१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रूख काटेपछि निकुञ्ज र नगरपालिकाबीच विवाद

गोकर्णेश्वर नगरपालिकाले १ र २ नम्बर वडाको सीमानामा पर्ने गराडोल टोलमा करिब सय रोपनी जग्गालाई समथर बनाएर खेल मैदान (रंगशाला) बनाउन खोज्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नगरपालिकाबीच विवाद उत्पन्न भएको छ। यहाँ रंगशाला बनाउने काम रोकिएको छ। गोकर्णेश्वर नगरपालिकाले निकुञ्जलाई थाहा नदिई मध्यवर्ती क्षेत्रभित्र पर्ने १९ वटा ठूल्ठूला रूख अवैध ढंगबाट काटेको र सरकारी जग्गामा डोजर लगाइ खनजोत गरेको निकुञ्जको भनाइ छ।

नगरपालिकाका पदाधिकारीले भने रूख काट्ने काम भू माफियाबाट भएको भन्दै नगरपालिकाको गल्ती कमजोरी नभएको बताएका छन्।

निकुञ्जले रूख काटिएको विषयलाई गम्भीरतापूर्वक लिँदै यस विषयमा अनुसन्धान अघि बढाउन गत फागुन १८ गते सिर्जना श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकेको छ। यस विषयमा प्रतिवेदनसमेत तयार गरेको छ। यसबारेमा अनुसन्धान पूरा हुने वित्तिकै वित्तिकै निकुञ्जले मुद्दा दायर गर्ने शिवपुरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) लक्ष्मण पौडेलले बताए।

‘रंगशाला बनाउने भन्दै नगरपालिकाले डोजर चलाएको छ। त्यसैले सरसर्ती हेर्दा नगरपालिकाले नै रूख काटेको देखिन्छ’ पौडेलले भने, ‘यद्यपि यस विषयमा यथार्थ पत्ता लगाउन अनुसन्धान अधिकृत तोकेका छौ।’ रूख काट्न तथा वन क्षेत्रमा डोजर लगाउन नगरपालिकाले निकुञ्जसँग अनुमति नलिएको उनले बताए। ‘निकुञ्ज ऐन अनुसार मध्यवर्ती क्षेत्रमा सरकारी जग्गा, वन क्षेत्र सम्म्याउन, रूख काट्न निकुञ्जको अनुमति अनिवार्य चाहिन्छ तर नगपालिकाले अनुमति लिएको देखिएन,’ उनले भने।

नगरपालिकाका मेयर दिपक रिसालले भने रूख काट्ने काममा नगरपालिका र नगरपालिकाका कुनै पनि पदाधिकारीहरू संलग्न नभएको बताउँदै भूमाफियाहरूले नै रूख काटेको दावी गरेका छन्। ‘नगरपालिकाभित्र एउटा रंगशाला चाहिन्छ भनी व्यापक आवाज उठे पछि नगरपािलकाभित्र अतिक्रमित जग्गा खाली गरेर रंगशाला बनाउन खोजेका हाै,’ रिसालले भने, ‘अतिक्रमित जग्गा खाली गराउन हामी सफल पनि भयौ। यही बेला भूमाफियाहरू सलबलाए र अवैध ढंगबाट रूख काटे।’

 रिसालका अनुसार त्यस क्षेत्रमा २१ परिवारले झण्डै ७० रोपनी जग्गा लामो समय देखि अतिक्रमण गर्दै आएका थिए। उनीहरूलाई मुआब्जा दिएर हटाउने सहमति भएको छ। ‘अतिक्रमित जग्गा खाली गर्न त्यती सजिलो थिएन।

यो काम हाम्रो लागि ठूलो उपलब्धि हो। किनभने अतिक्रमित जग्गा खाली गर्न यसअघि कसैले गर्न सकेका थिएनन्,’ रिसालले भने, ‘अब फेरि त्यो जग्गामा कसैले अतिक्रमण गर्न भनेर कमसकेम जग्गाभित्र ताराजाली लगाउन खोजेका छौं।

यसका लागि निकुञ्जसँग अनुमति मागेका छौं।’ गोकणेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले पनि जग्गा दलाल र माफियाहरू रूख काटेको बताए। ‘नगरपालिकाले एकैपटक रूख काट्दैन। पहिले सूचना निकाल्छ, टेण्डर खोल्छ अनि मात्र रूख काट्छ,’ उपाध्ययले भने, ‘हामीले रूख काट्ने कुनै योजना नै बनाएकै छैनाै। किनभने अहिले हामी प्रारम्भिक चरणमा मात्र छौं।’ भूमाफिया र जग्गा दलालले रंगशाला नबनोस भनेर अवैध ढंगबाट रूख काटेको उपाध्ययले आरोप लगाए। ‘यस्तै यस्तै विवाद ल्याउने, रंगशाला बनाउन नदिने अनि फेरि सोही जग्गामा अतिक्रमण गर्ने भूमाफियाहरूको योजना हो। त्यो सपना पूरा हुन दिन्नाै,’उनले भने।

निकुञजका संरक्षण अधिकृत पौडेलले वन क्षेत्रमा डोजर लगाएको र रूख काटेको विषयलाई निकुञ्जले निकै गम्भीरतापूर्वक लिएको भन्दै निकुञ्जसँग अनुमति नलिएर नगरपालिकाले वन क्षेत्रमा डोजर लगाउन नसक्ने बताए। निकुञ्जले चासो राखे पछि रंगशाला बनाउने काम गत फागुन १५ गतेदेखि रोकिएको छ।

गोकर्णेश्वर नगरपालिको दोस्रो साधारणसभाले उक्त क्षेत्रमा रंगशाला बनाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउन खोज्दा नगरपालिका र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबीच विवाद उत्पन्न भएको हो।

प्रकाशित: २८ फाल्गुन २०७९ ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App