रुपन्देहीको सुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नं. ७ का वडाध्यक्ष सहित तीन जनालाई घुस सहित अख्तियारले नियन्त्रणमा लिएको छ।
गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासीनी, सोही गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर ५० हजार घुस रकम सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयले जनाएको छ।
अख्तियारका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार उनीहरू विरुद्ध नदिजन्य पदार्थको उत्खनन सम्बन्धमा घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो। सोही विषयमा अनुसन्धान गर्ने क्रममा तीनै जनालाई घुस रकम लिँदै गर्दा गाउँपालिकाकै चमेना गृहबाट आज बिहान नियन्त्रणमा लिइएको अधिकारीले बताए। थप अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित: १६ चैत्र २०७९ १०:३३ बिहीबार





