२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अत्यधिक गर्मीले जनजीवन कष्टकर

फाइल तस्बिर।

अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। बिहान एक छिन शीतल भए पनि प्रायः नौ बजेपछि घाम चर्किने र दिउँसोको बाह्र नबज्दै हावा तातो हुने हुनाले जनजीवन प्रभावित भएको हो।

दिउँसो पश्चिमा तातो वायुले घरबाहिर अनुहार पोल्ने भएकोले सर्वसाधारण दिउँसो घरबाट बाहिर निस्कन पनि डराउन थालेका छन्। अत्यधिक गर्मीले जनजीवन प्रभावित हुन थालेपछि यसको असर अन्य क्षेत्रमा पनि परेको देखिएको छ।

दिउँसो सार्वजनिक यातायातहरू ई रिक्सा, बस तथा म्याजिक जिपमा यात्रा गर्नेको संख्या कम भएको छ। यसै गरी साइकल तथा मोटरसाइकल चढ्नेको संख्या पनि कम भएको देखिएको छ। अत्यधिक गर्मीले गर्दा दिउँसो घरबाट बाहिर निस्कन गाह्रो भएकोले अत्यधिक आवश्यक नभई सर्वसाधारण बाहिर ननिस्कँदा जनजीवन प्रभावित भएको नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले बताएका छन्।

दिउँसोको समयमा बिरामी, ज्येष्ठ नागरिक तथा बालबालिका र सुत्केरीलाई निस्कन निकै गाह्रो भएको सचिव झा बताउँछन्।

केही दिनदेखि गर्मी लगातार बढ्दै गएको छ। तातो वायु चल्ने तथा धुलो र धुवाँले आकाश नै ढाकेको जस्तो धुम्म परेको देखिने हुनाले गर्मी अत्यधिक महसुस गरिएको हो। रौतहटको गरुडाका अनुभवी विज्ञान तथा वातावरणका अध्यापक प्रकाशचन्द्र झाले वायु प्रदूषण बढेको कारणले पनि गर्मी बढाउन सहयोग पुगेको बताएका छन्।

विगत करिब छ महिनादेखि पानी परेको छैन। सर्लाही र रौतहटमा लामो समयदेखि पानी नपर्दा बोटबिरुवामा खडेरीको प्रभाव देखिन थालेको छ। खेतबारीको घाँस सुकेर खत्तम भएको छ भने आँपको चिचिला पनि सुकेर मर्न र झर्न थालेको पाइएको छ। किसानले लगाएको तरकारी बालीमा पनि रोग लाग्न थालेको छ भने दालको लागि प्रयोग हुने मुङ खेती पनि प्रभावित भएको छ। अत्यधिक गर्मी बढेर लगातार आगलागीको घटना भएको छ। रौतहटको सदरमुकाम गौर नगरपालिकाका प्रमुख शम्भु साहले जिल्लाको विभिन्न ठाउँमा भइरहेको आगलागीको घटनाले गर्दा नगरपालिकाको दमकल निरन्तर व्यस्त रहनु परेको बताएका छन्।

अत्यधिक गर्मी बढ्दा व्यापार तथा व्यवसायमा पनि प्रभाव परेको छ। दिउँसो गर्मी हुने हुँदा गाउँबाट बजार पुग्ने मानिसको संख्या निरन्तर कम भएको उद्योगी व्यवसायीले बताएका छन्। अहिले विवाहको सिजन सुरु भए पनि अपेक्षाकृत व्यापार निकै कम भएको देखिएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले बताएका छन्।

यद्यपि हल्का पेय पदार्थ र चिसोको बिक्री बढेको पाइएको छ। अत्यधिक गर्मी बढेसँगै साधारण चिसो पेय पदार्थको बेपारमा वृद्धि भएको व्यावसायीहरुले बताएका छन्।

प्रकाशित: ३ वैशाख २०८० १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App