कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जना भन्दा बढी घाइते भएका छन्।
मंगलबार विराटनगरको महेन्द्र चोकबाट विरोध प्रदर्शन गर्दै गएका प्रदर्शनकारी र प्रहरीबिच विराटनगरको विग होटल अगाडि भएको झडपमा प्रहरी, सशस्त्र प्रहरी र प्रदर्शनकारी गरी ३५ जना भन्दा बढी घाइते भएका हुन्।

झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार प्रदर्शनकारीतर्फ ९ जना घाइते भएको प्रारम्भिक जानकारी आएको भए पनि यकिन विवरण भने आइसकेको छैन। तर, प्रदर्शनकारीहरूले भने २५ जना कार्यकर्ता घाइते भएको र १३ जनलाई विराटनगरको पारस अस्पतालमा प्राथमिक उपचार पछि धरानको घोपामा थप उपचारका लागि पठाएको जनाएका छन्।
घाइते हुनेहरूमा मोरङ ग्रामथान –६ का सुरज राई, सुनसरी धरान १२ का अशोक राई, सुनसरी धरानका उदय लिम्बु, इटहरी ५ का पदम केरुङ, सुनसरी धरान १६ का शिव आङदेम्बे, सुनसरी धरानका ज्ञानप्रकाश राई, धरान ५ का एक के दर्नाल, विशाल राई इटहरी ५ का पद्मलाल लिम्बू, धरान ११ की आस्था राई, इटहरी २ तरहराका रेसम राई, इटहरी ५ का, रोयल राई, इटहरी ८ का विमल किराँतीलगायत रहेको प्रदर्शनमा सहभागी अर्जुन जम्नेली राईले बताए।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन प्रहरीले २९ राउण्ड हवाई फायर, ४४ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।
मंगलबार विराटनगरको विग होटलमा आयोजना गरिएको एक कार्यक्रममा प्रदेश सांसदहरू भेला भएको भन्ने सूचनाका आधारमा प्रदर्शनकारीहरू विग होटलमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबिच दोहोरो झडप भएको थियो। झडपका क्रममा विग होटलको मूल गेट, रेस्टुरेन्टलगायतका संरचनामा प्रदर्शनकारीहरूले तोडफोडसमेत गरेका छन्।
यस अघि चैत ५ गते विराटनगरमै भएको प्रदर्शनका क्रममा घाइते भएका सुनसरी धरानका पदम लिम्बुको चैत १० गते उपचारका क्रममा धरानको घोपामा मृत्यु भएको थियो।
प्रकाशित: १४ चैत्र २०७९ १३:२३ मंगलबार





