coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल

तस्बिर सौजन्य: हिन्दुस्तान टाइम्स (फाइल तस्बिर)

भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउनसक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ। भारतमा छुट्टै राज्य माग गर्दै खालिस्तानको अभियान चलाइरहेका सिंहबारे सुरक्षा निकायले निगरानी गरेसँगै सो विवाद देखिएको हो। भारतले राज्य विप्लव वा विखण्डनकारी अभियोग लगाएपछि नेपालले पनि उनलाई त्यही अपराधीको दृष्टिले हेर्नुपर्ने मत रहेको छ भने अर्कोतर्फ भारतमै आतंक फलाउर्दै नेपाल छिर्ने र तेस्रो मुलुकमा जाने खोज्ने भएकाले अन्तर्राष्ट्रिय आतंकवादीको रूपमा हेर्नुपर्ने मत रहेको छ। अमृतपालविरुद्ध भारतमा ज्यान मार्ने उद्योग, अशान्ति मच्चाएको र कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको तथा राज्य विप्लवको आरोप छ। जसले गर्दा अन्रदेशीय अपराधी र आतंकवादी दुवै हुनसक्ने नेपाली सुरक्षा अधिकारीहरूको दाबी छ।

‘मित्रराष्ट्रले हामीसँग सहयोग मागेको हो सहयोग गर्न हामी तयार रहेका छौं। साथै नेपाल आएर उनी तेस्रो मुलुक गए भने नेपालको सुरक्षा प्रणाली र सुरक्षाकर्मीको गुप्तचरीमाथि ठूलो प्रश्न रहन्छ, त्यसकारण पनि हामीले यो विषयलाई निकै गम्भीरताका साथ हेरिहेका छौं,’ नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत एक उच्च अधिकारीले भने। उनका अनुसार सो ब्युरोको अन्तरदेशीय अपराध र आतंकवाद दुवै सेलले काम गरिरहेको छ।

यता सशस्त्र प्रहरीले पनि यो विषयलाई आफ्नो प्रतिष्ठा बनाएको छ। सशस्त्र प्रहरी महानरिक्षकले इन्टेलिजेन्स ब्युरोका अन्तरदशीय अपराध हेरिरहेका एक उच्च अधिकारीलाई काम नै दिएर खटाएका छन्। जसले गर्दा यो विषयमा सुरक्षा निकायले उच्च निगरानी राखेको छ। गृहमन्त्रालयअन्र्तगत अध्यागमन विभागले पनि क्रमिक निगरानी सुरु गरिसकेको छ। भारतीय दूतवासको आग्रहअनुसार विभागले अमृतपाललाई निगरानी सूचीमा राखेको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए। ‘भारतीय दूतावासले पत्र पठाएको छ त्यहीअनुसार निगरानी राखिएको छ,’ अधिकारीले भने।

 भारतीय सञ्चारमाध्यमले उनी नेपाल छिर्न खोजेको वा छिरिसकेको भन्ने किसिमका समाचारहरू प्रकाशित गरेपछि काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै निगरानी गरिदिन नेपाल सरकारलाई आग्रह गरेको थियो। त्यसअघि नै नेपालका सुरक्षा अधिकारीहरू उच्च सतर्कतामा बसेका थिए। विभागले पनि उनलाई निगरानी सूचीमा राखेको हो।

भारतीय दूतावासले उनी नेपालमा लुकेर बसेको हुनसक्ने आशंका गरेको छ। स्थलमार्ग हुँदै नेपाल छिरेको र नेपालबाट तेस्रो मुलुक जान नक्कली पासपोर्ट प्रयोग गरेर जानसक्ने भएकाले विभागलाई दूतावासले उनको फोटोसमेत उपलब्ध गराएको छ। भारतीय प्रहरीले आफ्नो देशमा फेला पार्न नसकेपछि छिमेकी देश खासगरी नेपालमा आएको भारतीय सुरक्षा अधिकारीहरूको आशंका रहेको छ।

गत शुक्रबार भारतीय सुरक्षा अधिकारीहरूले उनको खोजीका लागि दिल्ली र पञ्जाबमा सर्च अपरेसन चलाएको थियो। साथै नेपाल र भारतका सीमा क्षेत्रमा पनि भारतीय सुरक्षा अधिकारीहरूले निगरानी बढाएका थिए। नेपालका प्रमुख नाकाहरूमा भारतीय खुफिया एजेन्सी र सुरक्षाकर्मीको संयुक्त निगरानी पनि चलेको थियो। तर त्यतिबेला नेपालका सुरक्षा अधिकारीलाई अमृतपालको खोजी गरेको हो भन्ने जानकारी गराइएको थिएन।

भारतमा अमृतपाल सिंहको समूहले छुट्टै खालिस्थान राज्यको माग गर्दै आन्दोलन गरिरहेका छन्। खालिस्तानी कमान्डर अमृतपाल सिंहसहित पाँचजना अन्य समर्थकको नाममा पन्जाब प्रहरीले वारेन्ट जारी गरिसकेको छ। भारतीय सुरक्षा अधिकारीले २३ मार्चमा उत्तर प्रदेशको लखिमपुर खिरीमा देखिएका अमृतपाललाई त्यसपछि प्रहरीले फेला पार्न सकेको छैन। ३० वर्षीय सिंहको नेतृत्वमा भारतमा केहीले अभियान थालेसँगै यसको असर अन्य देशमा पनि देखिएकाले भारत सशंकित बन्दै आएको छ। बेलायतस्थित भारतीय दूतावासमा खालिस्तानी समर्थकले भारतीय झण्डा निकालेर आफ्नो झण्डा राखेका थिए। त्यसलाई भारत सरकारले आपत्ति जनाइसकेको छ।

प्रकाशित: १५ चैत्र २०७९ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App