२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

विकट हिमाली ठाउँमा खुल्दै मालपोत र नापी कार्यालय

सरकारले विकट हिमाली ठाउँमा नयाँ मालपोत कार्यालय तथा नापी कार्यालय खोल्ने निर्णय गरेको छ। मुगु, सोलुखुम्बु, बाजुरा र इलाममा नापी र मालपोत कार्यालय खोल्ने गरिएको हो।

मुगु जिल्लाको रामतडी, सोलुखुम्बुको सोताङ तथा बाजुराको कोल्टी र इलामको फिक्कलमा छुट्टै मालपोत तथा नापी कार्यालय खोल्ने निर्णय गरिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश भट्टले जानकारी दिएका छन्।

‘यो निर्णय कार्यान्वयन गर्न निर्वाचन आचारसंहिता नलाग्ने भए निर्वाचनअघि नै ती ठाउँमा मालपोत तथा नापी कार्यालय खोल्छौं। निर्वाचन आचार संहिता लाग्ने भए निर्वाचन लगत्तै खोल्ने छौं’, प्रवक्ता भट्टले भने, ‘त्यसअनुसार लाग्ने बजेट तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग्दै छौं।’

मन्त्रालयका अनुसार एउटा मालपोत कार्यालय तथा नापी कार्यालयमा कम्तीमा १५ जना कर्मचारी चाहिन्छ। उपत्यकाभित्र रहेका मालपोत तथा नापी कार्यालयमा कम्तीमा ५० जना कर्मचारी चाहिन्छ। हिमाली जिल्लामा कम्तीमा १५ जना कर्मचारी भए पुग्ने मन्त्रालयका कर्मचारीको अनुमान छ।

हिमाली क्षेत्रमा नापी तथा मालपोत कार्यालय खोल्दा त्यस क्षेत्रका जनतालाई राहत पुग्ने मन्त्रालयका एक कर्मचारीले बताए। ‘हिमाली क्षेत्रमा एउटा सानो काम गर्न पनि ६/७ दिन पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता छ। एकपटक सदरमुकाम आउँदा २०/३० हजार रुपैयाँसम्म खर्च हुन्छ। त्यसैले यस्तो समस्याबाट केही भए पनि राहत दिन यस्तो निर्णय गरिएको हो’, ती कर्मचारीका अनुसार कुमार इङनाम भूमि व्यवस्थामन्त्री भएपछि उनको चाहनाअनुसार नै यस्तो निर्णय गरिएको हो।

अहिले देशभर एक सय ३१ वटा मालपोत तथा नापी कार्यालय रहेका छन्। मालपोत कार्यालयहरूमा भने करिब डेढ दर्जन ठाउँमा प्रमुख मालपोत अधिकृत (उपसचिव सरह) कर्मचारी पठाउन मन्त्रालयले सकेको छैन। त्यसैले नयाँ खुलेका हिमाली क्षेत्रमा कर्मचारी पठाउन मन्त्रालय, भूमि व्यवस्थापन विभाग तथा नापी विभागलाई सकस पर्ने देखिएको छ।

भूमि व्यवस्थापनका विभागका अनुसार जेनजी आन्दोलनबाट देशभर २३ वटा मालपोत कार्यालय भवनमा क्षति भएको छ। तीमध्ये पाँचवटा पूर्णरूपमा जलेका छन्। पोखरा, चितवन, घोराही, नेपालगन्ज र विराटनगरका मालपोत कार्यालय रहेका भवन पूर्णरूपमा जलेकाले ती भवनबाट सेवा सञ्चालन गर्ने अवस्था छैन।

ती जिल्लाका मालपोत कार्यालय अन्य ठाउँमा कार्यालय राखी सेवा सञ्चालन भइरहेको छ। पोखरा, चितवन, घोराही, नेपालगन्ज र विराटनगरबाहेक अन्य ठाउँमा आंशिक क्षति भएको छ।

प्रकाशित: ४ माघ २०८२ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App