२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्वोच्चमा हेल्थ डेस्क

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले सर्वोच्च अदालतमा हेल्थ डेस्क स्थापना गरेको छ। शुक्रबार सर्वोच्चका मुख्य रजिस्ट्रार ललितबहादुर कुँवर र कोभिड युनिफाइड वीर अस्पतालका प्रशासकीय प्रमुख भूपेन्द्र बस्नेतले हेल्थ डेस्कको उट्घाटन गरी सेवा सुरु गरेका हुन्।  

अदालतमा दैनिक सेवा दिने कर्मचारी र सेवाग्राहीको सयौं संख्या रहेको र उनीहरूका लागि आधारभूत स्वास्थ्यसेवा आवश्यक रहेकाले सर्वोच्चमा हेल्थ डेस्क स्थापना गरिएको युनिफाइड कोभिड अस्पतालका प्रशासकीय प्रमुख डा. बस्नेतले बताए। यसअघि नै अदालतमा स्वास्थ्यकर्मीद्वारा आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि कोभिड–१९ पछि बन्द भएकाले थप व्यवस्थित रूपमा हेल्थ डेस्क स्थापनाका लागि सर्वोच्चबाट माग भएपछि वीरले सुरु गरेको डा. बस्नेतले जानकारी दिए। ‘पहिला एक जना मात्र स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क थियो, अहिले चिकित्सकसहित तीन जनाको समूहले यो सेवा दिने गरी व्यवस्थापन गरेका छौं,’ उनले भने।  

डेस्कमार्फत आकस्मिक सेवाका औषधी निःशुल्क उपलब्ध गराउने, उच्च रक्तचाप, मधुमेहलगायत रोगहरूको परीक्षण हुनुका साथै आाकस्मिक रूपमा आइपर्ने सबै रोगको परीक्षण गरी सेवा उपलब्ध गराइनेछ। दैनिक सयौंको संख्यामा रहेका कर्मचारी र सेवाग्राहीमा बेलाबखत गम्भीर समस्या देखिने गरेको र समस्याका कारण नियमित सेवामा समेत अवरुद्ध हुने गरेकाले अदालतमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएर सेवालाई चुस्त बनाउन अदालतले हेल्थ डेस्कको माग गरेको बस्नेतले बताए। ‘यसअघि अदालतमै कोही बेहोस भएको, टाउको दुख्ने कारण काम नै छोडेर अस्पताल जानुपर्ने दैनिक समस्या देखिएको रहेछ, अब यी समस्या हेल्थ डेस्कले पहिचान गरी गम्भीर अवस्था हेरी उपचारको व्यवस्था गर्नेछ,’ उनले भने। दैनिक कर्मचारी सानोसानो स्वास्थ्य समस्याले नियमित काम छोड्ने समस्या देखिएपछि चार वर्ष पहिला नै सिंहदरबारभित्र वीर अस्पतालले नै हेल्थ डेस्क स्थापना गरिसकेको छ। अदालतमा सिंहदरबारमै खटिरहेका स्वास्थ्यकर्मीको टोली खटिने गरी व्यवस्थापन गरेको बस्नेतको भनाइ छ।

प्रकाशित: १४ माघ २०७९ ००:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App