१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लदी पर्वको संरक्षणमा माझी समुदाय

पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेको छ। मालढुङ्गाको माझी समुदायले मङ्गलबार यो पर्व धुमधामसँग मनाएका छन्।

सडक निर्माण तथा नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने र डुङ्गा (नाउ) मा सर्वसाधारणलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व पनि हराउँदै गएको थियो। पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा यसअघि लदीपूजा हुन सकेको थिएन। अल्पसङ्ख्यक माझी समुदाय सधैँ खोला र नदीको नजिक बस्ने गर्छन्। उनीहरू यसैमाथि आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ।

लदीपूजा गर्दा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै जोखिम आउँदैन भन्ने विश्वास माझी समुदायको छ। साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता छ। वर्षातको समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ। त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्‍याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए।

लदीपूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्युचोली र फेटा इस्टकोटमा सजिएका थिए। आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको उनले बताए। माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ। माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ।

पर्वत र बागलुङको सङ्गमस्थल मालढुङ्गामा झन्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन्। पोखरा-बागलुङ सडक खुलेपछि सोही आयोजनामा काम गर्न माझी समुदाय यहाँ बस्दै आएको हो। उनीहरू हाल कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बङ्गुरपालन लगायतका व्यवसाय गर्दै आएका छन्। रासस

प्रकाशित: १७ फाल्गुन २०७९ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App