७ वैशाख २०८१ शुक्रबार
समाज

लाइभ म्युजिकसँगै फागु उल्लास

 

्होली २२ वर्षीय आशुतोष श्रेष्ठको मनपर्ने पर्व हो। सानैदेखि उनी साथीहरूसँग होलीको भरमग्दुर मजा लिँदै आएका थिए। यसपटक उनलाई म्युजिकको साथमा होली मनाउने चाहना थियो। जुन चाहना रेडियो नागरिकले पूरा गरिदियो।  

रेडियो नागरिकले होलीका अवसरमा दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा ‘कलरेल्ला होली कार्निभल’को आयोजना गरेको थियो। जुन कुरा थाहा पाएका आशुतोष साथीहरूसँग योजना बनाएरै दरबारमार्ग पुगेको बताउँछन्। ‘गज्जब रमाइलो भयो। होली पनि खेलियो लाइभ म्युजिकमा नाचियो पनि,’ खुसी हुँदै उनले भने, ‘यस वर्षको होली पहिलाभन्दा अझै विशेष मनाउन मन थियो। बिन्दास रमाइयो।’

यसै वर्ष विदेश अध्ययन जाने तयारीमा रहेकी २० वर्षीया प्रभा पोखरेल पनि कलरेल्ला मेलामा रमाउँदै गरेकी भेटिइन्। ‘होली नेपालमै यसरी फेरि रमाउन पाइन्छ÷पाइन्न थाहा छैन। अध्ययनका लागि विदेश जाने तयारीमा छु। त्यसैले साथीहरूसँगै रमाउन यहाँ आएको,’ प्रभाले सुनाइन्। मेला अविष्मरणीय बनेको उनले बताइन्। उनले भनिन्, ‘स्कुल लेभेलका साथीहरू मिलेर आयौं। मज्जाले रंग खेल्यौं, म्युजिकमा डान्स गर्दा मज्जा आयो। अब यसरी सधैं सँगै भइन्न होला।’  

सोमबार होलीका अवसरमा आयोजित कलरेल्ला मेलामा आशुतोष र प्रभाजस्तै किशोर तथा युवा उमेर समूहका युवायुवतीहरू खुब रमाए। विशेषगरी राजधानीकै युवायुवतीको रुचीअनुसारका लाइभ म्युजिक र वातावरण तयार भएपछि मेलामा उपस्थिति पनि सोहीअनुसारको रह्यो।  

मेलामा ‘द इलिमेन्ट’ म्युजिक समूह, गायक/गायिका वाङदेन शेर्पा, भेक र डिजे क्युनालगायतका कलाकारले प्रस्तुती राखेका थिए। उनीहरू अहिले युवाहरूले अत्याधिक रुचाएका कलाकार हुन्। होलीका अवसरमा आफूले रुचाएका कलाकारसँग प्रत्यक्ष होली मनाउन पाउँदा उपस्थित युवा जमात संगीत र रंगको कोलाजमा दिनभर रमाइरहेको थियो।  

उसो त होली अक्सर नेपालीलाई मनपर्ने पर्व हो। बच्चादेखि बुढ्यौली उमेरसम्मका नेपालीले होलीमा आफूलाई समाहित गरेर रमाउने गर्दछन्। सोहीअनुसार कलरेल्ला मेलामा युवाहरू बाहेकको पनि राम्रै सहभागिता थियो।

मेलामा लाइभ म्युजिक, रंग मेलाबाहेक खानाका परिकार र उत्कृष्ट पेय पदार्थहरूको पनि उपलब्धता थियो। सबैको समिश्रण लिएर रमाउन चाहने राजधानीबासी कलरेल्ला मेलामा सहभागि भएर रमाएका थिए।  

बाक्लै उपस्थितिमा मेला आयोजना भए पनि भड्किलो गतिबिधि भने थिएन। सहभागीले पनि सभ्य, शिष्ट, मर्यादित र रमणीय वातावरणमा मेला सम्पन्न भएको बताएका छन्। ‘एकदमै सहज महसुस भयो। सबै आ–आफ्नै किसिमले आफ्नै समूहमा रमाइरहेका छन्। नचिनेको मानिससँग कोहीकसैले डिस्टर्ब गरेको देखिन्न,’ मेलामा सहभागि ३५ वर्षीय सुवास पाण्डेले भने,‘होलीमा यस्तो बिरलै सम्भव हुन्छ। सभ्य र भव्य दुवै पाइयो।’  

कलरेल्ला होली मेलामा हज्जारौं दर्शकले सहभागी भएर मनोरञ्जन लिँदै होली मनाएको आयोजक रेडियो नागरिकले जनाएको छ। मेलामा नेपाल रिपब्लिक मिडिया प्रालीका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली लगायत व्यवस्थापकीय नेतृत्वको पनि उपस्थिति थियो।  

मेला आयोजनामा टुबोर्ग, आइएमइपे, एसियन पेन्टस्, ब्रान्डवर्क, आइएसएस, फुडमाण्डु र नेपाल लिक्वायर प्रालिको पनि सहकार्य थियो।

प्रकाशित: २३ फाल्गुन २०७९ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App