१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मानव र वन्यजन्तुबीच द्वन्द्व घटाउन सुधारिएको खोर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बाख्रालाई वन्यजन्तुबाट जोगाउन बनाइएको सुधारिएको खोर। तस्बिर: पुष्पराज/नागरिक

शुक्लाफाँटा नगरपालिका–७ जुडा कञ्चनपुरका किरणबहादुर सिंहको खोरबाटै चितुवाले बाख्रा खाइदियो। घरखर्च चलाउन उनले बाख्रा पालन गरेका थिए। उनको मात्रै होइन, जंगलनजिक घर भएका किसानका गाई, भैंसी, बाख्रा तथा कुखुरासमेत वन्यजन्तुले खाइदिन थाले। रातिको समयमा चितुवा खोरमै आएर बाख्रा खान थालेपछि स्थानीयले गाउँनजिक जंगल हुनु राम्रो नभएको हल्ला चलाउन थाले। मानिससँगै पशुपन्छी असुरक्षित हुन थालेको भन्दै स्थानीयले जंगल संरक्षणमा ध्यान दिन छाडे। वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्न थाल्यो। मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न र वनजंगल संरक्षण गर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिले जुक्ति निकाल्यो, सुधारिएको बाख्राको खोर निर्माण गर्ने। सोही अनुसार जंगलकिनारका ३० जना किसानका लागि सुधारिएको बाख्राको खोर निर्माण गरियो। जसमा तराई भू–परिधि कार्यक्रमले जाली र कर्कटपाता उपलब्ध गराएको छ भने अन्य सामग्री किसान आफैंले जुटाएर सुधारिएको बाख्राको खोर निर्माण गरेका छन्। जसले गर्दा अहिले चितुवाले खोरबाटै बाख्रा तानेर लैजान सकेको छैन।  

भाइको खोरबाटै चितुवाले दुईवटा बाख्रा खाइदिएको बताउँदै स्थानीय पुष्करबहादुर सिंहले भने, ‘आधुनिक तरिकाले सुधारिएको बाख्राको खोर निर्माण भएपछि भने चितुवा गाउँमा आए पनि बाख्रा खोरबाट निकाल्न सकेको छैन। जसले गर्दा बाख्रा सुरक्षित भएका छन्।’ गाउँमा चितुवा आउन थालेपछि भने चितुवालाई मार्न गाउँलेले पासो थाप्ने तथा विद्युतीय धराप थाप्ने गरेको बताउँदै उनले थपे, ‘अहिले भने सुधारिएको खोर निर्माण भएदेखि मानव र वन्यजन्तुबीचको द्वन्द्व घटेको छ।’ किसानलाई क्षति पुर्‍याउन थालेपछि भने वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्ने गरेको उनी बताउँछन्। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सुनदेवी उपभोक्ता समितिले सुधारिएको बाख्राको खोर निर्माण गरेपछि आफूले बाख्रा थपेर व्यावसायिक रूपमा काम गरिरहेको उनले बताए। ‘यसअघि खोरबाटै चितुवाले बाख्रा खाइदिन्थ्यो,’ उनले भने, ‘बाख्रा पाल्यो चितुवालाई ठिक्क हुन्थ्यो।’ तर सुधारिएको खोर निर्माणपछि भने बाख्रा थपेर १२ वटा पुर्‍याइसकेको उनले बताए। ‘अहिले मसँग १२ वटा बाख्रा छन्,’ उनले भने, ‘एक वर्षमै ५ वटा बोका तथा खसी पनि बेचें, जसबाट एक लाख रूपैयाँ आम्दानी भयो।’  

पुष्करबहादुर मात्रै होइनन्, अहिले गाउँमा सुधारिएको खोर निर्माण भएपछि स्थानीय किसानले व्यावसायिक रूपमा बाख्रा पालन थालेका छन्। शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी धना भट्टले पनि पाँचवटा बाख्रा पालेकी छिन्। नजिकै राष्ट्रिय निकुञ्ज भए पनि त्यहाँ बाख्रा चराउन नपाउने गरेको बताउँदै उनले भनिन्, ‘जंगल छ तर त्यहाँ बाख्रा चराउन पाइँदैन, घरमै पराल तथा घाँस खुवाएर पाँचवटा बाख्रा पालेकी छु।’ यसअघि गाउँमै चितुवा आएर बाख्रा खाइदिने भएकाले आफूले बाख्रा नपालेको बताउँदै उनले भनिन्, ‘सुधारिएको खोर निर्माण भएपछि भने बाख्रा थपेर व्यावसायिक रूपमै पाल्न थालेकी हुँ।’  

सोही ठाउँका पदमराज भट्टले पनि खोर बनेदेखि व्यावसायिक रूपमै बाख्रा पालन थालेका छन्। खोर नहुँदा घरभित्रै राखेर दुईवटा बाख्रा पालेको उनले सुधारिएको खोर निर्माणपछि भने व्यावसायिक रूपमै बाख्रा पालन गरेका हुन्। अहिले उनको खोरमा १० वटा बाख्रा छन्। काम नहुँदा दिनभर चिया पलसमा बसेर गफिने गरेको बताउँदै उनले भने, ‘जब तराई भू–परिधि कार्यक्रमको सहयोगमा सुनदेवी उपभोक्ता समितिले बाख्राको खोर बनाइदियो, त्यसपछि भने बाख्रा पालन गरेर दिनभर काममै व्यस्त हुन थालेँ।’ बेरोजगार भई घरमै बसिरहेको आफूलाई सुधारिएको खोर निर्माणपछि भने केही गरौं झैं लागिरहेको उनले बताए। ‘आम्दानी केही नहुँदा केही पनि काम गर्न आँटै हुँदैन,’ उनले भने, ‘जब आम्दानीको स्रोत बढ्यो, तब कृषिमा अरू काम पनि गर्ने आँट थपिन थालेको छ।’ बाख्रा पालनसँगै आफूले कृषिमा पनि केही गर्ने सोच बनाएको उनी बताउँछन्।  

बाख्राको खोर निर्माणसँगै स्थानीयले बगरलाई समेत हरियाली बनाउन थालेका छन्। गाउँनजिकैको स्याली नदीको तटीय क्षेत्रलाई उनीहरूले हरियाली बनाएका छन्। बाख्राका लागि चाहिने घाँसपात तथा दाउराका लागि पनि सहज होस् भनेरै किसानले नदीकिनारको बगरलाई संरक्षण गरेर जंगल बनाएका हुन्। स्याली नदीकिनारको बगरलाई संरक्षण गरिएको सुनादेवी उपभोक्ता समितिका सचिव दामोदर जोशी बताउँछन्। उनले भने, ‘स्याली नदी पुनरुत्पादन, संरक्षण तथा व्यवस्थापनका लागि भनेर तराई भू–परिधि कार्यक्रमबाट पुनरुत्पादन बढावाका लागि तारबार, वृक्षरोपण संरक्षण तथा व्यवस्थापनका लागि बजेट दिइएको हो।’ स्थानीयले ५ हेक्टर क्षेत्रफलमा रहेको बगरलाई संरक्षण गरेर अहिले हरियाली बनाइदिएको उनले बताए। ‘त्यही बगरबाट किसानले बाख्राका लागि घाँसपात तथा दाउरासमेत उपभोग गर्न पाएका छन्,’ उनले भने, ‘यसबाट जंगल संरक्षण हुनुका साथै बाख्रा पालनमा टेवा पनि पुगेको छ।’ बगरलाई जंगलमा परिणत गर्दा जंगली जनावर पनि सुरक्षित भएको उनी बताउँछन्। ‘राष्ट्रिय निकुञ्जबाट नजिकै रहेको खोलामा पानी पिउन आउने वन्यजन्तुलाई कुकुर तथा मानिसले चोरीसिकार गर्ने गर्र्थे,’ उनले भने, ‘तर बगर जंगलमा परिणत हुँदा खोलामा पानी पिउन आउने वन्यजन्तु पनि सुरक्षित भए। जसले एकातिर बगर हरियाली भयो भने अर्कातर्फ किसानलाई घाँसपातका लागि सहज हुनुका साथै वन्यजन्तु पनि सुरक्षित भए।’

प्रकाशित: १४ माघ २०७९ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App