६ वैशाख २०८१ बिहीबार
समाज

इलाम खानेपानी आयोजनाको काम गुणस्तरहीन भन्दै उपभोक्ता असन्तुष्ट

इलाम बजार। तस्बिर : भीम/नागरिक

इलाम नगरपालिकाका मेयर केदार थापा नै उपभोक्ता समिति अध्यक्ष रहेको इलाम साना सहरी खानेपानी आयोजना निर्माणमा लापरबाही गरिएको भन्दै उपभोक्ता आक्रोशित भएका छन्। आयोजना निर्माणमा अनियमितता भएको गुनासोसहित अख्तियार गुहार्ने तयारीमा रहेका उपभोक्तालाई भने आयोजना निर्माण कम्पनीले ‘मत्थर’ बनाउने प्रयास गरेको छ।

आयोजना निर्माणक्रममा कमसल सामग्री प्रयोग गरिएको, पुरानै मुहानको पानी नयाँ आयोजनाको पाइपमा मिसाइएको, कतिपय ठाउँमा नयाँ पाइप राख्नुपर्नेमा पुरानै प्रयोग गरिएको, धारामा जोडिएको मिटर गुणस्तरहीन भएको, ९० सेन्टिमिटर पुर्नुपर्ने पाइप नपुरिएको र सम्झौताअनुसार काम नगरिएको भन्दै उपभोक्ता आक्रोसित बनेका हुन्। आयोजना सम्पन्न भएपछि धाराको मिटरसँगै १२ मिटर पाइप दिने भनी आयोजना सुरु नहुँदै उपभोक्ताबाट प्रतिधारा १५ हजार २ सय रुपैयाँ उठाइएको थियो। तर, पूर्वसर्तअनुसार पाइपको दूरी नै घटाइएको उपभोक्ताको गुनासो छ। उनीहरूले गुणस्तरहीन मिटर जडान गरिएका कारण आफ्नो धारामा तिर्नै नसकिनेगरी अस्वभाविक रूपमा बढी महसुल उठेको पनि बताएका छन्।

आयोजना निर्माण समिति, दातृनिकाय, स्थानीय सरकार र सरोकारवालाबीचको भेलामा उपभोक्ताले आयोजनाको गुणस्तरमा प्रश्न उठाएपनि चित्तबुझ्दो जबाफ भने पाएनन्। आयोजनामा अनियमितता भएको गुनासो गरिरहेका उपभोक्ता अगुवा सुमन श्रेष्ठ आफूले राखेको जिज्ञासामा चित्तबुझ्दो जबाफ नपाएको र छानबिनका नाममा समस्या लम्ब्याउन खोजेको भन्दै कार्यक्रम नसकिँदै निस्केर हिँडेका थिए।

इलाम सदरमुकाममा करिब ३२ किलोमिटरमा रहेको गिताङ मुहानबाट खानेपानी ल्याउन आयोजना निर्माणाधीन छ। एसियाली विकास बैंक (एडिबी)को मुख्य सहयोग, नगर विकास कोषको ऋण र उपभोक्तासमेतको लगानीमा ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भइ आयोजना निर्माण सुरु भएको हो। निर्माण जिम्मा लिएको रमण/जिआइइटिसी जेभीले इलाम सहरी खानेपानी तथा सरसफाइ परियोजनाको काम गुणस्तरहीन गरेपनि मेयर नै अध्यक्ष रहेको उपभोक्ता समितिसमेत गैरजिम्मेवार बनेको उपभोक्ताको आरोप छ।

उपभोक्ता श्रेष्ठले आयोजनाको पाइपलाइनको काम गुणस्तरहीन भएको र घर–घरमा जडान गरिएका मिटरले पनि काम नगरेको बताए। ‘आयोजनाको मुहानदेखि धारासम्म प्रभावकारी अनुगमन र छानबिन गरियोस्,’ उनले भने, ‘कहाँ–कहाँ गुणस्तरहीन सामग्री प्रयोग गरिएको छ भन्ने प्रमाण दिन सकिन्छ।’ उनले प्रयोग गरिएको पुरानो पाइप र गुणस्तरहीन मिटर तत्काल परिवर्तन गर्नुपर्ने अडान राखे। उनै श्रेष्ठको अगुवाईमा उपभोक्ता गत ५ गते आयोजना निर्माणबारे छानबिन गर्न आग्रह गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने तयारी गरेका थिए। उपभोक्ताको दबाबपछि निर्माण कम्पनीले सम्झौताअनुसार नै काम तथा सार्वजनिक सुनुवाईसमेत गर्ने लिखित प्रतिबद्धता फागुन ११ मा जनाएको थियो। यस्तो प्रतिवद्धतापछि उपभोक्ताले निर्माण कम्पनीलाई कामका लागि पर्खिएका छन्।  

सन् २०१९ मा भएको सम्झौताअनुसार ३१ मार्च सन् २०२१ मा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाका कारण पुन: म्याद थपिएको थियो। तर, थपिएको म्यादसमेत गुज्रिएपछि निर्माण कम्पनीले ‘गुणस्तरीय काम’ गर्ने प्रतिबद्धतामात्रै जनाइरहेको भन्दै उपभोक्ता अझ चिन्तित भएका हुन्। इलाम होटल एसोसिएसन अध्यक्ष देवी पौडेलले नयाँ भनेर जडान गरिएको मिटरले गलत विवरण देखाएको र बिग्रेको पाइपलाइन मर्मत गर्न सूचना दिँदा बेवास्ता गरिएको गुनासो गरे।

इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य तथा इलाम नगरका निवर्तमान मेयर महेश बस्नेतले आयोजना निर्माण नसकिँदै गुणस्तरमा उठेको प्रश्नको जबाफ निर्माणकर्ताले दिनुपर्ने बताए। ‘आयोजना बनिनसक्दै गुणस्तरको प्रश्न उठेको छ,’ उनले उपभोक्ता समिति अध्यक्षसमेत रहेका मेयर थापालाई प्रश्न पनि गरे, ‘आयोजनाले सरसफाइमा गर्नुपर्ने काम चाहिँ के–के गर्‍यो? सरसफाइको कार्यक्रम चाहिँ कता हरायो?’

उपभोक्ताले निर्माण कम्पनीले गुणस्तरहीन काम गरिरहँदा पनि उपभोक्ता समितिले कुनै खबरदारी नगरेको र अनियमिततामा मौन बसेर सघाएको आरोप लगाइरहेका छन्। ‘खानेपानी आयोजना निर्माणमा भइरहेको अनियमिततामा मेयरसमेत रहेका उपभोक्ता समिति अध्यक्ष मौन देखिनुले राम्रो संकेत गर्दैन,’ इलाम बजारका एक उपभोक्ताले भने, ‘छानबिन निर्माण कम्पनीले गरेको काममा मात्र होइन, उपभोक्ता समितिको भूमिकामाथि पनि गर्नुपर्छ। उपभोक्ता समिति रमिते बनेकाले उसैको भूमिका पनि शंकास्पद छ।’

मेयर थापाले सम्झौताअनुसारको काम गर्न र गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई आग्रह गरे। उनले कमसल सामग्री परिवर्तन गर्न निर्माण कम्पनीलाई अनुरोध गरे। आयोजना निर्देशक रत्न लामिछाने, क्षेत्रीय आयोजना कार्यालयका इन्द्रकुमार पौडेल र जनक गिरी, निर्माण कम्पनी निर्देशक पवन महतोलगायतले उपभोक्तालाई जबाफ दिएपनि सन्तुष्ट बनाउन सकेनन्। तर, उनीहरूले आयोजनामा प्रयोग भएका कमसल सामग्री परिवर्तन गर्ने र सम्झौताअनुसारकै गुणस्तर कायम गर्ने प्रतिबद्धता जनाएका छन्। उपभोक्ताको गुनासो सुनुवाईका लागि क्षेत्रीय आयोजना कार्यालयका पौडेलको संयोजकत्वमा समितिसमेत निर्माण गरिएको छ। समितिलाई २ साताभित्र आयोजनाबारे अध्ययन गर्ने म्याद दिइएको छ।

सदरमुकाममा आउँदो २० वर्षसम्मको माग पूरा गर्नेगरी आयोजना निर्माण गरिँदै छ। सम्पन्न भएपछि इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १ सय धारामा चौबीसै घन्टा खानेपानी आउने र यहाँका करिब २८ हजार १ सय ७२ उपभोक्ता लाभान्वित हुने अनुमान छ। आयोजनाले २० वर्षपछि अर्थात् सन् २०३९ मा ३९ हजार ८ सय ६० उपभोक्ताको माग पूर्ति गर्ने आँकलन छ। अहिले सदरमुकाममा प्रतिसेकेन्ड २२–२३ लिटर खानेपानीको माग रहेको इलाम नगरपालिकाले जनाएको छ।

सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट १०–१० लिटर तथा सुम्बेकको भाँडीखोलाबाट प्रतिसेकेन्ड ५ लिटर पानी सदरमुकाम ल्याइने छ। आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले र ५ प्रतिशत उपभोक्ताले बेहोर्नेछन्। २५ प्रतिशत चाहिँ नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ। २० वर्षभित्र ५ प्रतिशतको सहुलियत ब्याजदरमा नगरपालिकाले यो ऋणको ब्याज तिर्ने सम्झौता छ। आयोजना निर्माण सकिएपछि १ वर्षसम्मको मर्मत–सम्भारसमेत निर्माण कम्पनीले नै सर्त छ।

प्रकाशित: २८ फाल्गुन २०७९ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App