६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सीमाक्षेत्रबाट काठ तस्करीको बिगबिगी

वडा प्रहरी कार्यालयले बुधबार बरामद गरेको अवैध चिरान काठ ।

नेपालगन्ज–भारतीय सीमा क्षेत्रबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको सालको काठ बुधबार बिहान नेपालगन्ज–२७ गंगापुरैयामा प्रहरीले फेला पार्यो। काठ तस्करी गरेर लुकाई राखेको भन्ने सूचना पाएपछि बिहान ३ बजेतिर पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले स्थानीय बृजलाल लोनियाको घरमा छापा मार्यो र ९३ थान सालको चिरान कडी, ३ थान गोलिया बरामद गर्यो।

गोप्य सूचनाका आधारमा अर्का रामप्रित लोनियाको घरमा पनि छापा मार्यो । त्यहाँबाट पनि ४० थान कडी र दर्जनौं झ्यालका फ्रेम बरामद गर्न सफल भयो। काठ तस्करीको अभियोगमा प्रहरीले रामप्रितलाई पक्राउ गरेको छ, भने बृजलाल र जब्बर भन्ने व्यक्ति फरार भएको घटनास्थलमा खटिएका वडा प्रहरी निरीक्षक राजेन्द्र गौतमले बताए । ‘यी काठ सीमावर्ती क्षेत्रबाट नै तस्करी गरेर ल्याएको देखिन्छ,’ गौतमले भने।

यसअघि मंगलबार मात्र नेपालगन्ज–१७ बुलबुलियास्थित खाँ सःमिलमा विक्री गर्न ल्याएको ठुलो परिमाणको काठ बरामद गरिएको थियो। सो काठ पनि जिल्लाको सीमावर्ती गाविस हिरमिनियाबाट तस्करले ल्याएको खुलेको छ। अवैध काठ ओसार्ने कार्यमा प्रत्यक्ष संलग्न हिरमिनिया–७ का १९ वर्षीय शनि शेख, मिलका म्यानेजर माताप्रसाद गोरिया र चौकीदार ६० वर्षीया बराती गोडिया पक्राउ परेपनि २० वर्षीय वकिल बेहना, सोही ठाउँका वर्षाती बेहना, लेङ्गड बेहना, टक्कल बेहना, छोड्के बेहना, पप्लिङ बेहना र कन्छेद बेहना फरार छन्।

उनीहरु लामो समयदेखि सीमावर्ती क्षेत्रबाट काठ तस्करी गर्ने काममा संलग्न रहदै आएको अनुसन्धानबाट खुलेको छ । उनीहरुले नेपालगन्ज–१७ बुलबुलियामा सञ्चालित काठ व्यवसायी दिलिप खड्काको डि.के फर्निचर र सत्तार खाँको खान सःमिलमा दुई नम्वरी काठ बिक्री गर्दै आएका थिए। तस्करको साथबाट प्रहरीले सालको चिरान कडी ८ थान, विभिन्न साईजको गोलिया २ थान, भारतीय नम्वर युपी ४० एफ ११४७, युपी ४३ जे ९९९७ र युपी ४० के ७८७२ नम्वरको पल्सर मोटरसाइकल बरामद गरेको छ। ‘सीमावर्ती भारतीय जंगलमा रुख काटेर नेपालगन्ज ल्याई काठ मिललाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले भने। नेपालगन्जमा काठ भित्र्याउन तस्करहरुले विभिन्न समूह बनाएको पाइएको छ।

प्रहरीका अनुसार छोडके बेहना, पप्लिङ बेहना र कन्छेद बेहनाले सीमा सम्म ल्याएर प्रति क्यू फिट २५ सय रुपैयाँका दरले काठ ओसार पोसार गर्ने गरेको र शनि शेख लगायतले मोटरसाइकलमा बोकेर नेपालगन्जस्थित खान सःमिल र डि.के. फर्निचर उद्योगमा प्रति क्यू फिट ३५ सयका दरले बिक्री गर्ने गरेको तथ्य खुलेको छ ।
दुई दिनको फरकमा भएका यी दुई घटनाले सीमावर्ती क्षेत्रबाट अवैध रुपमा काठ तस्करी हुने क्रम बढेको कुरालाई पुष्टि गरेको छ। तस्करले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई प्रभावमा पारेर काठ सहजै नेपालगन्ज पुर्याउन सफल भएको देखिन्छ । सिमा क्षेत्रबाट काठ तस्करी हुने गरेको घटना नयाँ भने होइन् । यसअघि पनि पटक–पटक घटना सार्वजनिक भइसकेका छन् । तस्करी नियन्त्रणमा सफलता भने प्राप्त भएको छैन।

अघिल्लो साता भारतीय सीमावर्ती क्षेत्र हुदै खजुरातर्फ ल्याउँदै गरेको अवैध सालको चिरान काठ बाँकेको उढरापुरबाट प्रहरीले बरामद गर्यो । काठ प्रकरणको लामो अनुसन्धानपछि प्रहरीले जिल्ला वन कार्यालयमा ५६ क्यू फिट काठसहित तस्करीमा संलग्न साहदत अलि अन्सारीलाई बुझायो । तस्करीमा उढरापुरकै डिल्ले अन्सारी, साहदत अलि अन्सारी र पौवा भन्ने अकबर अलिको संलग्नतालाई अहिले खुलाएको छ। उनीहरु अहिले फरार छन् । तस्करहरुले भारतीय सिमा क्षेत्रबाट काठ तस्करी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सीमा क्षेत्रबाट काठ तस्करी बढ्नुमा भारतीय र नेपाली सुरक्षाकर्मीबीच कमजोरी भएको जिल्ला वन अधिकृत पुष्पराज बर्तौला आफैं अन्यौलमा छन्। ‘सीमावर्ती क्षेत्रबाट तस्करी भएर आउने जतिपनि काठ भारतीय जंगलको हो,’ उनले भने, ‘सीमाक्षेत्रमा भारतीय एसएसबी तैनाथ छ, यतातिर पनि नेपाली सुरक्षाकर्मी छन, तरपनि काठ तस्करी कसरी भइरहेको छ।’

उनका अनुसार बाँकेको ६२ हजार हेक्टर वन क्षेत्रफल बाँके राष्ट्रिय निकुन्जमा गाभिएको छ, भने वन कार्यालयको कार्यक्षेत्रमा अब ५८ हजार हेक्टर जंगल छ । ‘नेपालको वनबाट तस्करले त्यति सजिलो गरी काठ तस्करी गर्न पाउँदैनन, त्यसकारण सिमा क्षेत्रमा उनीहरु सक्रिय छन,’ बर्तौलाले थपे । सीमावर्ती भारतीय वन अधिकारीसँगको बैठकमा पटक–पटक आफूले यस विषयमा ध्यानाकर्षण गराइसकेको र उनीहरुले एसएसबीसँग त्यति सहयोग नपाएको गुनासो गर्ने गरेको उनले बताए ।

सीमाक्षेत्रबाट बढेको तस्करीविरुद्ध प्रहरीले गहिरो अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले काठ तस्करीको सञ्जाल चाडै पहिचान गरी सार्वजनिक गर्ने अभियानमा आफु लागेको बताए । ‘कसैले व्यक्तिगत लाभका निम्ति तस्करीमा सहयोग गरेको होला, तर संस्थाले त्यस्तो गलत काम गर्न सक्दैन,’ राईले भने ‘हामी चाडै निस्कर्षमा पुग्छौं ।’

प्रकाशित: २० पुस २०७३ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App