार माथिल्लो भागको ठेक्का मूल्य अभिबृद्धि कर (भ्याट)सहित ७८ करोडमा ठेक्का लिएको छ। त्यस्तै तल्लो भागको अजगरादेखि बेलका नगरपालिका १ पुरन्दहसम्म १२.६ किलोमिटर बाँध निर्माण गर्ने जिम्मा गजुरमुखी–कान्छाराम–बौद्ध हिमाली जेवीले ७८ करोड ७४ लाखमा लिएको हो। तर, हालसम्म माथिल्लो भाग १२.८० किलोमिटर काम भइसकेको छ भने तल्लो भाग ११.६० किलोमिटर सम्पन्न भईसकेको इन्जिनियर साहले बताए।
लेखा अधिकृत कार्कीले गत वर्ष १ अर्ब ३० करोड ४५ लाख २८ हजार बजेटमध्ये १ अर्ब ३० करोड २९ लाख १५ हजार खर्च भएको बताए। चालु वर्ष ५६ करोडमध्ये १५ करोड विभागले तानेपछि ४१ करोड ४९ लाख ७७ हजार बाँकीमध्ये हालसम्म २३ करोड ८१ लाख ५५ हजार खर्च भएको छ। ठेकेदारले तोकिएभन्दा बढी काम गरिसकेको भए पनि बीचमै बजेट कटौतिमा परेपछि भुक्तानीको समस्या भइरहेको कार्कीको पनि भनाई छ। दुवै ठेक्का ०७७ कात्तिकमा सम्झौता भई सकिन लागेको छ भने अर्को फेजको कामको स्रोत सुनिश्चित गर्न माग गर्दै डिई यादव विभाग र मन्त्रालय धाईरहेको कार्कीले बताए।
८ अर्ब १५ करोड लागत इस्टीमेटको दुईतर्फ गरी ८४ किलोमिटर लामो बाँध निर्माण गर्न २ चरणमा प्रस्ताव गरिएको छ। जस अनुसार ४२ किलोमिटर दूरी लामो बाँधका बिभिन्न ठाउँमा २७ वटा पुल बनाउने इस्टीमेटमा उल्लेख छ। दोस्रो चरणमा २२ किलोमिटर दूरीको बाँध निर्माण गर्न ३ अर्ब ९६ करोडको प्राविधिक इस्टीमेट मन्त्रालयमा पेश गरेको भए पनि हालसम्म स्रोत सुनिश्चित नभएकाले काम नरोकिने गरी बजेट व्यवस्था गर्न विभाग र मन्त्रालयमा धाईरहेको यादवले बताएका छन्।
प्रकाशित: २० वैशाख २०८० १३:२२ बुधबार





