१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न २४ अर्ब बित्तीय श्रोत आवश्यक

काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आइरहेको र माग सम्बोधन गर्न अनुमानित २४ अर्ब बित्तीय श्रोत आवश्यक देखिएको बताए।

उनले काठमाडौं उपत्यकामा हाल नेपाल विद्युत प्राधिकरणबाट विद्युत लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको बताए। उनले भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय तथा सावधानी अपनाउन आवश्यक रहेको बताए।

उनले नयाँ पाइपलाइन बिछ्याएपछि पानी पठाउने क्रममा केही समस्या र चुनौतिहरु आएको बताए। नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको तथा पानी परीक्षण र वितरण हुँदा यस्ता पाइपहरुबाट पानी चुहावट हुने गरेको पाइएको उनको भनाइ छ। उनले त्यसरी क्षति भएका खानेपानी पाइपलाइनको ममर्त कार्य सम्पन्न गर्न अतिरिक्त समय र श्रोत परिचालन गर्नुपर्ने आवश्यक्ता देखिएको बताए।

मेलम्चीको पानी दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथ बाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिव ८ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको उनले जानकारी दिए।

उनले यसमध्ये हालसम्म करिव ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको र बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याइ परीक्षण शुरु गर्ने लक्ष्य रहेको बताए। अहिले सम्भव भएका स्थानहरुमा वितरण पाइपलाइनहरु सडक खन्नु नपर्ने प्रविधि (एचडिडि) बाट पाइपलाइन बिछ्याउने कार्य गरिराखेको उनले बताए। चक्रपथ बाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैंसेपाटी, वागडोल, सूर्यविनायक, मुलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटार लगायतका स्थानमा करिव १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइनको कार्य भइरहेको उनले जानकारी दिए। 

प्रकाशित: २३ माघ २०७९ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App