भक्तपुर- अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३औं एसिया क्षेत्रीय सम्मेलनका सहभागीलाई बिहीबार भक्तपुरमा भव्य स्वागत गरिएको छ। मल्लकालीन दरबार क्षेत्रमा आयोजित रात्री भोजमा सरिक हुन आएका सहभागीलाई नगरवासीले मूल ढोकामा सांस्कृतिक कार्यक्रम देखाउँदै सगुनको प्याला दिएर स्वागत गरे।
हाकुपटासीमा सजिएका नेवारी महिलाको हातबाट माटोको प्यालामा अइला (स्थानीय रक्सी) खाएका उनीहरू 'वाउ! सो स्ट्रङ, नो मोर' भन्दै आखा चिम्लेका थिए भने कोहीले 'वाउ! मोर' भन्दै अर्को प्याला थपे। उनीहरूको स्वागतमा सांस्कृतिक झाँकी र परम्परागत पेय पदार्थसँगै रंगीबिरंगी उज्यालोमा भक्तपुर नगर मदमस्त बन्यो।
भक्तपुर नगरपालिकाका कर्मचारीले आगन्तुकलाई भक्तपुरको प्रसिद्ध भादगाउँले टोपी लगाइदिए। 'सहभागीको सम्मानमा कलाकारले लाखे, माक प्याख देवी नाच प्रस्तुत गरे', पर्यटक सेवा केन्द्र भक्तपुरका प्रमुख गौतमप्रसाद लासिवाले भने, 'अतिथिलाई स्वागत गर्न पाउँदा हर्षित छौं।' मूल ढोकामा स्वागतका लागि राखिएका घडा पार गर्दै अगाडि बढेका उनीहरू रंगीबिरंगी प्रकाशले चम्किएको प्राचीन भक्तपुर देख्दा झनै रमाए। त्यस अवसरमा प्रसिद्ध पचपन्न झ्याले दरबारमा सुन्तला रङ छाएको थियो भने अगाडि रहेका भूपतीन्द्र मल्ल्ाको सालिक सुनजस्तै पहेंलो देखियो, गोल्डेन गेट रंगीन देखियो। त्यसैगरी त्यहाँ रहेका अन्य सम्पदा पनि रङको उज्यालोमा झिलिमिली देखिए।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे उपस्थित रहेको कार्यक्रममा नेमकिपाकै सांसद् एवं पूर्वमेयर प्रेम सुवालले इन्टरपोलका महासचिव जुर्गेन स्टकलाई नगरबासीको तर्फबाट मायाको चिनो मयूर भ्याल प्रदान गरे।
बेलुका साढे ७ बजे सुरु भएको कार्यक्रम साढे नौतिर समापन भएको भक्तपुर प्रहरी परिसरकी प्रमुख किरण राणाले बताइन्। बुधबार काठमाडौंमा सुरु तीनदिने सम्मेलनमा एसिया क्षेत्रका उच्च प्रहरी अधिकृत सहभागी छन्।
प्रकाशित: ७ माघ २०७३ ०३:४३ शुक्रबार