१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा बाढीकाे पूर्व सूचना दिने प्रणाली जडान

जिल्ला प्रशासन कार्यालय रौतहटमा बाढीको पूर्व चेतावनी दिने सूचना प्रणाली जडान गरिएको छ।

वर्षा र बाढीको समयमा बाढीबाट हुन सक्ने मानवीय र गैर मानवीय क्षति कम गर्न रौतहटको गौर स्थित जिल्ला प्रशासन कार्यालयमा बाढीबाट जोगिन पूर्व चेतावनी प्रणाली (साइरन) जडान गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी गराएका छन्।

माण्डवी संस्थाको पहलमा इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसिमोड) ले जिल्ला प्रशासन कार्यालय गौरको भवनको छतमा बाढी पूर्व चेतावनी प्रणाली (साईरन) जडान गरिदिएको हो। साईरन बजेको एक किलोमिटर सम्म सुन्न सकिन्छ। हरेक वर्ष वर्षाको समयमा डुबानबाट ठुलो क्षति ब्यहोर्दै आएको रौतहट सदरमुकामवासीको लागि पूर्व चेतावनी प्रणाली (साईरन) जडान भएपछि सचेत हुन फाइदा हुने देखिएको छ।

पानी जोखिम व्यवस्थापन, जलवायु र वातावरणीय जोखिम न्यूनीकरण गर्ने कार्यमा काम गर्दै आएको ईसिमोडले बाराको लालबकैया नदीमा बाढी मापन यन्त्र र त्यही रहेको सशस्त्र प्रहरीको क्याम्पमा पूर्व सूचना प्रणाली (साईरन) जडान गरिसकेको छ। बाराको निजगढ नगरपालिका ३ धन्सार खोलाका वर्षा मापन गर्न यन्त्र जडान भइसकेको छ। लालबकैयामा पनि बाढी नाप्ने यन्त्र पनि जडान गरिएको छ। यसले चुरे क्षेत्रबाट बग्ने पानीको मात्रा रेकर्ड गर्छ।

सदरमुकाम गौरमा कटहरिया, परोहा, गौर, मौलापुर, बौधीमाई, फतुवा विजयपुर लगायत बकैया नदीबाट प्रभावित ११ वटा नगरपालिकाका प्रमुखहरुलाई बोलाएर समुदायमा आधारित बाढी पूर्व चेतावनी प्रणाली (साईरन) बारे जानकारी गराइएको छ।

सदरमुकाम गौरका साथै ईशनाथको बन्जाराहा, बौधीमाई, लौकाहा, कहटहरिया क्षेत्र, र बागमती नदीको समनपुर, धरमपुर, लक्ष्मीपुर बाढीको जोखिममा रहेका छन्।

बढी पूर्व सूचना प्रणाली (साइरन) ले बाढीको जानकारी गराएपछि सर्वसाधारणलाई सचेत हुन सहयोग पुग्ने गौरका नगर प्रमुख शम्भु साहको भनाइ छ।

पूर्व जानकारी भएपछि सचेत हुने समय पाइने भएकोले जनधनको क्षतिबाट जोगिन साइरनको महत्त्वपूर्ण भूमिका हुने नगर प्रमुख साहको भनाइ रहेको छ।

प्रकाशित: १७ चैत्र २०७९ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App