४ माघ २०८२ आइतबार
image/svg+xml
समाज

‘सडक बेसहारालाई स्याहार्दाको आनन्द व्यग्लै हुन्छ’

विश्व नेपाली नारी साहित्य महोत्सव

धनगढीमा सञ्चालित विश्व नेपाल नारी साहित्य महोत्सवमा साक्षात्कार गर्दै सामाजिक अभियन्ताहरू। तस्बिर: पुष्पराज जोशी/नागरिक

धनगढी कैलालीकी कल्पना भट्ट, कञ्चनपुर महेन्द्रनगरकी शारदा चन्द र सुनसरीकी सुभद्रा प्याकुरेलको उस्तै जीवन शैली र उस्तै कर्म छ।

बिहान होस् या राति अबेला यी तीनै जना आ–आफ्नो भूगोलमा उही कर्म गरिरहेका छन्। सडक जीवन बिताइरहेका मानसिक रोगीलाई आश्रय दिँदै आएका छन्। उनीहरू तीनै जनाको एकै भाव प्रकट हुन्छ: ‘सडक बेसहारालाई स्याहार्दाको आनन्द व्यग्लै हुन्छ।’

धनगढीमा चार दिनदेखि चलिरहेको विश्व नेपाली नारी साहित्य महोत्सवमा सयौं साहित्यकार तथा दर्शकमाझ ‘अनुराधासँग अनुराधाहरू’ विषयक कार्यक्रममा सञ्चारकर्मी मुकुन्द भण्डारीसँग साक्षात्कार गर्दै धनगढीमा दृष्टि फाउण्डेसन नेपाल नामक सामाजिक संस्था सञ्चालन गरी ६४ जना मानसिक रोगी तथा सडक बेसहारालाई स्याहार्दै आएकी कल्पना भट्टले भनिन्, ‘बेरोजगारी, हिंसा, गरिबी लगायतका कारणले मनोरोगीको संख्या बढ्दै गएका छन्, जुन घर परिवार छोडेर सडकमा जीवन बिताइरहेका छन् भने केही बेसहारा हुन पुगेका छन्।’ ती सडकमा बेसहारा भई जीवन विताइरहेकाहरु देख्ने बित्तिकै आफूले प्रहरी तथा स्थानीयको सहयोग लिएर उद्दार गरी आश्रममा पालन पोषण गर्दै आएकी छिन् कल्पना।

मानसिक अवस्था गुमेका सयौं मानिसलाई स्याहार्दा स्याहार्दै आफ्नो उमेर र समय बितेको पत्तै नपाएको बताउँदै उनले भनिन्, ‘एक घरपरिवारका पाँच/सात जनाको मत त फरक हुन्छ, यहाँ भिन्नभिन्नै ठाउँका मानसिक अवस्था गुमेका व्यक्तिहरुलाई मिलाएर एउटै घरमा परिवार भई बस्न झनै कस्तो कठिन हुन्छ। त्यो त मलाई मात्रै थाहा छ।’

यस्तै कञ्चनपुरमा रहेर महिला तथा वृद्ध सेवा केन्द्र सञ्चालन गर्दै आएकी अधिकारकर्मी शारदा चन्द पनि अहिले ७० जना वृद्ध वृद्धाको स्याहारमा समर्पित छिन्। घरपरिवारले वास्ता नगरेपछि वृद्ध आमा बुबा मानसिक अवस्था गुमाउँदै सडकमा निस्कने गरेको उनले भनिन्, ‘त्यस्तो ज्येष्ठ आमा बुबालाई देख्ने बित्तिकै मन पग्लन्छ, समात्छु र महिला तथा वृद्ध सेवा केन्द्रमा राख्छु।’

उनीहरुको लालन पालनमा समस्या हुने गरे पनि मनकारीहरुले भने अहिलेसम्म सहयोग गर्दै आएको उनले बताइन्।

‘आफ्नो जन्म दिन, आमा बुबाको श्राद्ध तिथि तथा विभिन्न चाड पर्वहरुमा केही मनकारीहरुले खाद्यान्न तथा लत्ता कपडा सहयोग गर्दै आएका छन्,’ उनले भनिन्, ‘त्यहीँबाट अहिलेसम्म जेनतेन वृद्धाश्रम चलिरहेको छ र यहाँ बस्ने ७० जनाको लालनपालन गरिरहेका छौँ।’

आफूले यही आश्रमबाट अहिलेसम्म ५ हजार भन्दा बढी ज्येष्ठ नागरिकको उद्धार तथा पुनर्मिलन गरिसकेको बताइन्।

सुनसरी माया घरकी सुभद्रा प्याकुरेलले पनि १ सय ५४ जना सडक बेसहारा तथा अलपत्र परेका ज्येष्ठ नागरिकको भरणपोषण गर्दै आएकी छिन्। ‘खाना, नाना र छाना नपाएर सडकमा बेसहारा जीवन बिताइरहेकाहरुलाई हामीले आश्रय दिँदै आएका छौँ,’ उनले भनिन्, ‘नेपालका मात्रै नभएर भारतको सिक्किम, दार्जिलिङका बेसहारा नागरिकको उद्धार गरेर पुनर्मिलन पनि गराएका सयौँ उदाहरण हामीसँग छन्।’

भट्ट, चन्द र प्याकुरेलले विश्व नेपाली नारी साहित्य महोत्सवको मञ्चबाट एकै स्वरमा भने, ‘तीन तहको सरकार आए पनि बेसहारा सडक मानवलाई आश्रय दिने तथा उनीहरुको हेरचाह गर्ने न त कार्यक्रम नै छ, न त त्यस क्षेत्रमा निःस्वार्थ भई काम गरिरहेकाहरूलाई हेर्ने दृष्टिकोण नै सकारात्मक छ।’ 

आफूहरू आफ्नो व्यक्तिगत कामले कहीँ कतै जाँदा पनि माग्न आएको जस्तो व्यवहार आम नागरिकले गर्ने गरेको गुनासो तीनै जना सामाजिक अभियन्ताले दुखेसो पोखे।

प्रकाशित: १४ चैत्र २०७९ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App