१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

हवाई उद्धारले सुत्केरीलाई राहत

गत पुस ३० मा कालिकोटको रास्कोट नगरपालिका– ८ की संगीता लुवारलाई अत्यधिक रक्तस्राव भयो। स्थानीय अस्पतालमा उनको उपचार सम्भव भएन। उनलाई तत्काल हेलिकोप्टरमार्फत सुर्खेत पठाइयो। गत भदौ ४ गते तिलागुफा नगरपालिका– ९ की २१ वर्षीया मैनकला शाहीलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरियो।

दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी मैनकलालाई व्यथा बढ्दै गएकोे र सहज सुत्केरी नभएपछि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइयो। प्रदेश अस्पतालमा उनलाई शल्यक्रियामार्फत सुत्केरी गराइयो। पछिल्लो समय कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पालगायतका विकट जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम हवाई उद्धार सेवा सुरु भएपछि धेरै महिलाले राहत पाएका छन्।

स्थानीय स्तरमा उपचार सम्भव नहुने कर्णालीमा गर्भवती तथा सुत्केरीको हेलिकोप्टरबाट उद्धार हुन थालेपछि अकालमा ज्यान गुमाउनुपर्ने अवस्था केही हदसम्म हटेको छ। २०७६ सालबाट दुर्गमका गर्भवती तथा सुत्केरीलाई हवाई सेवाबाट निःशुल्क उद्धार गर्ने कार्य थालिएको हो। कर्णाली प्रदेशका ९ जिल्ला, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका समेत केही जिल्लाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत बेस बनाएर उद्धार गर्ने कार्य थालिएको छ।

नेपाली सेनाको पश्चिम कमान्ड पृतना सुर्खेतका सूचना अधिकारी रेनु शाहका अनुसार २०७६ सालयता सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत माघ मसान्तसम्म एक सय ९७ महिलाले निःशुल्क हवाई उद्धार सेवा पाएका छन्; जसमा कर्णाली प्रदेशका ९ जिल्लाका मात्र एक सय ३७ जना गर्भवतीले सेवा पाए।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गत साउनयता मात्र कर्णाली र सुदूरपश्चिमका गरी ४२ जना गम्भीर अवस्थाका गर्भवतीको हवाइ सेवामार्फत उद्धार भएको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतकाले जटिल अवस्थाका गर्भवती तथा सुत्केरीका विषयमा प्रशासनसँग समन्वय गरी उद्धार गरिँदै आएको बताए।

राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७३ बनेपछि नेपालमा २०७३ फागुन २४ बाट ३५ जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भएको हो। यस कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५-०७६ मा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याउने गरिएको छ। साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ। अधिकां्श हवाई उद्धारबाट सुत्केरी भएकी महिलाले सानै उमेरमा विवाह गर्ने गरेको पाइएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

 

प्रकाशित: ४ चैत्र २०७९ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App