१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

खोटाङका आधा दर्जन वन समूहमा डढेलो: जोखिममा बस्तीहरु

खोटाङको चौतारा सामुदायिक वनमा लागेको डढेलो । तस्विरः महेश्वर

खोटाङका हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न आधा दर्जन बढी सामुदायिक वन समूहको जंगलमा ३ दिनयता लागेको डढेलो नियन्त्रणबाहिर गईसकेको स्थानीयले बताएका छन्।

सोमबार रातिदेखि लागेको डढेलोले खानेपानी पाइप जलाउनुका साथै आधा दर्जन मानव बस्तीहरुसमेत जोखिममा पारेको छ।

हतुनपाका विभिन्न ७ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न नसक्दा पाइप जलाउनुका साथै बस्तीसमेतलाई जोखिम हुँदै गएको स्थानीयले बताएका छन्।

स्थानीय मञ्जु राईका अनुसार नगरपालिका ८ को चौतारा सामुदायिक वनबाट ३ दिनअघि लागेको डढेलोले सोही वडाको स्थानीय भालु खोलाबाट गाउँतर्फ ल्याइएको खानेपानी योजनाको झण्डै २ हजार मिटर पाइप जलाएर नष्ट गरेको छ।

धितुङबासीका लागि सञ्चालित खानेपानी योजनाको तीनसल्ले–जयभद्रे खण्डको पाइप डढेलोले जलाएर क्षति पुगेको उनले बताईन्।

प्रत्यक्षदर्शी स्थानीय उपभोक्ताका अनुसार डढेलाले पाइप जलाएपछि खानेपानीको हाहाकार हुन थालेको छ। चुना मिसिएको पानी भएकाले बेलाबेलामा टक्टक्याउन भनेर माटोमुनि नबिछ्याई बाहिरै छाडिएको पाइप डढेलोले जजाएको हो। अहिलेसम्म पाइपमा मात्र क्षति गरेको डढेलो नियन्त्रणबाहिर गइसकेकाले आसपासका ४–५ गाउँ बस्ती जोखिममा परेका छन्। चौतारा जङ्गलको डढेलोले मान्छे बस्न छाडेको एउटा रित्तो घरसमेत जलाएको छ।

त्यो सँगै आसपासका जयभद्रे, तीनसल्ले, हात्ती आहाल, रातेखोला र चिचिरा बस्तीका झण्डै ५० घरधुरी स्थानीयलाई जोखिममा परेको छ। जयभद्रेमा ४ घरधुरी बसोबास गर्दै आएका छन् भने हात्तीआहालमा ७, तीनसल्लेमा ८, चिचिरामा ११ र रातेखोलामा १७ घरधुरीको बसोबास रहेको छ। डढेलो बस्तीतर्फ आउन थालेपछि स्थानीयहरु असुरक्षित महसुस गर्दै आगो नियन्त्रण गर्न लाग्दा एक जना घाइतेसमेत भएको बताइएको छ।

डढेलो बस्तीतर्फ आउन नदिन स्थानीयवासीले जनप्रतिनिधि गुहार्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। तर, एक जना घाइते भए पनि अरु गाउँलेहरूको टोली बुधबार दिउँसोसम्म लाग्दा पनि डढेलो नियन्त्रण गर्न सफल भएका छैनन्।

चौताराको डढेलोले बस्ती जोखिममा पादै गर्दा यता हतुनपाकै ११ नं. वडामा पर्ने आधा दर्जन वन समूहमा पनि डढेलो सल्केको बताइएको छ। स्थानीयका अनुसार महाकाल सामुदायिक वन, भालुढुंगा, फुस्रेकाल्ला, देब्रेघारी, नमूना र असोजे सामुदायिक वन क्षेत्रमा पनि डढेलो लागेर रुखपात र वन जंगल क्षति भइरहेको छ।

डिभिजन वन कार्यालय खोटाङका अधिकृत जगदिश रेग्मीले भने डढेलो लागेकोबारे आफूलाई जानकारी नभएको बताए। अहिले जिल्लामा डढेलो लागेको भन्ने कुरा आफूलाई कसैले नभनेको भन्दै अब यसबारे बुझ्ने उनले बताए।

‘मलाई पछिल्लो समय डढेलो लागेको कुरा अहिलेसम्म कसैले भनेको छैन, सब-डिभिजन कार्यालयले पनि जानकारी गराएको छैन’ डिएफओ रेग्मीले भने ‘तपाईँले थाहा दिनु भयो, अव के रहेछ म स्थानीय सब-डिभिजन वन कार्यालयसँग बुझेर हो भने नियन्त्रण गर्न जनशक्ति परिचालन गर्छु।’

सब-डिभिजन वन कार्यालय हलेसीका प्रमुख सहायक वन अधिकृत रामसागर मण्डलले केही ठाउँमा डढेलो लागेको पुष्टि गरे पनि मानव बस्ती जोखिम भएको तथा खानेपानीको पाइप जलेको कुराबारे अनविज्ञता प्रकगट गरे। कतैकतै डढेलो लागेको खबर आएको तर, यति धेरै ठाउँमा लागेको कुराबारे थाहा नभएको उनले बताए।

‘हिजो अस्तिसम्म पानी परेकाले डढेलो लाग्नु नपर्ने हो’ उनले भने ‘कतैकतै लागेको भन्ने सुनेको हो तर, मानव बस्ती नै जोखिम हुने गरी लागेको कुरा सुनेको छैन।’ सहायक डिएफओ मण्डलले अहिले पनि हलेसी क्षेत्रलाई बादलले ढाकेको र वर्षा हुने तरखरमा रहे बताए।

डढेलो नियन्त्रण गर्न वन कार्यालयले प्रचार प्रसार र सहजीकरण मात्र गर्ने, बाँकी सबै काम स्थानीयतहहरुले गर्ने भएकाले नगरपालिकासँग समन्वय गरेर अघि बढ्ने मण्डलले बताए।

प्रकाशित: १६ चैत्र २०७९ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App