१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरीले फेवातालमा डुंगा पल्टियो, लाइफ ज्याकेट र बेलैमा उद्धार हुँदा क्षति रोकियो

पोखरा फेवातालमा शनिबार दिउँसो हावाले डुंगा पल्टाउँदा डुबेका यात्रुको उद्धार गरिँदै। तस्बिर सौजन्यः हरि पहारी

एक्कासि लागेको हावाहुरीले शनिबार दिउँसो फेवातालमा डुंगा पल्टिँएका छन्। चार वटा कायक र परिवार सवार एउटा डुंगा पल्टिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार डुंगाले च्यापेर एक जना वृद्धा बेहोस भएकी छिन्। बेलैमा उद्धार हुँदा मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ।  

फेवतालको बाराहीघाटमा रहेको सशस्त्र प्रहरीको उद्धार टोलीले घटना हुनासाथ मोटरबोट लिएर उद्धारमा खटिँदा क्षति हुन नपाएको प्रत्यक्षदर्शी हरि पहारीले बताए।  

बैदाम चौकीका डिएसपी बेदप्रकाश जोशीका अनुसार चार वटा कायक र एउटा प्याडल बोट तालमा पल्टेका थिए। दिउँसो सवा चार बजे एकाएक हावा लागेको बेला ती डुंगा र कायक तालमा पल्टेका थिए। तर सबै यात्रुले लाइफ ज्याकेट लगाएकोले उनीहरू पानीमा पौडिन सक्दा क्षति हुनबाट रोकिएको उनले बताए।  

डिएसपी जोशीका अनुसार एकै परिवारका पाँचजना सवार डुंगा पल्टिँदा पोखरा बगरकी ७० वर्षिया याममाया गिरी भने बेहोस भएकी छिन्। गिरी आफन्तसहित डुंगामा सवार थिइन। गिरी सवार डुंगामा परिवारका पाँचजना सदस्य थिए। ‘एकाएक हावाहुरी आउँदा डुंगा पल्टियो, लाइफ ज्याकेट लगाएकोले चारजना सहजै जोगिए, तर, वृद्धा महिलालाई भने डुंगाले च्यापेको रहेछ,’ उनले भने,‘डुंगाले च्यापेको अवस्थामा उद्धार भएको हो। तर, उनको अवस्था गम्भिर छ। ती वृद्धा महिला बेहोस भएकी छिन्। महिलालाई उपचारार्थ अस्पताल पठाइएको छ ।’

डुंगा व्यवसायी संघका अध्यक्ष बलराम गिरीका अनुसार कायक व्यक्तिगत रुपमा लिएर जाने गरिन्छ। तर डुंगा  भने संघ अन्तर्गत रहेर संचालन गरिएको छ । शनिबार दिउँसोको हावाको झोक्कामा पर्दा परिवार सवार  डुंगा तालमा पल्टेको थियो । पाँच जना यात्र चढेको डुंगा हावाहुरीका कारण तालमा घोप्टिएको गिरीले बताए। ‘लाइफ ज्याकेट लगाएकोले सबै जना जोगिएका हुन। हामीले यात्रुलाई मात्र नभई डुंगा चालकलाई पनि लाइफ ज्याकेट अनिवार्य गरेका छौ,’ उनले भने।  

प्रकाशित: २० फाल्गुन २०७९ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App