१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

बाकसमा फर्कंदा पनि दलालकै घेरा

वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ। यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ। तर यस विषयमा राज्य बेखबर छ। देशभित्र रोजगारी नपाउँदा युवाहरू दलालको सहयोगमा विदेश भासिन्छन्। वैदेशिक रोजगारीमा जाने युवाको दर जसरी बढिरहेको छ, त्यसैगरी वैदेशिक रोजगारीमा रहँदा मृत्युवरण गर्ने युवाको संख्या पनि उकालो चढिरहेको छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन औसतमा तीनवटा युवाको शव बन्द बाकसमा फर्किन्छन्। बाकसमा फर्किएका ती अभागी युवाका शवहरूलाई पनि दलाली आँखाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोजिरहेका हुन्छन्। विदेशको भूमिबाट जब शव बाकसमा बन्द भएर नेपाल ल्याउन ‘लोड’ गरिन्छ, यहाँ दलालहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसक्छन्।  

उल्लिखित तथ्य बनावटी होइन। वैदेशिक रोजगारीमा रहेका युवाको मृत्यु हुँदा परिवारलाई प्राप्त हुने रकमको लोभमा दलालहरूले संगठित गिरोह नै सञ्चालन गरेको भनी प्रहरीले गरेको खुलासाबाट त्यसको पुष्टि हुन्छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यस्तो तथ्यको खुलासा गरेको हो। पत्रकार सम्मेलनमा उक्त संगठित गिरोहका नाइकेसहित ६ जनालाई सार्वजनिकसमेत गरिएको छ। पक्राउ परेका गिरोह नाइके रोशी गाउँपालिका–१२ काभ्रेपलाञ्चोकका ४१ वर्षीय रामबहादुर तामाङ हुन्। उनका सहयोगी रहेका लालबन्दी नगरपालिका–८ सर्लाहीका ३४ वर्षीय विनोदकुमार लामा, सोही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाही हरिवन नगरपालिका–२ का ३९ वर्षीय रुद्रमान गोलेलाई पनि प्रहरीले सार्वजनिक गरेको छ।  

बिमा रकममाथि दलाली नजर  

बाकसमा फर्किने शवसँग दलालहरूको स्वार्थ जोडिने कारण बिमा रकम रहेको प्रहरी अनुसन्धानले देखाएको छ। ‘वैदेशिक रोजगा रीमा गएको व्यक्तिको जीवन बिमा हुने र सोही बेला मृत्यु भए सोही बिमाबापत १३ लाखदेखि २१ लाखसम्म परिवारले पाउने व्यवस्था रहेछ,’ अपराध अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोजकुमार केसीले भने, ‘त्यही रकममा यो गिरोहको स्वार्थ जोडिएको पाइएको छ। बिमा रकम लिन सहयोग गरेजस्तो गरेर आधाभन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा देखिएको छ।’

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिँदा नै अनिवार्य बिमाको व्यवस्था गरेको छ। जुन दुई प्रकारले हुन सक्ने व्यवस्था छ। पहिलो, बिमा श्रम स्वीकृति लिने व्यक्ति आफैंले गर्नुपर्छ। ‘नेपालको जुनसुकै जीवन बिमा कम्पनीमा ३ हजार ५ सय रकम तिरेर आवधिक जीवन बिमा गर्नुपर्छ,’ वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले भने, ‘त्यो बिमा गरेको अभिलेख पेस गरेपछि मात्रै श्रम स्वीकृति पाइन्छ।’ यो बिमा साढे दुई वर्षका लागि हुन्छ। त्यो समयभित्र बिमित व्यक्ति श्रमिक भिसामा विदेशमा रहेका बेला मृत्यु भए १४ लाख रूपैयाँ परिवारले पाउँछन्। श्रमिक भिसा लिएकै बेला कुनै कामविशेषले नेपाल आएका बेला मृत्यु भए पनि मृतक परिवारले १३ लाख रूपैयाँ पाउने व्यवस्था छ।

यस्तै अर्को बिमा वैदेशिक रोजगारीमा लैजाने राम्रा कम्पनीहरूले आफैं गरिदिन्छन्। ‘राम्रा कम्पनीले कार्यस्थलमा हुने जोखिम न्यूनीकरणका लागि आफंै गरिदिन्छन्। यद्यपि सबैमा यो व्यवस्था नहुन सक्छ,’ बोर्डका सूचना अधिकारी पौडेलले भने। यता श्रम स्वीकृति लिँदा नै वैदेशिक रोजगार बोर्डले कल्याणकारी कोषको पनि अनिवार्य व्यवस्था गरेको छ। जसबाट पनि मृतकका परिवारले ७ लाखसम्म पाउँछन्। ‘बोर्डले श्रम स्वीकृति लिँदा अन्य मुलुकका लागि १५ सय र कोरियाका लागि २५ सय लिएर कल्याणकारी कोषमा जम्मा गर्छ,’ बोर्डका सूचना अधिकारी पौडेलले भने, ‘जसको अवधि अन्य मुलुकको हकमा तीन वर्ष र कोरियाका लागि चार वर्षसम्मको हुन्छ।’ यद्यपि श्रम स्वीकृति भने अन्यमा दुई र कोरियामा तीन वर्षसम्मको दिने बोर्डको प्रावधान छ। ‘श्रम स्वीकृति सकिएको थप एक वर्षसम्म कल्याणकारी कोषबाट भुक्तानी दिन सक्ने व्यवस्था छ,’ पौडेलले भने।  

यसरी कल्याणकारी कोषमा सहभागी व्यक्तिको तोकिएको अवधिमा मृत्यु भए ७ लाख रूपैयाँ मृतकको परिवारले पाउँछन्। यस्तै मृतकका सन्तानले १२ कक्षासम्मको अध्ययनमा वार्षिक १२ हजार पढाइ खर्च पाउँछन्। यस्तै कोषमा सहभागी भएको व्यक्ति घाइते वा बिरामी भए बढीमा ७ लाखसम्मको उपचार खर्च र परिवारका सदस्यको समेत ५० हजारसम्मको उपचार खर्चको व्यवस्था बोर्डले बेहोर्छ। ‘कोषको सुविधा लिन पनि श्रम स्वीकृति लिएको व्यक्ति श्रमिक भिसामा गएको हुनुपर्छ, यस्तै नेपालकै एयरपोर्ट प्रयोग गरेर गएको हुनुपर्छ,’ बोर्डका सूचना अधिकारी पौडेलले भने। श्रम स्वीकृति म्याद गुज्रिएर वर्षौं भइसकेको व्यक्तिका हकमा भने २५ हजार किरिया खर्चबाहेकको यति सुविधा नहुने उनले बताए। वैदेशिक रोजगारीमा मृत्यु भएर बाकसमा फर्किएका शवको हकमा यिनै बिमा रकम र कल्याणकारी कोषबाट पाउने रकम मृतकको परिवारबाट ठगी गर्दै हत्याउने धन्दाका लागि गिरोह सञ्चालनमा रहेको पाइएको प्रहरी अनुसन्धानले देखाएको हो।

अज्ञानता नै हतियार  

वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारको अज्ञानतालाई नै यो गिरोहले हतियार बनाउने गरेको प्रहरीले जनाएको छ। विशेषगरी मधेसी समुदायका मृतकका परिवार यसमा बढी ठगीमा पर्ने गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘यो समूहले परिवारको अज्ञानता, बिमासम्बन्धी जानकारी अभावलाई नै हतियार बनाएको देखिएको छ,’ एसएसपी केसीले भने, ‘अक्सर अनपढ, नजान्ने र बिमासम्बन्धी जानकारी नै नहुने मधेसी समुदायमा बढी फाइदा उठाएको देखिएको छ।’ शव विमानस्थलमा ओरालिएपछि दलालहरू मृतकका परिवारका सदस्यकहाँ पुग्ने, उनीहरूको संवेदनाअनुसार अभिनय गरेर निकटता बढाउने, उनीहरू जानकारीको स्तर पत्ता लगाएर सोहीअनुसार आफ्नो रणनीति तयार गरी कदम अगाडि चाल्ने गरेको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ।  

‘यसमा बिमासम्बन्धी जानकारी नभएकालाई रकम दिलाउँछौं भनेर लोभ्याउने, प्रहरीलाई थाहा दिए वा अरूलाई भने काम नहुने भनेर तर्साउनेसम्मका गतिविधि गर्ने गरिएको पाइएको छ,’ एसएसपी केसीले भने, ‘त्यसपछि परिवारसँगै घरसम्म पुग्ने, आवश्यक कागजात आफैंले जुटाउने, त्यहाँबाट काठमाडौं ल्याउने, होटलमा राखेर कसैको सम्पर्कमा जान नदिई रकम हात पारेपछि फर्काउने गरेका रहेछन्।’ यसरी पाउने रकममा मृतकका परिवारलाई ४ देखि ५ लाखसम्म दिएर बाँकी रकम आफैं कुम्लायाउने गरेको पाइएको उनले बताए। ‘मृतकका परिवारलाई त कति पाइन्छ भन्ने थाहा नै हुने भएन। कागजात र बैंक चेकसम्म कब्जा गरेर राखेका हुँदा रहेछन्। भुक्तानी आइसकेपछि आफूखुसी ४ देखि ५ लाखसम्म दिएर बाँकी रकम आफूले राख्ने गरेको पाइएको छ,’ एसएसपी केसीले भने।

बोर्डका कर्मचारीको मिलेमतो!

यस्तो कार्यमा संस्थागत गिरोह नै देखिएको प्रहरी अनुसन्धानले देखाएको छ। गिरोहका नाइके रामबहादुर तामाङ बसपार्कको एक होटलमा स्थायीजस्तै बसिरहेको एसएसपी केसीले बताए। उनीसँगै होटलकै कोठाबाट ३५ वटा डकुमेन्टसमेत फेला परेको छ। पक्राउ परेका अन्य पाँचजना तामाङकै सहयोगीका रूपमा एयरपोर्टदेखि तराईसम्म पुगेर मृतकका परिवारसँग योजनाअनुसार काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ। यो कार्यमा मृतकको शव आउन लागेकोबारे सो गिरोहलाई बोर्डमै कार्यरत कर्मचारीले सूचना दिने गरेको प्रहरीको आशंका छ। सोही आशंकाका आधारमा बोर्डमा कार्यरत नायब सुब्बा स्तरका कम्युटर अपरेटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गोप्य सूचनाकै आधारमा खोजी गर्दै जाँदा यो तथ्य र गिरोह फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७९ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App