coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरान र इटहरी उपमहानगरबीच सिमाना विवाद फेरि बल्झियो

पानीपियामा धरानको सीमा प्रारम्भ भएको बोर्ड राख्दै नगर प्रहरी। तस्बिर: नागरिक

कोशी प्रदेशका दुई उपमहानगरपालिका धरान र इटहरीबीच सिमाना विवाद फेरि बल्झिएको छ।

कोशी लोकमार्गस्थित पानीपियामा धरान उपमहानगरपालिकाले आफ्नो सिमाना प्रारम्भ भएको बोर्ड आइतबार राखेपछि पुरानो विवाद बल्झिएको हो। आइतबार दिउँसो करिब ३ बजेतिर धरानका नगर प्रहरी र प्राविधिकहरुको टोलीले पानीपिया क्षेत्रमा धरानको सीमा प्रारम्भ भएको बोर्ड राखेको थियो। उक्त बोर्डलाई आइतबार राती नै एमाले निकट राष्ट्रिय युवा संघ इटहरीले उखेलेपछि दुई उपमहानगरबीचको सीमा विवाद पुनः सतहमा आएको हो।

युवा संघले बोर्ड उखेलेपछि धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाउँदै कानुनी कारबाही अघि बढ्ने प्रतिक्रिया दिएका छन्। साथै उनले आफ्नो सीमा क्षेत्रमा बोर्ड राख्न कसैलाई सोध्नुपर्ने वा समन्वय गरिराख्न नपर्ने जिकिर पनि गरेका छन्। उनले युवा संघले उखेलेको बोर्ड पुनः सोही ठाउँमा स्थापित गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको पनि जानकारी दिएका छन्।

दुई उपमहानगरबीचको सीमा विवाद प्रशासनिकरुपमा मात्र सीमित रहेको छैन। सोमबार दिनभर जसो नै इटहरी र धरानका राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारण नागरिकहरुबीचमा पनि बहस छेडिएको थियो। विवाद चुलिँदै गएपछि इटहरीका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दे संवेदनशील र गम्भीर विषयलाई धरान नगर प्रमुखसँग बसेर छलफल गरी संवाद, सहमति र सहकार्यमार्फत हल गर्न तयार रहेको बताएका छन्।

साथै उनले धरान उपमहानगरपालिका प्रमुखलाई संवाद, सहकार्य, छलफल र सहमतिको लागी पत्र पनि पठाउने जानकारी दिएका छन्। 

उनले भने, ‘दुई पालिकाबीच बसेर दुई पालिकाको साझा मुद्दाहरूमा छलफल गर्ने कुरामा हामी प्रतिबद्ध छौं। हामी त्यसका लागि हदैसम्मको लचकता अपनाएर संवाद, सहमतिको माध्यमबाट सहकार्य गर्दै इटहरी र धरानको सम्बन्ध मजबुत बनाउन चाहन्छौँ।’

धरान र इटहरीबीचको सीमा विवाद यो पहिलो पटक देखिएको भने होइन। यसअघि पनि सीमा विवाद हुँदा तत्कालीन धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी र इटहरीका तत्कालीन मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमबीच धरानमा छलफल भएको थियो। उक्त छलफलमा सिमाना यकिन गर्ने सहमति भए पनि थप पहल र निष्कर्ष वा निर्णय भएको थिएन। उपनिर्वाचन पश्चात् धरानका मेयर भएका तिलक राईको पालामा पनि सीमा विवाद उब्जिएको थियो।

साबिक धरान नगरपालिका र हाँसपोसा गाविस हुँदा कोशी लोक मार्गको सेउती पुललाई सिमाना मान्ने चलन थियो। अहिले हाँसपोसा गाविस इटहरीमा गाभिएर उपमहानगरपालिका भएपछि इटहरी र धरानको सिमाना सेउती खोलाको पुललाई नै मानिन थालिएको थियो। तर, नेपाल सरकारको प्रशासनिक नक्सामा भने धरानको सिमाना पानीपियासम्म छ भने सोही क्षेत्रफलको आधारमा सरकारले स्थानीय तहलाई पठाउने अनुदान धरानले प्राप्त गरिरहेको छ। सोही आधारमा नै धरान उपमहानगरपालिकाले पानीपियासम्म आफ्नो सीमा क्षेत्र दाबी गर्दै बोर्ड राख्ने प्रयास गर्दा विवाद चर्किएको हो।

प्रकाशित: ११ वैशाख २०८० १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App