१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कुरुप बन्दै टीकापुर पार्क

कर्णाली नदी किनारमा अवस्थित टीकापुर पार्क उचित संरक्षणको अभावमा कुरुपबन्दै गएको छ। पार्कभित्रको बगैचामा फुल सुक्न थालेका छन। फूलको सुरक्षाका लागि बनाईएका काठको बार भाँचिएका छन।  

पार्क भित्र रहेको महत्वपूर्ण महेन्द्र आरोग्य गृह र बिरेन्द्र विश्राम बाटिका भवन समेत जिर्ण बनेका छन। दुईवटै भवनको छाना भत्किने अवस्थामा पुगेको छ। पिकनिक स्थलमा फोहोरको डंगुर थुप्रिएको छ। त्यहा खाना पकाएर खान सक्ने अवस्था छैन। पिकनिक स्थलमा निर्मित पिउने पानीको धारा वरपर समेत निकै फोहोर छ।  

यस पार्कमा टाढा टाढाबाट समेत आन्तरिक पर्यटक घुम्न आउने गरेका छन। उनीहरु पिकनिक स्थलमा आफै खाना पकाएर खान्छन। पछिल्लो समयमा पिकनिक स्थलको अवस्था देखेर धेरै आन्तरिक पर्यटकहरुले संरक्षण हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन।  

‘समग्र पार्क नै कुरुपबनेको छ’ सुर्खेतकी कृष्णा थापाले भनिन्–‘पिकनिक स्थलमा खाना पकाएर खाने अवस्था नै छैन।’

अहिले पनि धेरै व्यक्तिहरु टीकापुर पार्कमा पिकनिक खान आउने गरेका छन।टीकापुर पार्कका इञ्चार्ज अर्जुनबहादुर कुँवरले दैनिक ३ देखी ४ सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बताए। उनले पछिल्लो समय पूर्वको झापादेखी समेत पर्यटक घुम्न आएको सुनाए। यहाँ नयाँवर्ष, दशै तिहार, माघी जस्ता चाडपर्वको समयमा अत्याधिक संख्यामा आन्तरिक पर्यटक आउने गरेको पाईन्छ।  

कुल ८४ विगाह क्षेत्रफलमा फैलिएको पार्कको नौ विगाहमा बगैचा रहेको छ। पार्कको संरक्षणका लागि भन्दै नगरपालिकाले १३ जना कर्मचारीको व्यवस्था गरेको छ। ती कर्मचारीले नै पार्कको सम्पूर्ण रेखदेख गर्छन। इञ्चार्ज कुँवरले पार्कको संरक्षणका लागि कर्मचारीको संख्याकम भएको बताए। ‘हामीसँग जनशक्ति कम छ’ उनले भने–‘जेनतेन सके जतिकाम गरेकै छौं।’

यो पार्कको ऐतिहासिक महत्व छ। २०२८ सालतिर करिव एक महिना तत्कालिन राजा महेन्द्रले यसै ठाँउमा बसेर नेपालको राजकाज चलाएका थिए। शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सिकार खेल्न पुगेका राजालाई एक्कासी मुटुको व्यथाले च्यापेपछि उपचारका लागि यो ठाउँ उपयुक्त भएको सल्लाह चिकित्सकले दिएका थिए। चिकित्सकको सल्लाह अनुसार नै राजा यस ठाउँमा बसेका थिए। राजा महेन्द्रको निर्देशनमा खटिएका वैद्य, वातावरणविद् चिकित्सकका अनुसार टीकापुर पार्कमा हिन्दूहरूको ठूलो धर्मी स्थल मानसरोवरमा बहने हावा सोझैं कर्णाली हुँदै आई पुग्छ। मानसरोवरबाट सोझैं आएको हावा कर्णाली सम्म आई पुग्दापार्क भन्दा अली उच्च बेगमा बहने गर्छ। जब टीकापुर पार्क सम्म उक्त हावा आउँछ तब कर्णालीपुल (चिसापानी) माचल्ने हावाको बेग भन्दा यहाँ मन्द गतिले चल्ने गर्छ। जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउने प्राकृतिक औषधीको रूपमा लिन सकिने तत्वका रूपमा टीकापुर पार्कमा पाउन सकिन्छ।

राजाले यहाँबसाईका क्रममा एउटा योजनाबनाए। आफूले स्वास्थ्य लाभ गरेको ठाउँमा सुन्दर पार्क बनाउने र नजिकै एउटा शहर निर्माण गर्ने सोच बनाए। राजाको सोही सोचलाई उनका छोरा पूर्वराजा विरेन्द्रले पहल थाले। विरेन्द्रकै निर्देशनमा तत्कालिन मन्त्री खड्गबहादुर सिंहले मूर्तरुप दिए। राजाको सोचलाई पूरा गर्न टीकापुर विकास समितिको गठन गरेर मन्त्री सिंहले स्वीट्जरल्याण्डको एक शहरको नक्शा अनुसार टीकापुर नगरको प्लानिङ गरे र सोही अनुरुप बस्ती बसाए।  

यसलाई टीकापुर बृहत उद्यान पनि भनिन्छ। यो सुन्दर नगरी टीकापुरबाट झण्डै चार किलोमिटर पूर्वमा छ। अति आकर्षक दृश्यावलोकन र पिकनिक खानका लागि यो पार्क निकै चर्चित छ।

प्रकाशित: २९ माघ २०७९ ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App