८ वैशाख २०८१ शनिबार
समाज

दोलखा महोत्सव सुरु

सुन्दर पर्यटकीय जिल्ला दोलखा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘दोलखा महोत्सव २०७९’शुक्रबारदेखि सदरमुकाम चरिकोटमा सुरु भएको छ। दोलखा चेम्बर अफ कमर्सको आयोजनामा चरिकोटको टुँडिखेलस्थित भीमेश्वर रंगशालामा सुरु महोत्सवको सरकारका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

मन्त्री श्रेष्ठले मुलुकमा अर्थतन्त्रको अवस्था उत्साहजनक नरहेको बताउँदै आर्थिक विकासको अवस्थालाई गुणात्मक फड्कोमा पुर्याउन सरकारले नयाँ ढंगले काम सुरु गरेको सुनाए।‘मुलुकमा राजनीतिक परिवर्तनपछि सामाजिक तथा आर्थिक रूपान्तरण र आफ्नो जीवनयापन फेरि जनताको अपेक्षा हामी राजनीतिक नेतृत्वले पूरा गर्न सकेनौं,’उनले भने, ‘अब पनि ढिला गर्यौं भने परिवर्तनको वास्तविक उद्देश्य पूरा गरेको ठहर हुँदैन।’उनले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सरकारले निजी क्षेत्र तथा राज्यका सबै निकायहरूसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका खेल्ने सुनाए।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले जनताका अपेक्षा पूरा गर्ने गरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे।दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दोलखा १ का प्रत्यक्ष निर्वाचित संघीय सांसद गंगा कार्की, काठमाडौं २ की सांसद सोविता गौतम, दोलखा २ का प्रदेश सांसद भरत केसीलगायतले बोलेका थिए।

महोत्सव ९ दिनसम्म चल्ने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादनसहित व्यापारका साथै स्थानीय परिकारका स्टल राखिएको दोलखा चेम्बर अफ कमर्सका महासचिव पाण्डव पाण्डेले बताए।

प्रकाशित: २० फाल्गुन २०७९ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App