९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

हिमाली क्षेत्रमा डढेलो

म्याग्दीका उच्च भेगमा लागेको डढेलो। हिमपात र वर्षा नहुँदा डढेलोको जोखिम बढेको छ।तस्बिर: नागरिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका आठमध्ये ६ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागेको छ। डढेलोले दिनहुँजसो वनक्षेत्र नोक्सान भइरहेको छ। अहिले डढेलो लागेको म्याग्दीका अधिकांश भेग हिमपात हुने क्षेत्र हुन्। तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागेको हो। अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्तीभन्दा टाढाका डाँडाकाँडा हुन्।  

त्यस्तै धवलागिरि गाउँपालिकाको उच्च भेगमा पनि डढेलोले सताउन थालेको छ। धवलागिरि–४ मुदी भेगको उच्च क्षेत्रमा डढेलो लागिरहेको छ। डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरिरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ। वन कार्यालयका अनुसार म्याग्दीका गुर्जा, मुदी, कुहिनेमंगले, चिमखोला क्षेत्रमा डढेलो लागेको छ। ‘अहिले म्याग्दीका कम्तीमा २५ ठाउँमा डढेलो लागेको छ। यो क्रम अझै बढ्ने देखिएको छ,’ म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाले भने, ‘दक्षिणी भेगको जंगल दिनहुँ डढेलोले सखाप भइरहेको छ।’ उनका अनुसार अहिले डढेलो लागेका क्षेत्र उच्च हिमाली भेगमा पर्छन्। ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्दा चिसोका कारण डढेलो लाग्दैनथ्यो। वर्षा पनि भइरहँदा जंगलमा आगो लाग्दैनथ्यो तर अहिले भने दिनहुँजसो डढेलो लागेको जानकारी आउने गरेको सापकोटाले बताए।

अघिल्ला वर्ष हिउँदमा तल्ला बस्तीमा पनि बाक्लो हिमपात हुँदा हिँडडुल गर्न सकसपूर्ण हुन्थ्यो तर यसपटक उच्च हिमाली भेगमा समेत हिउँ नपर्दा सुक्खापन बढेर डढेलो लागेको उनले बताए। असोजपछि वर्षा नभएको र हिउँ पनि नपर्दा सुक्खापन बढेको सापकोटाले बताए। ‘हिउँ पर्ने ठाउँमा मुख्य सिजनमा एकदिन पनि हिउँ परेन। पानी पनि परेन, त्यसैले जमिन सुक्खा भएको छ। चिसो कतै देखिन्न,’ उनले भने, ‘घाँस सुकेको छ। वनजंगल पनि सुक्खा भएको छ। जसले गर्दा आगलागी फैलिन सघाउँछ।’

सापकोटाले पानी नपर्ने हो भने डढेलोको जोखिम अझै बढ्ने बताए। ‘अझै केहीदिन पानी नपर्ने हो भने पहाडी भेगमा झनै डढेलो लाग्नेछ,’ उनले भने। उनका अनुसार उच्च भेगमा डढेलो निभाउन पनि जान सक्ने अवस्था छैन। स्रोतसाधन अभावमा आगो नियन्त्रण गर्न सकिने अवस्था छैन। ‘आगो निभाउन जाँदा पोहोर साल जलेर दुईजनाको ज्यान गएको थियो। त्यसैले गाउँलेलाई आगो निभाउन जानुपर्छ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘हातमा केही छैन, एक्लो मान्छेले केही गर्न सक्दैन।’

उच्च हिमाली भेगमा त जानीजानी डढेलो लगाउने चलन रहेको सापकोटाले जानकारी दिए। उच्च भेगमा भेंडा पालिन्छ। भेंडाका लागि घाँस पलाओस् भनेर पनि जंगलमा आगो लगाउने चलन रहेको उनले बताए।  

 

‘एउटै जंगलमा दुईपटकसम्म डढेलो लाग्ने गरेको छ। पानी परेपछि घाँस पलाउने र भेंडा चराउन सहज हुने भन्दै उच्च भेगमा जानाजान डढेलो लगाउने गरिएको छ,’ उनले भने, ‘जथाभाबी आगोे लगाउँदा वातावरण पनि प्रदूषित बनेको छ। सबैतिर धुलो र धुवाँ उड्दा अहिले वायुमण्डल पनि प्रदूषित भएको छ।’

केही दिनअघि कास्कीको काहुँडाँडामा पनि डढेलो लागेको थियो। सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी मिलेर काँहुडाँडाको आगो नियन्त्रणमा लिएका थिए। त्यस्तै पोखरा–१६ को ढिकीडाँडा क्षेत्रमा पनि तीन दिनअघि डढेलो लागेको थियो। कास्कीका वन अधिकृत केदार बराल कास्कीमा पनि डढेलोको जोखिम बढेको बताउँछन्। ‘डढेलको मौसम सुरु भएको छ। यो बेला सचेत नहुने हो भने डढेलोका घटना बढ्न सक्छन,’ बरालले भने, ‘यो पटक हिउँ र पानी कतै परेको छैन। हिउँ नपर्दा उच्च हिमाली भेग पनि सुक्खा भएको छ। कतै पनि हिउँ र पानी नपर्दा चिस्यान छैन।’ फागुनदेखि वैशाखसम्म डढेलोका घटना हुन सक्ने उनले बताए।

हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि डढेलोको जोखिम उत्तिकै छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मनाङ क्षेत्रमा डढेलोको जोखिम कम गर्न सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको छ। एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमले वर्षा र हिमपात नहुँदा हिमाली भेग पनि सुक्खा भएसँगै डढेलोको जोखिम बढेको बताए। मनाङमा केही वर्षअघिको डढेलोले ठुलो आकारमा वनक्षेत्र नोक्सान गरेको थियो। अहिले पानी र हिउँ नपर्दा फेरि पनि उत्तिकै जोखिम निम्तिने त्रास बढेको गौतमले बताए। एक्यापले मनाङको ताचै, थान्चोक र चामेमा गरी तीनवटा युनिटमा डढेलोबारे सचेतनामूलक कार्यक्रम गरिसकेको उनले बताए।  

कास्कीकै अन्नपूर्ण आधारशिविर पदमार्गका व्यवसायी दिलीप गुरुङले अन्नपूर्ण क्षेत्रका उच्च भेगमा डढेलो लागेको बताए। ‘उच्च भेगमा केही ठाउँमा डढेलो लागिसकेको छ। अहिले पानी र हिउँ परेन, त्यही भएर उच्च भेगमा डढेलोको जोखिम बढेको छ,’ गुरुङले भने।

प्रकाशित: ४ फाल्गुन २०७९ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App