८ वैशाख २०८१ शनिबार
समाज

एकल पुरुषको मुख्य साहरा 'आँखा' दुई वर्षपछि खुल्यो

बेनी नगरपालिका–९ घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका दियो। दिलबहादुरको दुई वर्ष अगाडी शरीरको महत्त्वपूर्ण अङ्ग आँखाको ज्योति बिस्तारै बन्द हुँदै गए।

दुवै आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म आफन्तको साहारामा पुग्ने पर्ने अवस्था आयो। ७३ वर्षीय भिम बहादुर थापा र ६६ वर्षीय समबहादुर थापा आँखा बन्द भएपछि करिब दुई वर्ष निकै कष्टपूर्ण तरिकाले बिताए। तीनै जना एकल पुरुष हुन्। श्रीमान् र श्रीमती भनेको एक रथका दुई पांग्रा हुन्। जीवनमा सुखः दुखका लागि एकदम आवश्यक भएपनि उनीहरूले पाखुरामा बल हुँदासम्म मजदुरी गरी जीवन बिताए।

समाजमा एकल पुरुष पनि साहराविहीन जस्तै भएको महसुस बुढेसकालमा आँखा नै बन्द भएपछि उनीहरूले महसुस गरेका थिए। म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट दुवै आँखा खुलेपछि वृद्धहरूमा छुट्टै चमक देखिन्छ। आँखा बन्द भएपछि दिन पनि राज जस्तै मानेर विताउनु परेकाहरुकालाई मोतिया विन्दुको शल्यक्रियाले संसारलाई फेरी हेर्न मौका पाएका छन्।

‘अब पकाएर खान सक्छु, मागेर ज्यान पाल्न पनि सक्छु’ वृद्ध दिलबहादुरले भने। उनले आँखा खुलेपछि तन्नेरी महसुस भएको बताउँदै घरायसी काम गर्न सक्ने भएर फर्किएको बताए। ‘अब मैले नयाँ आँखाबाट सबैलाई हेर्न पाउँछु, ‘जीवनको अन्तिम इच्छा पनि पूरा भयो’ वृद्ध भिम बहादुरले भने। उनले आफ्नो साहरा एउटा लौरो र अब आँखा भएको बताए। 

पोखरा व्यावसायिक महिला क्लब र नेत्र ज्योति संघ म्याग्दी शाखाको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा गएको आइतबारदेखि मङ्गलवार (चैत ५ देखि ७) गतेसम्म सञ्चालित निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा लागेको मोतिया विन्दुको सफल शल्यक्रिया गरिएको थियो।

तीमध्ये ३ जना रोगीहरुको दुवै आँखामा मोतिया विन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले बताए। ‘एकल महिला र पुरुषलाई वरदान नै भयो,‘घरमा एक्लै भएकाहरूले अव घरायसी काम गर्न सक्ने भए’ अध्यक्ष बानियाँले भने।  उनका अनुसार ८ सय ६९ जना आँखाका विभिन्न रोगी तथा बिरामीहरू लाभान्वित भएका छन्।  निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो। शिविरको पहिलो दिन आइतबार १६ जना, दोस्रो दिन सोमबार ३२ जना र तेस्रो तथा अन्तिम दिन मङ्गलवार ३४ जनामा मोतिया विन्दुको शल्यक्रिया गरिएको थियो। जिल्लामै मोतिया विन्दु रोगको उपचार गर्न पाउँदा ज्येष्ठ नागरिक दङ्ग परेका छन्। 

निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको पहिलो दिन ३ सय १३ जना, दोस्रो दिन ३ सय ५९ र तेस्रो दिनमा १ सय ९७ जनाले आँखाको चेकजाँच गर्नुका साथै परामर्श सेवा लिएका थिए। शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डाक्टर अन्जु गुरुङको नेतृत्वमा ८ जनाको टोलीले बिरामीहरुमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गराएको संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताए। शिविरमा आएका बिरामीहरुमा आँखासम्बन्धी अन्य रोगको समेत पहिचान गरिएको छ भने थप उपचारका लागि रिफर गरिएको जनाइएको छ। एक जनाको आँखाको शल्यक्रिया गर्न २० हजार रुपैयाँ र ३ दिन लाग्छ। शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ। 

प्रकाशित: ८ चैत्र २०७९ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App