८ वैशाख २०८१ शनिबार
समाज

जाल र तालको सेरोफेरोमा सानु जीवन

हेर्नुस् त, यो जम्मै सुन मैले माछा मारेर लगाएको हो। मैले मात्र होइन, बुहारीले लगाएको त्यो सबै सुन पनि माछा मारेर नै लगाएकी हुन्’ ५८ वर्षीया सानु जलहारी खुसी हुँदै आफू र बुहारीले कानभरि लगाएको सुन देखाउँदै भन्छिन्, ‘हाम्रो त जागिर भने पनि, पढाइ भने पनि यही जलहारी पेसा हो। यसले नै सबै थोक टार्छ। माछा मा र्‍ यो बेच्यो, घरव्यवहार चलायो र आफूलाई मन परेको चिज किन्यो।’

२०२२ सालमा जन्मेकी उनको माइती रूपा ताल हो भने बेगनास तालतिर पनि केही समय बसेको उनी सम्झन्छिन्। अहिले उनको घर पोखरा १८ स्थित फेवा ताल नजिकै छ। जलहारी परिवारमै हुर्केकी सानुले जन्मेदेखि उमेरले ५७ वर्ष लागिसक्दा पनि जानेको र बुझेको काम भनेको तालमा माछा मारेर बेच्नु भएको बताउँछिन्।

आफू सानो हुँदै बुबाले अर्कै बिहे गरेर आमासँग भाइहरू र सानुलाई छाडेर गएको दुखद् बाल्यकाल छ उनीसँग। बुबाले छाडेर गएपछि आमाको काँधमा ३ छोराछोरी पाल्नुपर्ने जिम्मेवारी आइप र्‍ यो। पेसा नै माछा मार्ने भएपछि आमाले उनी र भाइहरूलाई माछा मारेर जेनतेन पालिन्। सोही क्रममा सानुले पनि करिब सात वर्षदेखि आमासँग माछा मार्न थालिन्।

जीवनशैली वा बाध्यता जे होस् उनले सानैदेखि जाल थापेर माछा मार्न सिकिन्। आमालाई माछा मार्न सघाइन्। अप्रत्यक्ष प्रत्यक्ष रूपमा घर व्यवहारमा सहयोग गरिन्। क्रमिक रूपले माइतमा रहेकी उनले भागेर विवाह गरिन्। उनलाई आफ्नो विवाह भएको ठ्याक्कै मिति त याद भएन तर १५ ÷१६ वर्षमा आफ्नो विवाह भएको हो कि भन्ने अनुमान गर्छिन्। त्यो समयमा उनको भागेर विवाह भएको हो। श्रीमान्सँग भेट भएको ३÷४ दिनमै उनले भागेर विवाह गरिन्। आफूले लब म्यारिज गरेको उत्साहित हुँदै बताउने उनले भनिन्, ‘मेरो बिहे फेवातालमा भयो। बिहे भा’को नि हैन। लब म्यारिज भएको हो हामी बुढाबुढीको। बाआमाले मागेर नभई एकअर्कालाई मन परेर भागेर गरेको बिहे हो।’ उनले खुसी हुँदै लामो र मिठो हाँसो हाँसिन्। आफ्नो ७ रूपैयाँको जिन्दगी बताउँने उनले बिहे ७ रूपैयाँमा भएको भएको बताइन्। भागेर बिहे गरेको उनको सिन्दुर फुकाउँदा बुढाको ४ र आफ्नो ३ रूपैयाँ खर्च भएको उनी सम्झन्छिन्।

बिहे गरेपछि पनि उनको माछा मार्ने दिनचर्यामा उही रह्यो। उनीहरू श्रीमान् श्रीमती दुवै माछा मार्न जान्थे। बिहे गरेको केही समयपछि श्रीमान् विदेश गएपछि उनले एक्लै फेवा तालमा माछा मार्न थालिन्। घरव्यवहार माछा मारेर चलाइन् र बाँकी बचेकोे पैसा जोहो गरिन्। सँगै श्रीमान्ले विदेशमा कमाएको पैसा बचत गरेर पोखरामा २०६० सालमा १४ आना जग्गा किनिन्। पछि छोरा पनि विदेश गएर कमाएको पैसा जोहो गरेर ८/९ वर्ष अगाडि घर बनाइन्। हुन त उनको पुरानो दुईवटा घर सँगै छ तर पनि उनले सिमेन्टको ठुलो घर बनाइन्। उनलाई आफ्नो सम्पूर्ण उपलब्धीको आधार माछा मार्ने पेसा नै भएको बताइन्।  

सानुको हाल पोखरा १८ माछापोखरीमा २ तले ठुलो घर छ। उनकोे परिवारमा सासू, श्रीमान्, छोराछोरी, बुहारी, छोरी ज्वाइँ, नातिनातिनी, पनाति–पनातिनी गरी ठुलो संयुक्त परिवार छन्। छोरा तर्फबाटकी नातिनी ३ पुगेर चार लाग्न लागेको बताउने उनी छोरातर्फबाट एक पनाति र पनातिनी, त्यस्तै छोरीतर्फबाट एक पतातिनी रहेको बताउँछिन्। आफूले पनि सानैमा बिहे गरेको सम्झँदै उनी भन्छिन्, ‘मैले पनि सानैमा बिहे गरेको भएर होला मेरो परिवारको सबैले सानैमा बिहे गरे। मेरो त पनाति पनातिनी पो छन् त। झन् सासूआमाको त खनातिनी भयो हैन र ?’ उनी लामो हाँसो हाँस्दै फेरि भन्छिन्, ‘यस्तै छ है मेरो जिन्दगी त।’

हाल उनका छोरा विदेशमा छन्। उनी विदेश नहुँदा भने माछा नै मार्थे। अहिले बुहारी, छोरी सबैले माछा मार्छन्। नातिनीले भने अरूको माछा ठेक्कामा लिएर बेच्ने गरेको उनले बताइन्।  

यस अवस्थासम्म आइपुग्न उनले जीवनमा धेरै संघर्ष गरेकी छिन्। बुबाले अर्को बिहे गरेर गएपछि सानैदेखि जाल हान्न सिकिन् र आमालाई सहयोग गरिन्। बिहेपछि सँगसँगै श्रीमान्सँग दिनरात नभनी जाल थापिन्।  

उनीसँग रातभरि माछा मारेको अनुभव छ। श्रीमान् श्रीमती रातभर माछा मारेर आफू भने बिहानै माछा बेच्न हिँडेको संघर्ष छ, उनीसँग। श्रीमान् रोजगारीका लागि विदेश जाँदा आफै एक्लै जाल थापिन्। १५ दिनको सुत्केरी अवस्थामा पोखरा बजारमा माछा बेच्न गइन्। श्रीमान् बिरामी हुँदा एक्लै काठमाडौं लगेर उपचार गराइन्। उनले जीवनमा धेरै उतारचढाव भोगिन्।  

सुत्केरी अवस्थामा पनि सकिनसकी काम गर्नुपर्दा भने उनलाई पुरुषभन्दा महिलाले धेरै दुःख भोग्नुपर्ने लाग्यो। त्यसैले उनले एक छोरी र छोरा भएपछि कसैलाई नभनी पोखराको गण्डकी अस्पतालमा गएर स्थायी बन्ध्याकरण गरेर आइन्। आफूले स्थायी बन्ध्याकरण गरेको १५÷२० दिनपछि मात्र श्रीमान्लाई सुनाएको बताउँदै उनले भनिन्, ‘केटी मान्छेलाई केटाभन्दा दुःख छ। माछा मारेर आए पनि घरमा काम गर्नुपर्ने, सुत्केरी हुँदा पनि काम गर्नुपर्ने। कम्ता दुःख हुन्छ। त्यही भएर मैले त कसैलाई नभनी आफै अस्पतालमा गएर कहिले पनि बच्चा नहुने गरिदिएको।’

जलहारीहरू ठाउठाउँमा सर्ने गरेको उनी बताउँछिन्। सानोमा उनकी आमाले पनि उनी र भाइलाई साथमा लिएर जाल हान्न ठाउँ ठाउँ सर्ने क्रममा कहिले रूपा ताल र कहिले बेगनास ताल सरेको बताउने उनी भन्छिन्, ‘पहिला पहिला जलहारीहरू एकै ठाउँमा बस्दैनथे। एउटा जाल लिने, बच्चा लिने भाँडाकँुडा लिने अनि जता जता ताल छ त्यतै हिँड्यो दाउरा खोज्यो अनि त्यहीं पकाएर खाने गथ्र्यों। अहिलेजस्तो व्यवस्थित जीवनशैली थिएनँ।’

केही वर्षदेखि उमेर र स्वास्थ्यका कारण माछा मार्न छोडेकी हाल उनकी बुहारी चन्द्रमायाले माछा मार्छिन्। उनी बुहारी चन्द्रमाया जलहारीले जालमा थापेर ल्याएको माछालाई जालबाट निकालेर सफा गर्ने काम गर्छिन्। बेचबिखन गर्ने गर्छिन्। पसल हेर्छिन् भने पनातिनी पनातिलाई हेर्ने काम गर्छिन्। उनका छोरा बुहारी दुवैको माछा थाप्न पाउने लाइसेन्स छ। हाल छोरा विदेशमा छ। त्यसैले बुहारी मात्र माछा मार्छिन्। छोरा भएका बेला दुवै नै माछा मार्छन्। उनकी बुहारी दिउँसो ३÷४ बजेतिर तालमा जाल छोप्न जान्छिन् भने बिहान ५÷६ बजेतिर जाल निकाल्न जान्छिन्। त्यसपछिको काम भने उनको हो।  

जलहारी समुदायले एउटा जालको ३ सय र केजीको १० रूपैयाँका दरले कर तिर्नुपर्छ। लाइसेन्स भने प्रत्येक वर्ष नवीकरण भने गर्नुपर्छ।

तालमा दशैंमा ४, तिहारमा ३, श्री पञ्चमीमा २ दिन जाल हान्न पाइँदैन। यस्तै जलहारी समितिमा संलग्न कोही व्यक्तिको मृत्यु भएमा पनि शोक बिदा मनाई १ दिन जाल हान्ने काम बन्द हुन्छ। यसबाहेक माछा प्रजनन गराउँदा पनि जाल हान्न पाइँदैन। बाकी सबै दिनमा माछा मार्न सकिन्छ।  

माछा मार्ने क्रममा विभिन्न समस्या आउने उनी बताउँछिन्। कहिले माछा चोरिदिने त कहिले जाल च्यातिदिने, त्यस्तै कहिले बाढी आउने। फेवा तालको बाँधमा जाली अझै पनि नभएका कारण माछा बगेर जान्छन्। यसले हिउँदभरि जमेर रहेका माछा जाली नभएपछि वर्षामा बाढी आउँदा एकैपटक बगेर जान्छन्।

सरकार, जलहारी समुदायलाई पटकपटक यसबारे कुरा गर्दा पनि सम्बोधन नभएको उनको गुनासो छ। त्यसैले पनि पहिलेको जस्तो अहिले माछा नपर्ने उनको बुझाइ छ। उनलाई फेवातालमा पनि बेगनास तालजस्तै बाँध बाँधेर माछा बग्नबाट रोकिदिए हुन्थ्यो जस्तो लाग्छ।  

केही वर्षअघि फेवाताल भत्किएपछि माछा सबै बगेर गएदेखि जालमा त्यति धेरै माछा नपर्ने उनी बताउँछिन्। त्यस्तै फेवा तालमा पानी सुकाउनाले पनि आजकल माछा त्यति पर्न छोडेको उनलाई लाग्छ।’

फेवातालमा केही वर्ष बाढी गएर ताल पुरिएपछि माछा कम भएको जलहारीहरू बताउँछन्। पहिला पहिला भित्ता बाम, रहु ग्रास कार्पहरू आउने जालमा त्यसपछि भने त्यति धेरै माछा पर्न छाडेका छन्।

उनको परिवारका लगभग ३५ वटा जाल छन्। छोरा, बुहारी, छोरी सबैले माछा मार्ने भएपछि त्यति जाल त हुनैपर्ने उनी बताउँछिन्। उनी हाल बाराही सहकारी समूहको सेयरहोल्डर तथा उपाध्यक्षसमेत रहेकी छिन्।

लकडाउन अघि र पछि भने माछा व्यापार गर्ने सबाल फेरिएको छ। लकडाउन अघिसम्म घरमै बसेर जालमा पारेका माछा बेचबिखन गर्ने उनको परिवारले लकडाउनपछि भने घरभन्दा केही तलतिर रहेको बाटोमा सानो पसल थापेर त्यहींबाट माछा बेच्न थालेका छन्। उनको पसलमा माछाबाहेक चकलेट, बिस्कुट, चाउचाउलगायत केही खुद्रा सामान पनि पाइन्छ। हाल उनको बाटोको सानो पसलमा बुहारीले जाल थापेर पारेको माछाबाहेक अरूबाट पनि किनेर बेच्न राखेका छन्।  

लकडाउनमा बजार गएर माछा बेच्न नपाएपछि बाटोमा पसल थाप्नु परेको बताउँदै उनी भन्छिन्, ‘बाटोमा झरेर भाडा तिरेर यही पसल राख्यौं। लकडाउनभन्दा अगाडि कोर्कोमा माछा बोकेर लेकसाइड, महेन्द्रपुल, पृथ्वी चोक सबैतिर बेच्न जान्थ्यांै तर अहिले यही पसलमै राख्छौं। यहीं माछा किन्न आउँछन्।

दिनमा धेरै भनेको ५/६ केजी माछा पर्छ भने कहिलेकाहीं नपरेको खण्डमा एक डेढ केजी पर्छ। सहर, टिलिपा, वाम, फकेट, काँडेलगायतका माछा जालमा पर्ने गरेको उनले बताइन्। माछा किलोको ३ सय ५० देखि १६ सयसम्म मूल्य पर्ने उनले बताइन्।  

सानुको जीवनका हरेक उतारचढाव ताल र जालबचिमा रहेर चलिरहेको छ। रूपा ताल, बेगनास ताल हँुदै उनी फेवा ताल आइपुगेकी छिन्। जलहारी समुदायकै भएका कारण भएर पनि होला, ताल छेउछाउ नै उनको जीवनको सेरेफेरो घुमेको लाग्छ उनलाई र उनी यस जीवनदेखि खुसी र सन्तुष्ट पनि छिन्।

पोखराको जाल र तालसँग सानुको जीवनको सुरुवात भएको थियो भने उमेरले ५० औं दशकको अन्तिममा आउँदा पनि उनको जीवन तिनै जाल र तालमै गाँसिएको छ। पोखराको ताल र जाल उनको संस्कार र सभ्यता नै भएको छ। उनीसँग ताल र जालसँग तितामिठा सम्झनाका चाङ छन्। अझ भनौं ताल र जालबिना सानुको जीवनकथा नै मधुरो छ, अधुरो छ।  

प्रकाशित: ७ माघ २०७९ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App