३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

चक्रपथभित्रै तत्कालै पाइपलाइन नबिछ्याइने

काठमाडौं- चक्रपथभित्रका केही ठाउँमा मेलम्ची खानेपानी वितरणका लागि तत्कालै नयाँ सञ्जाल नबन्ने भएको छ। बजेट अभावमा पाइपलाइन बिछ्याउन समस्या भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

चक्रपथभित्रका महाराजगन्ज, सामाखुसी, स्वयम्भू क्षेत्र र चक्रपथबाहिरका जोरपाटी, तीनचुलो, बौद्ध, आरुबारी, सरस्वतीनगर, कपन, सुकेधारा गल्फुटार लगायत क्षेत्रमा खानेपानी पाइपलाइन तथा वितरण प्रणालीको अहिलेसम्म कुनै तयारी गरिएको छैन।

०७४ असोजभित्रै राजधानीवासीलाई मेलम्ची पानी वितरण गर्ने लक्ष्यसाथ धमाधम पाइपलाइन बिछ्याउने कार्य भइरहेको छ। चक्रपथभित्र र बाहिरका केही स्थानमा भने तत्कालै नयाँ वितरण प्रणाली जडान गर्न नसक्ने आयोजना कार्यान्वयन निर्देशनालय प्रवक्ता लीलाप्रसाद ढकालले बताएका छन्। 'चक्रपथभित्रका र बाहिरका एरियामा पाइपलाइन विस्तारको सर्भे र डिजाइन गरिसकेका छौँ,' उनले भने, 'बजेट अभावले नै ठेक्का प्रक्रिया अघि बढ्न नसकेको हो।'

स्वयम्भूका स्थानीय रामहरि श्रेष्ठले स्वयम्भू लगायत क्षेत्रमा खानेपानीको नयाँ पाइपलाइन विस्तारमा बेवास्ता गरेको बताएका छन्। 'यहाँ पानीको हाहाकार छ। अझै पाइपलाइन विस्तारको योजना बन्न सकेको छैन,' उनले भने, 'मेलम्चीको पानी सबैले एकै साथ पाउनुपर्छ। कतै वितरण गर्ने, कतै वितरण नगर्ने गर्नुभएन।'

चक्रपथभित्रका एरियामा खानेपानी पाइपलाइन बिछ्याउन नेपाल सरकार र एसियाली डेभलपमेन्ट बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ। उक्त एरियामा पाइपलाइन विस्तारका लागि तीन सय मिलियन खर्च लाग्ने बताएका छन्।

नयाँ वितरण प्रणाली नबनेका एरियामा पुरानै वितरण प्रणालीमार्फत घरघरमा खानेपानी पुर्‍याउने लक्ष्य राखेको प्रवक्ता ढकालले बताए।

'नयाँ वितरण प्रणाली नभएका क्षेत्रमा पुरानै प्रणालीबाट वितरण गर्नेछौँ,' उनले भने, 'छिटो नयाँ सञ्जाल विस्तार गर्ने योजनामा छौँ।'

जोरपाटी, तीनचुली, बौद्ध आरुबारी, सरस्वतीनगर, कपन, सुकेधारा, गल्फुटार क्षेत्रमा छिटै नयाँ ठेक्का प्रक्रियाअनुसार काम थाल्ने निर्देशनालयले जनाएको छ।

काठमाडौं उपत्यकाका ३५ हजार घरधुरीमा धारा जडान गरिसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। आगामी असारसम्म ८६ हजार घरधुरीमा खानेपानीको धारा  जडान गर्ने लक्ष्य राखेको छ। काठमाडौं उपत्यकामा हालसम्म चार सय ७० किलोमिटर सडकमा पाइप बिछ्याइसकेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: १९ पुस २०७३ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App