२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव संकलन

कर्णाली छिर्ने मुख्य नाका बबईमा यात्रुहरूसँग सुरक्षित यात्राको विषयमा गुनासो सुन्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठ। तस्बिर: गोविन्द केसी/नागरिक

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभर नागरिकहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ। प्रहरीले कर्णालीका सबै जिल्लादेखि इलाका हुँदै प्रहरी चौकीसम्म नागरिकसँग सुझाव मागेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली प्रदेशको वर्तमान सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान सुरु गर्ने भएको हुँदा प्रदेशभर सुझाव संकलन कार्यक्रम गरेको जनाएको छ।

कर्णाली प्रदेशका दश जिल्ला प्रहरी कार्यालयहरू तथा मातहतका सबै प्रहरी इकाईहरूमा सबै राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग व्यवसायी, यातायात व्यवसायी, व्यापारी, समाजसेवी, विद्यालय तथा बजार व्यवस्थापन समितिका सदस्यहरू, प्रहरी तथा अन्य कर्मचारीहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाज तथा सरोकारवाला सबैसँग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन कार्यलाई तीव्रता दिएको जनाइएको छ।

प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी इकाईहरूबाट नागरिकको प्रत्यक्ष जन-जीविकासँग जोडिएको विषयहरूमा सुझाव संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) माधव प्रसाद श्रेष्ठले बताए।

अहिलेसम्म कर्णाली प्रदेश अन्तर्गत सुर्खेतमा १५, जाजरकोटमा १४, हुम्लामा २, रुकुम पश्चिममा १५, दैलेखमा १२, डोल्पामा २, कालिकोटमा १४, सल्यानमा १६, जुम्लामा ५, मुगुमा १४,  नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले १२ वटा स्थानहरूमा सुझाव संकलन भइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

हालसम्म कर्णाली प्रदेश भरीका १२१ स्थानहरूमा करिब ४ हजार आम नागरिकहरूबाट सुझाव संकलन गरिएको छ। सुझाव संकलन कार्यक्रमबाट प्राप्त भइसेकेका सुझावहरूलाई छिटै कार्य योजना निर्माण गरी लागु गरिने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भिम प्रसाद ढकालले बताए।

यस अभियानबाट कर्णाली प्रदेशमा रहेको सुरक्षा व्यवस्था अझ बढी सुदृढ भई थप प्रभावकारी, समयसापेक्ष, गुणस्तरीय हुने डिआइजी ढकालको भनाई छ।

प्रकाशित: १६ फाल्गुन २०७९ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App