८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंको हितमा काम नगरे सिंहदरबार नै अन्यत्र सारे हुन्छः महानगर प्रमुख साह

क्याप्शन

सिंहदरबारको संघीय सरकारसँग ङारङुर गरिरहेका बागदरबारका बालेन फेरि गर्जिएका छन्। आइतबारदेखि सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर नउठाई संघीय सरकारसँग टक्कर लिइरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बिहीबार काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार नै अर्कै पालिकमा सार्न चेतावनी दिएका छन्।  

‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्,’ बिहीबार सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला र सभ्यता चाहिएको छ, राजनीति होइन।’

सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुअगाडि अघिल्लो शनिबार मेयर बालेनले सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने जस्तो आपत्तिजनक स्टाटस राखेका थिए। त्यसलगत्तै फोहोर उठाउन नसक्नुका १४ कारण दिएर हात बाँधेका बालेनले सरकारले उनको निर्णयको आलोचना गरेसँगै गर्जिएका हुन्।  

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपतिनिवासलगायत स्थानको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्ति र निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको थियो। योसँगै मेयर साह थप उग्र भएका हुन्। फोहोर नउठाउने विषयमा बालेनले उल्लेख गरेका १४ बँंदामा अव्यवस्थित बस्ती व्यवस्थापन, विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन, सरकारी अस्पताल सरसफाइ, एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधानलगायत विषयमा सरकारसँग पटकपटक सहयोग मागे पनि त्यसमा चासो नदिएको बताएका छन्।  

त्यस्तै ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी गरेको, महानगरले पाउनुपर्ने घरबहाल कर, खोला कोरिडोर, काठमाडौंमै फोहोर व्यवस्थापन गर्न कानुनलगायत विषयमा सहयोग नपाएको जनाएका छन्। उनले रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन, मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षणलगायत विषयमा मन्त्रीसँग पटकपटक पहल गरे पनि समाधानमा सहयोग नमिलेको उल्लेख छ।  

यता बालेनको अभिव्यक्तिलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने गम्भीर रूपमा लिएको बताएका छन्। ‘काठमाडौंको फोहोर व्यवस्थापनमा पर्ने कानुनी र नैतिक दुवै कोणबाट मेयर विचलित हुनुभयो,’गृहमन्त्री श्रेष्ठले बुधबार राति एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘उहाँले गैरजिम्मेवार र गैरकानुनी काम गर्नुभएको छ।’ मेयरले सिसडोलमा नेतालाई डम्प गर्ने कुरा अशोभनीय भएको गृहमन्त्रीले बताएका छन्। जिम्मेवारी नबुझी उनले बोलेका कुरा हदै भएको उनले बताए। ‘हो कतिपय ठाउँमा अव्यवस्थित बस्ती बसेका छन् तर उनले ट्विट गरेको भरमा कुरै नबुझी उठाउन मिल्दैन,’ श्रेष्ठले भने, ‘नियम पु¥याएर आए सरकार सहयोग गर्न तयार छ।’ मेयरले जे गरे पनि पाइन्छ भनेर सोच्छन् भने त्यो ठिक नहुने उनले बताए। ट्विटको भरमा सबै काम हुन्छ भन्ने नठान्न मेयरलाई सल्लाह दिँदै गृहमन्त्री श्रेष्ठले तथ्यसहित आए सहयोग मिल्ने बताए। मेयरले ठन्डा दिमागले सोच्नुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठले कानुन उल्लंघन कसैले गर्छ भने त्यो ठिक नहुने बताए।  

यसअघि सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि काठमाडौं महानगरपालिकाका मेयरले संविधान र कानुन बुझेर काम गर्नुपर्ने बताएकी छिन्। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयरले संविधान, कानुन र स्थानीय सरकार सञ्चालन ऐन बुझेर काम गर्नुपर्ने बताएकी हुन्। उनले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छिन्। ‘स्थानीय तह पनि सरकार हो। त्यसले संविधान पनि बुझ्नुपर्छ,’ उनले भनिन्, ‘त्यसले नीति पनि बुझ्नुपर्छ। कानुन पनि बुझ्नुपर्छ र त्योअनुसार चल्नुपर्छ ।’

प्रकाशित: १ वैशाख २०८० ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App