फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले आइतबार बिहान ३ः४५ बजे मोरक्कोको सामना गर्दैछ। ब्राजिलले आफ्नो पहिलो खेलमा नेयमारलाई गुमाउने म्यानेजर कार्लो एन्सेलोटीले पुष्टि गरे।
३४ वर्षीय नेयमार काल्फ इन्जुरीसँग संघर्ष गरिरहेका छन्। उनी अझै पूर्ण प्रशिक्षणमा फर्किएका छैनन्।
बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका पूर्व फरवार्ड समेत रहेका नेयमारले अर्को हप्ताबाट टोलीसँग प्रशिक्षण सुरु गर्ने म्यानेजर एन्सेलोटीले बताए।
उनले जुन २० मा हाइटीविरुद्धको दोस्रो खेल पनि खेल्ने नखेल्नेमा शंका उत्पन्न भएको छ। ब्राजिलले जुन २४ मा स्कटल्याण्डविरुद्धको खेल खेलेर आफ्नो समूह चरणको खेल समाप्त गर्नेछ।
एन्सेलोटीले नेयमारले सकेसम्म चाँडो निको हुन धेरै मेहनत गरिरहेका बताए उनले भने,‘आशा छ कि उनी अर्को हप्ता निको भएर समूहमा पुनः सामेल हुनेछन्। उनलाई उनको प्राविधिक गुणस्तरको लागि मात्र होइन, तर उनको अनुभव र यस समूहका युवा खेलाडीहरूका लागि उनले स्थापित गर्न सक्ने उदाहरणको लागि पनि बोलाउँछौं।’
चोटपटकसँग संघर्ष गरिरहेका नेयमारले २०२३ देखि सेलेकाओका लागि खेलेका छैनन् तर चेल्सीका स्ट्राइकर जोआओ पेड्रो र टोटनह्यामका फरवार्ड रिचार्लिसनलाई पछि पार्दै विश्वकपको लागि छनोट भएका थिए।
उनले १२८ खेलमा ७९ गोल गरेका छन् र पेलेको कुल ७७ गोललाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता हुन्।
नेयमारले २०१४, २०१८ र २०२२ का प्रतियोगिताहरूमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका छन्। यसपालीको विश्वकपमा पनि उनी मैदानमा देखिने आशा गरिएको छ।
प्रकाशित: ३० जेष्ठ २०८३ १३:५२ शनिबार





