२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारत भ्रमणमा जाँदा हवाई रुटबारे कुरा गर्छु: प्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे तीन महिना बितिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस १७ गते विमानस्थलको उद्घाटन गरेका थिए। दाहालले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलले समग्र आर्थिक विकास गर्ने र विमानस्थल निर्माण गर्नु सबैको सपना भएको त्यो बेला बताएका थिए।

प्रधानमन्त्री दाहालले उद्घाटन गरेको त्यो विमानस्थलबाट तत्कालै अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा पर्यटन व्यावसायीले राखेका थिए तर, व्यवसायीको त्यो अपेक्षा साढे तीनमहिना बित्नै लाग्दा पनि पूरा भएको छैन। अन्तर्राष्ट्रिय उडानको त्यही अपेक्षा पूरा गराउन माग गर्दै पोखरेली पर्यटन व्यवसायीले प्रधानमन्त्रीलाई नै गुहारेका छन्। व्यवसायीले जतिसक्दो छिटो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी पहल गरिदिन समेत आग्रह गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने व्यवस्था छिटो गराइदिन उनीहरूको माग छ।

व्यवसायीले मागपत्र पेश गरेपछि प्रधानमन्त्री दाहालले आफूभारत भ्रमण जाने क्रममा हवाई रुटबारे कुरा गर्ने वचन दिएका छन्। प्रधानमन्त्री दाहाललाई भेट्न पुगेको टिममा रहेका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीका अनुसार भारत भ्रमणको क्रममा हवाई रुटबारे प्रस्ताव राख्ने आश्वासन व्यवसायीलाई प्रधानमन्त्रीले दिएका छन्। ‘म भारत भ्रमणमा जाने बेलामा हवाई रुटबारे कुरा गर्नेछु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मुल्मीले भने।

त्यो बेला मुल्मीले प्रधानमन्त्रीलाई हवाई रुटमा परेको समस्या र नयाँ मार्गबारे प्रस्ताव राख्न पनि सुुझाएका थिए। मुल्मीका अनुसार अहिले सुरक्षाको कारण देखाउँदै भारतले गोरखपुरको आकाशबाट हवाई रुट दिन मानेको छैन तर गोरखपुरबाट ११० किलोमिटर पश्चिममा पर्ने कपिलवस्तुको कृष्णनगरको बणनी नाकाको आकाशबाट हवाई रुट दिन सक्ने अवस्था भएमा पहल गरिदिन मुल्मीले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। मुल्मीको प्रस्तावपछि प्रधानमन्त्री दाहालले नयाँ रुटबारे सम्भावना भए नभएको बुझ्ने जवाफ दिएका थिए।

त्यसबाहेक पर्यटन क्षेत्रलाई चलायमान बनाउन आक्रामक रूपमा बजारीकरण गर्न जरुरी रहेको भन्दै व्यवसायीले सुुझाएका थिए। ‘लगानी निरुत्साहित गर्नु भएन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं। नेपाली पर्यटन बजारको बजारीकरण आक्रामक रूपमा भएको छैन। आक्रमक तवरले प्रवर्द्धनात्मक गतिविधि नभएसम्म पर्यटन चल्दैन भनेर हामीले भनेका छौं,’ मुल्मीले भने, ‘थोरै पैसामा धेरै गन्तव्य घुम्न पाइने देश नेपाल हो तर पर्यटकलाई नेपाल भित्रिन महँगो पर्ने भएकाले पर्यटकले चाहेर पनि आउन सकेका छैनन्। त्यसैले पोखराबाट भारत र चीनका सहरसम्म उडान गर्नका लागि पनि व्यवसायीले प्रस्ताव गरेका छौं।’  

प्रकाशित: २९ चैत्र २०७९ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App