१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सोमबारदेखि सुरु हुँंदै छ। भक्तपुर नगरपालिका-५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ सोमबार दिउँसो तानेसँगै आठ रात नौ दिन लामो बिस्का जात्रा सुरु हुने छ। नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट बनाइएको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।

रथलाई दुवैतिर डोरीले तानेर जात्रा सुरु गरिन्छ। एकातिर ६ वटा र अर्कातिर चारवटा मोटामोटा डोरी राखेर हजारौं युवा रथ तान्ने गर्दछन्। जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात् देवता (रथ) तल सवारी हुने भनिन्छ। जात्राको पहिलो दिन रथलाई नगरको तल्लो टोलतिर लाने परम्परा रहेकाले पहिलो दिनलाई द्य क्व विज्याइगू भनिन्छ। त्यसकारण त्यो दिन त्यो साइटमा ६ वटा र अर्काे साइटमा चारवटा मात्रै डोरी राख्ने गरिन्छ।

एकातिर मात्रै डोरी राखेर तान्दा कहींकतै अड्किएर फर्काउनुपर्‍यो भने समस्या हुने भएकाले दुवैतिर डोरी राखेर तान्ने गरिन्छ। भक्तपुरको पाँचतले मन्दिर क्षेत्रलाई भक्तपुर नगरको बीच भाग मानिन्छ। गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख खिमा ओलीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइन्। जात्रालाई हर्षाेल्लास रूपमा मनाउन दिउँसोबाटै रथ तान्ने क्रम सुरु गरी साँझसम्ममा सकाउने योजना रहेको उनले सुनाइन्।

भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतले मन्दिरअगाडि नै रहेको यही भैरवनाथ रथलाई तानेर सम्पन्न हुने गर्दछ। यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ। यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात् देवता (रथ) माथि सवारी हुने भनिन्छ। यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चारवटा मात्रै डोरी राखिन्छ। भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। साथै मध्यपुर थिमिमा मनाइने जिब्रो छेड्ने जात्रा पनि उत्तिकै प्रख्यात छ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरका रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए। तर, उपत्यकाको राजनीतिक विखण्डन लगायत विसं १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक-प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। तर,अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे लगायतबाट सयौं मानिस आउने गर्दछन्।

प्रकाशित: २७ चैत्र २०७९ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App