१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहाडबाट सार्वजनिक जग्गा हडप्न तराई

सार्वजनिक जग्गा हडपेर बस्ती बसाउन ठूलो संख्यामा आएका सर्वसाधारणहरुलाई प्रहरीले घर फिर्ता पठाएको छ।

मंगलबार करिब ८:३० बजेतिर ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी साँझको पैदल यात्रा गर्दै थिए। जब उनी बसपार्क नजिक पुगे त्यतिबेला करिब ८/१० जना व्यक्ति जम्मा थिए। उनले अगाडि बढ्दै गरेका पाइला रोकेर उक्त समूहलाई नियाले। नजिकै अर्काे ठूलो समूह रहेछ। जहाँ, जग्गाको विषयमा छलफल भइरहेको थियो।

डिएसपी तिवारीले अझ चासो दिए। करिब आधा घण्टा जति उनले उक्त समूहलाई निगरानी गरे। उक्त समूह बाँकेमा जग्गा पाइन्छ भनेर पहाडबाट कोहलपुर झरेको रहेछ। पहाडबाट जग्गा हडप्न आएको निष्कर्षपछि डिएसपी तिवारीले उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरसम्म लगे। त्यतिबेला करिब रातिको १०ः०० बजिसकेको थियो। ‘त्यतिबेला त्यस समूहका व्यक्तिहरुले सबै कुरा खोल्न मानेका थिएनन्,’ डिएसपी तिवारीले भने, ‘पछि उक्त समूहका एकजनालाई ‘कन्भेन्स’ गरेँ। उनले सबै वास्तविकता बताइदिए।’ प्रारम्भिक अनुसन्धानपछि प्रहरी पुनः चौराह पुग्यो। जहाँ पहाडबाट जग्गा प्राप्तिका लागि आएका थप भेटिए। ‘त्यसभन्दा पहिला मातहतका निकायमा ठूलो संख्यामा व्यक्तिहरु कोहलपुर आउन सक्छन्। ति व्यक्ति र गाडीहरुको निगरानी गर्नु भनेर सूचना गरेको थिएँ,’ उनी भन्छन्।

कोहलपुर चौराह थप मान्छेहरु भेटिए। उक्त समूहमा जाजरकोटका धेरै व्यक्ति थिए। प्रहरीले उनीहरुलाई घर फिर्ता पठाउने निधो गर्‍यो। रातिको समयमा एउटा गाडी आयो। उक्त गाडीमा जाजरकोट लेखिएको थियो। जाजरकोट जाने गाडी भेटियो भन्दै प्रहरीले उक्त गाडी रोक्यो। रोकेको गाडीभरि मान्छे थिए। ति मान्छे पनि सार्वजनिक जग्गा हडप्न तराई झरेका रहेछन्। प्रहरीले उनीहरुलाई सम्झाइबुझाइ पारेर घर फिर्ता ग¥यो। प्रहरी अझै अनुसन्धान बढाउँदै बैजनाथ–२ को पितमारीको जंगलसम्म पुग्यो। जहाँ, महिला, बालबालिका, वृद्धवृद्धालगायत पुरुष व्यक्तिहरु थिए। जंगलमा जेनतेन आश्रय लिएका थिए। पछि प्रहरीले उनीहरुलाई पनि सुरक्षित घर फिर्ता पठाएको छ।

कोहलपुरमा जग्गा पाइने भन्दै उनीहरुलाई कोहलपुर ल्याइएको थियो। बैजनाथ–२, पितमारीमा सार्वजनिक जग्गा हडप्ने योजनाअनुसार एक समूहले उनीहरुलाई यहाँ झारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यो समूह भूमाफिया हो होइन भन्ने कुरा खुलेको भने छैन। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। जग्गा पाइने भन्ने हल्ला सुनेर कोहलपुर आएका रुकुम पश्चिमका आइते कामीले बताए। ‘म त मजदुरी गर्न बझाङ थिएँ,’ उनी भन्छन्, ‘जग्गा पाइन्छ भन्ने हल्ला सुनेर कोहलपुर पुगेको हुँ।’ यस्तै जग्गाको प्रलोभनमा आफू कोहलपुर आएको बर्दियास्थित राजापुरका हर्कबहादुर परियारले जनाए। जग्गा दलालीले जनतालाई झुक्याएर कोहलपुरसम्म ल्याएको जाजरकोटका कर्णबहादुर विकले बताए। ‘जग्गा दलालीले हाम्रो घरघरमा गएर फसाएर यहाँसम्म ल्याए,’ उनले भने, ‘१०÷१५ हजार रुपैयाँ बोकेर हामी यहाँ पुग्यौं।’ उनीहरु सामान्य लत्ताकपडासहित कोहरलपुर पुगेका थिए।  

कर्णालीका जाजरकोट, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिमलगायतका जिल्लाका सर्वसाधारण कोहलपुर पुगेका थिए। उनीहरुलाई केही व्यक्तिहरुले जग्गा पाइन्छ भन्दै प्रलोभन देखाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। करिब एक हजार पाँच सय व्यक्ति पहाडबाट बाँके झरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। तिमध्ये अन्दाजी चार सयभन्दा बढीलाई घर फिर्ता पठाइएको डिएसपी तिवारीले जनाए। ‘कोहलपुर जाने। त्यहाँ सार्वजनिक जग्गा हडेपेर बस्ने हो भन्ने अफवाह फैलाइएको रहेछ,’ प्रहरीले भन्यो, ‘फाराम भर्नका लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ लाग्नेसमेत भनिएको रहेछ।’ पछिल्लो समय तराईका जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने र पैसा असुल्ने गिरोह सक्रिय छ। अहिले सार्वजनिक जग्गा कब्जा गराएर बस्ती बसाउने र बस्तीमा बसेका प्रतिपरिवारबाट केही रकम असुल्ने गिरोह सक्रिय भएको बताइएको छ।

 

मंगलबार राति पितमारीको जंगलमा आश्रय लिएका सर्वसाधारणहरु। तस्विरः नागरिक

 

 

प्रकाशित: ३० चैत्र २०७९ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App